काठमाडौँ — नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडी घटनाको अनुसन्धान निर्मला पन्त प्रकरणजस्तै नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै उक्त घटनामा सरकारलाई गैरजिम्मेवार नबन्न आग्रह गरिएको हो ।
दाहाल-नेपालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
'डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्दछौं ।'
माघ २२ गते विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भएको थियो ।
