कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इजलासमा एमिकस क्युरीले सम्झिइन्– 'तिमीले भनेका सारा देव छोएर…'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदकका कानुन व्यवसायीले बहस मात्र गरेनन् । कसैले सायरी वाचन गरे त कसैले गीतै गाए । मुद्दाको प्रतिवाद गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल र सरकारी कानुन व्यवसायीले आफ्ना तर्कलाई बल दिन सायरी र गीतको सहारा लिए ।  

इजलासमा एमिकस क्युरीले सम्झिइन्– 'तिमीले भनेका सारा देव छोएर…'

माघ ४ देखि संवैधानिक इजलासमा जारी सुनुवाइमा सायरी र गीतबाट आफ्नो पक्षको प्रतिरक्षा गर्नेमा अब एमिकस क्युरी पनि जोडिएका छन् ।

पाँच सदस्यीय एमिकस क्युरीमध्ये शुक्रबार अन्तिममा बहसमा आएकी वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय व्यक्त गर्ने क्रममा नारायणगोपालले गाएको 'तिमीले भनेका सारा देव छोएर…' गीत सम्झिइन् ।

इजलाससामु उभिएर वरिष्ठ अधिवक्ता पाठकले सुरुमा आफूले व्यक्त गर्ने रायबारे आफन्त वा परिवारका सदस्य र साथीभाइसँग नभनेको बताइन् । उनले आफ्ना विद्यार्थीबाट केही सन्दर्भ–सामग्री खोज्न भने सहयोग लिएको बताइन् ।

आफ्नो उपस्थितिबारे केही कानुन व्यवसायीले केही कुरा उठाएका कुराबारे जानकार रहेको पनि उनको भनाइ थियो ।

आफू कानुनको क्षेत्रमा समर्पित रहेको बताउँदै उनले इजलासमा राखेका कुरा सबैले बुझ्ने पनि बताइन् । भनिन्, 'यहाँ मैले मौलिकताको विषयवस्तुलाई यहाँनेर राख्न चाहेको छु ।'

बाहिरको राजनीतिबारे थुप्रै प्रश्न उठिरहेको भन्दै उनले आफूभन्दा पहिला राय दिएका एमिकस क्युरीहरू वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलका कुरा पनि उल्लेख गरिन् ।

त्यसपछि मुद्दामा आफ्ना राय राख्नु पहिला उनले इजलासमा सायरी र गीत आएका कुरा उठाइन् । र, अहिलेको सन्दर्भमा नारायणगोपालले गाएको 'तिमीले भनेका सारा देव छोएर…' गीत मेल खाने बताइन् ।

त्यसपछि उक्त गीतको अर्को लाइन पनि सुनाइन्, 'म किरिया खान कहाँ सक्छु र ?...'

इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदकका तर्फबाट मिर्जा गालिबको सायरी सुनाएका थिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले निवेदकहरूले 'मलाई त्यै केटी चाहिन्छ' गीतको शैली अपनाएको बताएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई…' भन्ने गीत सुनाएका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?