भागरथी बलात्कार–हत्या प्रकरण : एउटै स्कुलमा पढ्ने छिमेकी किशोर पक्राउ- समाचार - कान्तिपुर समाचार

भागरथी बलात्कार–हत्या प्रकरण : एउटै स्कुलमा पढ्ने छिमेकी किशोर पक्राउ

तृप्ति शाही

बैतडी — भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 

पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रहरीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फर्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।


प्रकाशित : फाल्गुन ५, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि

रासस

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख रुपैयाँ घाटा नै रहने छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ । मूल्य समायोजनपश्चात पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ४, २०७७ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×