प्रतिनिधिसभा विघटनको विरोधमा सहभागी स्रष्टा र अभियन्तालाई धम्की दिनेलाई कारबाही गर्न माग

फाल्गुन ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा सहभागी स्रष्टा र अभियन्ताहरूलाई सामाजिक सञ्जालबाट धम्की आएको भन्दै बृहत् नागरिक आन्दोलनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी अभियन्ता र स्रष्टाविरुद्ध धम्की दिँदै घृणा फैलाइएको नागरिक समाजले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको पनि समाजले जनाएको छ ।

बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्वीटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ । यसरी धाकधम्की दिने, ट्रोलिङ्ग गर्ने र साइबर दुर्व्यव्यहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिंगो नागरिक आन्दोलन निर्भयताका साथ डट्नेछ साथै, यस्ता अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गर्न चाहन्छौं ।'

प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमा विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । महिलालगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ । प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने गरेका छन् । तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरु अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन् ।'

साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पुऱ्याउनु भएको उल्लेख गर्दै समाजले प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुन र आन्दोलित हुन जरुरी भएको पनि बताएको छ । 

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ । शुक्रबार नागरिक घोषणा सभा र टुँडिखेल मार्च आयोजना हुँदैछ ।

संसद् विघटन

कान्तिपुर

Link copied successfully