१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एउटै प्रश्‍नले हैरान छिन् भागरथीकी आमा द्रोपती

‘कतिपयका सवालजवाफले झनै पीडा बल्झिन्छ । हरेक दिन घटना कसरी भयो ? किन भयो भन्नेलगायत प्रश्न हुन्छन् ।’
तृप्ति शाही

बैतडी — सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरू पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’

एउटै प्रश्‍नले हैरान छिन् भागरथीकी आमा द्रोपती

हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरू ? छोरीको घटना सुनाउँदा–सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका मानिसलाई उही कुरा दोहोर्‍याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भन्ने अनुमान त्यहाँ जानेले गरेका होलान् ?’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ मा शव फेला परेको थियो । बलात्कारपछि हत्या गरिएको उक्त घटनाका दोषीलाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन । अपराधी पक्राउ नपरेसम्म सद्गत नगर्ने परिवारको अडानका कारण शव अझै अस्पतालमै छ । विद्यालय गएर फर्कंदै गरेकी भट्ट शंकास्पद अवस्थामा मृत फेला परेयता उनको घर पुग्नेको लर्को नै लागेको छ ।

शनिबार उनको घरतर्फ जाँदै गरेकाहरू ती पसलेको कुरा नसुनेझैं गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को एक समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिधिनिसभा सदस्य दामोदर भण्डारीलगायत नेता–कार्यकर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् । भण्डारीले प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको र अपराधीलाई कानुनी कठघरामा उभ्याउने आश्वासन दिए । उनले ‘दोषी कुनै पनि हालतमा उम्कन पाउँदैनन्’ भनेर सान्त्वना दिनै लाग्दा द्रोपतीलाई छोरीको यादले भावुक बनायो । उनी एकाएक डाँको छाडेर रुन थालिन् । ‘कति पीडा भयो होला मेरी छोरीलाई । अन्तिमपटक के भनी होली,’ द्रोपतीले भक्कानिँदै भनिन् ।

पति र सन्तान वियोगको पीर एकैसाथ खेपिरहेकी भागरथीकी आमा द्रोपतीको अनुहार बेचैन र मलिन थियो । दुई महिनादेखि नओभाएका उनका आँखा सुन्निएका थिए । गत पुस ७ मा उपचारका क्रममा श्रीमान् कृष्णानन्दको मृत्यु भएको थियो । डेढ महिना नबित्दै छोरी भागरथीको बलात्कारपछि भएको हत्या घटनाले उनी झन् विक्षिप्त बनेकी छन् । हत्यामा संलग्न पहिचान नहुँदा परिवारले शवसमेत बुझेका छैनन् । द्रोपतीका दिन अचेल भागरथीको घटनाबारे बुझ्न आउनेलाई बेलीविस्तारै लगाउँदै दैनिक सयौंपटक भक्कानिँदै बितिरहेका छन् । अझै उनी भक्कानिएको तस्बिर र भिडियो खिच्न पर्खेर बसेकाहरू त त्यसबेला वरिपरि झुम्मिन पुग्छन् । कतिपय फोटो र भिडियो खिचेर फेसबुकमा राख्नलाई मात्र भेट्न आउने गरेको परिवारको गुनासो छ ।

भागरथीका काका शिवराज भट्टले कतिपयले रोएको भिडियो खिच्दै, घटनाबारे कोट्याउने गर्दा भाउजू र परिवारलाई पीडा थपिने गरेको बताए । ‘जिम्मेवार निकायका व्यक्तिहरू सान्त्वना दिन आउँदा आफ्नो पनि मान्छे भएको महसुस हुन्छ,’ उनले भने, ‘दर्दनाक भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । यस्तो अवस्थामा भाउजूलाई हेर्दा नरमाइलो लाग्छ । कसलाई के भन्नु ? यस्तो गर्नेलाई कसरी नआओ भन्नु ?’ यसले पीडामा रहेकै बेला आफूहरूलाई अझै पीडा थपिइरहेको उनले बताए । ‘कतिपयका सवालजवाफले झनै पीडा बल्झिन्छ । हरेक दिन घटना कसरी भयो ? किन भयो भन्नेलगायत प्रश्न हुन्छन्,’ शिवराजले भने ।

घटना भएकै दिनदेखि जिल्लाभित्र र बाहिरका कतिपय सार्वजनिक पदमा रहेका व्यक्ति पीडित परिवारलाई सान्त्वना दिन द्रोपतीका घरमा पुगिरहेका छन् । घटना भएकै भोलिपल्ट दोगडाकेदारै घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि पुगेका थिए । शनिबार निवर्तमान सांसद भण्डारीको समूह पनि पुग्यो । आइतबार प्रदेश सरकारको सामाजिक विकास समितिका पदाधिकारीहरू उनको घरमा पुगेका थिए ।

कांग्रेसले घटनाबारे स्थलगत अध्ययन गर्न खटाएका केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको टोली पनि आइतबार भागरथीका घरमा पुगेको थियो । नेता लेखकले द्रोपतीलाई सहयोगस्वरूप दुई लाख रुपैयाँको चेक पनि दिए । उनले पनि दोषीलाई उम्किन नदिने प्रतिबद्धता जनाए ।

भागरथीको शव भेटिएको सोमबार १२ दिन पुगेको छ । अझै पनि घटनाका दोषीलाई प्रहरीले सार्वजनिक गरेको छैन । धेरै दिनसम्म दोषी पत्ता नलाग्दा परिवारलाई झन् पीडा भइरहेको काका शिवराज बताउँछन् । उनले हरेक दिन अपराधी पत्ता लाग्ने आश्वासनका शब्द सुनेरै दिनरात कटाउनुपरेको गुनासो गरे । घटना भएको ३/४ दिनमै हत्यारा नजिक पुगिसकेको बताउने प्रहरी १२ औं दिनसम्म पनि यही वाक्य दोहोर्‍याउँदै आएको छ ।

सोमबार पनि अनुसन्धानको नेतृत्व सम्हाल्दै खोचलेक प्रहरी चौकीमै रहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिम चरणमा पुगेको दोहोर्‍याए । त्रुटि नहोस् भनेर समय लगाएको उनको दाबी छ । दोषी सार्वजनिक गरेर मात्रै खोचलेक छोड्ने बताएका उनले अब धेरै कुर्नु नपर्ने आश्वासन दिए ।

भागरथी हत्या घटनाका दोषीलाई छिटो सार्वजनिक गर्न माग गर्दै जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन् । विद्यार्थी र स्थानीयले जिल्ला सदरमुकामसँगै विभिन्न स्थानमा विरोधका कार्यक्रम गरिरहेका छन् ।

सोमबार पनि विद्यार्थी र स्थानीयले जिल्ला प्रशासनअगाडि प्रदर्शन गरे । दोगडाकेदार गाउँपालिकाका विद्यार्थी र स्थानीयले पनि दिनभर विरोधका कार्यक्रम गरे । सोमबार जिल्ला सदरमुकाम गोठलापानीमा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस बैतडीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले भागरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसँग माग गरे । आफ्नो पार्टीले न्यायका लागि पहल गरिरहेको उनको भनाइ थियो ।

अस्पतालमा शव बिग्रँदै

भागरथीका परिवारजनले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान छाडेका छैनन् । अहिले जिल्ला अस्पतालले काठको बाकसमा बरफ जम्मा गरेर शव राखेको छ । शव राख्न उपयुक्त फ्रिज नहुँदा शवको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । दैनिक बरफ फेर्दै गरे पनि शवलाई सुरक्षित पार्न नसकिएको उनको भनाइ छ । गत माघ २१ गते विद्यालय गएकी भागरथीको शव भोलिपल्ट गाउँ नजिकैको लवलेक जंगलमा फेला परेको थियो ।

पोस्टमार्टममा बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइए पनि अझैसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन ४, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?