भागरथीका परिवारजन भन्छन्–‘निर्मलाको जस्तो हविगत नहोस्’

तृप्ति शाही

बैतडी — दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् ।

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । ‘प्रहरी–प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने ?’ उनले भने, ‘पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको छ ।’ त्यही कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको शंकरले बताए ।

भागरथीको शव बिहीबार दिउँसो गाउँकै विद्यार्थीले घर फर्किरहेका बेला सडकमुनि झाडीमा देखेका थिए । घटनास्थलमा साँझ ५ बजे स्थानीय र प्रहरी पुगेका थिए । शुक्रबार दिउँसो २ बजेतिर मात्र उनको शव घटनास्थलबाट उठाइएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित शुक्रबार घटनास्थल पुगेका थिए ।

शव उठाउने दिन जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशी, सरकारी वकिल भानदेव जोशीलगायतको टोली शवको प्रकृति बुझ्न खटिएको थियो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत जिल्लाका सुरक्षा निकाय प्रमुख र दोगडाकेदार घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि शुक्रबार दिनभर घटनास्थलमा थिए । भागरथीकी सहपाठी ज्योति भट्टले साथीको हत्यापछि स्कुल जानै डर लागेको बताइन् । ‘सँगै हिँड्ने, पढ्ने साथीको यस्तरी ज्यान गयो, अब हामी कसरी एक्लै हिँड्ने ?,’ उनले भनिन् ।

दुई महिनाअघि मात्र पति गुमाएकी दुरा छोरीको शव फेला परेको सुनेपछि पूर्ण होसमा छैनन् । रोएरै रातदिन बिताइरहेकी छन् । ‘अब त म बाँच्न सक्दिनँ कि जस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘छोरीलाई यसरी दुःख दिएर हत्या गर्नेलाई छिटो पक्राउ गरेर सकेसम्मको कारबाही भएको हेर्ने मन छ ।’ शंकरले भतिजी भागरथीको बलात्कारपछि नै हत्या भएकामा शंका नरहेको बताए । ‘मैले फोटाहरू हेरेको थिएँ । शरीरभरि मान्छेले बनाएका चोट छन्,’ उनले भने ।

अनुसन्धानमा खटिएका प्रहरीहरूले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि नै हत्या भएको जनाएका छन् । शव अर्धनग्न अवस्थामा फेला परेको थियो । शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो । किशोरीको योनि र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ । दुई वा दुई जनाभन्दा बढीको समूहले उनको बलात्कार र हत्या गरेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने । शव भेटिएकै स्थान बनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे । घटनास्थल स्थानीय खोचलेक चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ ।

सरकारी वकिल कार्यालयले पोस्टमार्टम गर्नका लागि मात्र केस दर्ता भएको जनाएको छ । प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको र किटानी जाहेरी नआएको अवस्थामा आफूकहाँ अरू निवेदन नपरेको सरकारी वकिल भानदेव जोशीले बताए । बैतडी जिल्ला अस्पतालमा शनिबार शवको पोस्टमार्टम गरिएको छ । काठमाडौंबाट पोस्टमार्टमका लागि विज्ञ चिकित्सक आउने भनिए पनि शवको प्रकृतिले बलात्कारपछि नै हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएपछि जिल्ला अस्पतालमै पोस्टमार्टम गरिएको हो । आइतबार बिहानसम्म रिपोर्ट आउने अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘घटना संवेदनशील र शंकास्पद छ । अनुसन्धान त्यही संवेदनशीलताका आधारमा अगाडि बढाएका छौं,’ डीएसपी अधिकारीले भने ।

प्रकाशित : माघ २५, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

'ओलीले आफ्ना विरोधीलाई समाप्त पार्छु भन्ने इगो लिएर देशलाई नै भड्खालोमा हाले'

कान्तिपुर संवाददाता

लन्डन — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले नेपालको संविधान र व्यवस्था नै मृत्युवरणतर्फ धकेलिएको कानुनविद्हरुले टिप्पणी गरेका छन् । यदि सर्वोच्च अदालतले विघटन सदर गर्‍यो भने देश अस्थिरतातर्फ गइ धार्मिक तथा जातीय द्वन्द्व हुन सक्ने जोखिम पनि उनीहरुले औंल्याए ।

प्रवासी नेपाली एकता मञ्च बेलायतले शनिबार 'संसद्‌ विघटन र संवैधानिक व्यवस्था' बारे गरेको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बलपूर्वक प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गरे । 'ओलीले आफ्नो पार्टीले असहयोग गर्दा विघटन गर्नु पर्‍यो भने पनि उनी न त पार्टीमा गए, न संसदीय दलको बैठक राखेर आफू नै नेता हो भन्ने प्रमाण देखाउन सके । प्रधानमन्त्रीले आफूमाथि अविश्वास प्रस्ताव आए पनि फेस गर्न सक्नु पर्दथ्यो,' भट्टराईले भने, 'ओलीले आफ्ना विरोधीलाई समाप्त पार्छु भन्ने इगो लिएर देशलाई नै भड्खालोमा हाले ।'

वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति तथा प्रधानमन्त्री दुवै बराबर जिम्मेवार रहेको बताए । प्रतिनिधिसभा पुन:स्थापना भयो भने राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन मिल्छ कि मिल्दैन भन्ने एक प्रश्नको जवाफमा भट्टराईले संविधानमा त्यो प्रावधान रहेको तर महाभियोगभन्दा पनि राष्ट्रपति आफैंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

प्रतिनिधिसभाका सभामुखले अहिले प्रतिनिधिसभाको बैठक बोलाउन मिल्छ कि मिल्दैन भन्ने अर्को प्रश्नको जवाफमा वरिष्ठ अधिवक्ता भट्टराईले विगतमा पनि प्रतिनिधिसभाको बैठक बोलाएको उदाहरण रहेको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक बोलाउने प्रावधान रहेकाले सभामुखले आफै बैठक बोलाउन मिल्छ कि मिल्दैन भन्नेबारे छलफल जारी रहेको बताए।

त्यस्तै वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले अहिलेको संविधानले प्रधानमन्त्री ओलीलाई विघटनको अधिकार नदिएको बताए । 'ओलीको कदमले नेपालको राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानकै भविष्य संकटतर्फ गएको छ', पोखरेलले भने, 'प्रधानमन्त्रीले जुन धारा प्रयोग गरेर संसद्‍ विघटन गरे, त्यसमा विघटनको कहींकतै व्यवस्था छैन । प्रधानमन्त्री ओलीलाई नै वैशाखमा चुनाव हुन्छ भन्ने पटक्कै विश्वास छैन । त्यसपछि नेपाल लामो समयका लागि अस्थिरतातिर जाने देखिएको छ ।'

वरिष्ठ अधिवक्ता पोखरेलले नेपालको संसदीय व्यवस्था संसारको कुनै पनि संसदीय व्यवस्थासँग नमिल्ने बताए । उनले नेपालमा राजनीतिक स्थिरताका लागि आम चुनाव भएको २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था राखिएको स्मरण गराए । 'प्रधानमन्त्रीले हाम्रो संविधानअनुसार निरपेक्ष रुपमा प्रतिनिधिसभा विघटन गर्न मिल्दैन', उनले भने ।

कार्यक्रम सञ्चालन प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले गरेका थिए । कार्यक्रममा यूरोपका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मञ्चका सदस्य तथा विभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।

प्रकाशित : माघ २४, २०७७ २२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×