संविधान जोगाउन एकजुट होऔं : दाहाल

फाल्गुन ७, २०७७

ओमप्रकाश ठाकुर

सर्लाही — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सरकारमा लोकतन्त्रको हत्या गर्ने र निरंकुशता लाद्न खोज्ने प्रवृत्ति देखापरेको आरोप लगाएका छन् ।

सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघामा बिहीबार आयोजित पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दाहालले प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध संविधानमा रहेका सकारात्मक कुराको हत्या गर्ने काममा अहिलेको सरकार लागिपरेको आरोप लगाए ।

संविधानलाई लत्याउँदै लोकतन्त्रको हत्या गरेर सरकार निरंकुशतातर्फ अघि बढेको दाहालले बताए । उनले प्रतिगमनविरुद्धको आन्दोलनमा सबैलाई एकजुट हुन आग्रह गरे । ‘मुलुकमा अर्को निरंकुशता लाद्न अहिलेको केपी ओली सरकार लागेको छ, लोकतन्त्रको जित, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको जित सुनिश्चित गर्न पहिलाको भन्दा हामीले आनो दृढता र संकल्पलाई कैयौं गुणा बढाउन जरुरी छ,’ उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलनमा हामी एकता गरेर अझ दृढतासाथ अगाडि बढेर त्यसलाई परास्त गर्नुपर्छ ।’

दाहालले संविधानमा अझै पनि धेरै कुरा समेटिन बाँकी रहेको उल्लेख गर्दै अहिले पाएको उपलब्धिको रक्षा गर्न जरुरी देखिएको बताए । ‘यो संविधानमा अझै कैयौं कुरा पुगेका छैनन् भन्नेमध्येको म र मैले नेतृत्व गरेको त्यतिबेलाको दल पनि हो, केही रिजर्भेसन पनि छन्,’ उनले भने, ‘तर अहिले प्राप्त उपलब्धिको रक्षा गर्न जरुरी छ । यो कदमविरुद्ध मधेसी, आदिवासी, जनजाति, मुस्लिम, महिलालगायतलाई एकजुट हुन आग्रह गर्छु ।’ उनले आफू नेतृत्वमा हुँदा दुईपटक संविधान संशोधन प्रस्ताव संसद्भित्र दर्ता गराएको स्मरण गर्दै संविधान परिमार्जन आवश्यक रहेको बताए । 

उनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध लागेका वाग्लेको मृत्यु सामान्य र सहज अवस्थाको नभएको जनाउँदै उच्चस्तरीय छानबिनका लागि आग्रह गरे । उनले वाग्लेको घटनालाई हल्का रूपमा नलिन सरकारलाई चेतावनी दिए ।

दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्धको आन्दोलन सफलताको बिन्दुमा पुर्‍याउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले आफूहरूले गरेको आन्दोलनले सफलता पाउने विश्वास व्यक्त गरे । देशको राजनीतिक विषयवस्तुभन्दा पनि वाग्लेले गरेका कामकारबाही र उनले पार्टीमा पुर्‍याएको योगदानबारे चर्चा गर्दै नेता नेपालले वाग्ले मिटर ब्याजविरुद्धको अगुवाइ गरेको कर्मठ योद्धा रहेको बताए ।

पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसबाट माघ २१ गते बुधबार अबेर राति फर्कंदै गरेका वाग्ले बाटोमै मृत अवस्थामा फेला परेका थिए ।

ओमप्रकाश

Link copied successfully