भागरथीको बलात्कार तथा हत्याका अभियुक्तलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

फाल्गुन ५, २०७७

तृप्ति शाही

बैतडी — भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १६ वर्षका किशोरलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपीलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । आरोपित किशोर भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । 'अभियुक्तले आफूले हत्या गरेको बयान स्वीकारिसकेका छन्,' डीआईजी सुवेदीले भने,'घाँटी थिचेर मारेको बयान दिए पनि हत्या गर्नुको कारण उनले भनेका छैनन् । उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।'  

आरोपीलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । 

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

बैतडी हत्या प्रकरण

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully