भागरथी हत्या प्रकरण : आरोपितको तेस्रोपटक म्याद थप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भागरथी हत्या प्रकरण : आरोपितको तेस्रोपटक म्याद थप

कान्तिपुर संवाददाता

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ । शुक्रबार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।

जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताए । आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताए ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

यस्तै, दोगडाकेदार–७ मा यसअघि भएका अन्य हत्याका घटनाको अनुसन्धान पनि प्रहरीले सुरु गरिसकेको जनाएको छ । सोही गाउँमा १ महिला र ४ पुरुष गरी ५ जनाको हत्या भएको वर्षौं हुँदा पनि घटनाको अनुसन्धान हुन सकेको थिएन । यीमध्ये केही घटनाका उजुरी प्रहरी कार्यालयमा पुगेर पनि अनुसन्धान भएका छैनन् भने केही प्रहरीसम्म पनि पुगेका थिएनन् । भागरथीको घटना भइसकेपछि हालसम्म सामसुम पारिएका यी घटनाहरूबारे पीडित पक्ष र स्थानीयले मुख खोलेका हुन् । पहिलेका घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरिएको हुँदा अहिले फेरि अनुसन्धान सुरु गरिएको डीएसपी अधिकारीले बताए । यी घटनाका दोषीलाई पनि छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे ।

प्रहरी स्रोतका अनुसार दुईवटा घटनाका दोषीनजिक प्रहरी अनुसन्धान पुगिसकेको छ । घटनाको २० वर्ष पुग्न ७ महिनामात्र बाँकी रहेको करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको हत्या घटना प्रहरीले अहिले हेरिरहेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

कोइलाखानीमा सुरक्षा मापदण्ड अपनाऊ

सम्पादकीय

पटक–पटक मानवीय क्षति हुने गरी दुर्घटना हुँदा पनि कोइलाखानीमा कुनै सुरक्षा मापदण्ड नअपनाइनु सरकार तथा खानी सञ्चालकहरूको चरम हेलचेक्र्याइँ हो । केवल निमुखा कामदारहरू संलग्न रहने भएकैले यस्तो बेवास्ता गरिएको हो भने त झन् यो गैरजिम्मेवारीको पराकाष्ठा मात्रै होइन, आफैंमा आपराधिक सोच पनि हो ।

यही प्रवृत्तिको दुष्परिणाम भन्न सकिन्छ, सुरक्षा सावधानी नअपनाइएकै कारण दाङको घोराही–१९, राम्चेस्थित कोइलाखानीमा पुरिएर गत सोमबार फेरि एक मजदुरले ज्यान गुमाएका छन् । १७ दिनकी सुत्केरी श्रीमतीलाई स्याहार्न साँझ नपर्दै आउँछु भन्दै गएका मोहनलाल कामी असुरक्षित कोइलाखानीको सिकार भएका हुन् । गरिबीले डोर्‍याएर कोइलाखानी पुगेका श्रमिकहरूले कार्यस्थलको असुरक्षाका कारण ज्यानै गुमाउनुपर्ने यो अवस्थाको अन्त्य आवश्यक छ । त्यसका लागि न्यूनतम सुरक्षाको प्रत्याभूति गरेर मात्रै खानी सञ्चालन गर्ने व्यवस्था गरिनुपर्छ ।

मोहनलाल १३ वर्षदेखि निरन्तर खानीमा कोइला निकाल्ने काम गर्थे । त्यस दिन पनि कोइला खन्दाखन्दै दिउँसो साढे २ बजेतिर माथिबाट ठूलो ढुंगा खसेपछि उनी खानीभित्र १ सय ६० मिटर गहिराइमा च्यापिएका थिए । प्रहरी र स्थानीयको सहायताले बेलुकापख मात्रै उनको शव निकालिएको थियो । श्रीमती सुत्केरी भएपश्चात् केही दिन बिदा बसेका उनी साँझ–बिहान टार्नै दुःख भएपछि फेरि काममा गएका थिए । तर, ज्यान पाल्ने कामले ज्यानै लिइदियो । यसै घटनाबाट थाहा हुन्छ— शूरवीरहरूले रुचाउने जोखिमपूर्ण काम होइन यो, दीनहीनहरूको नियति हो । यही नियतिको अन्त्यका लागि खानी सञ्चालक र सरकारले यस कामलाई कम जोखिमपूर्ण बनाउनुपर्छ ।

खानीभित्रबाट कोइला निकाल्ने काम निकै जोखिमपूर्ण छ, तैपनि यसो नगरी मजदुरको जीविका चल्दैन । दाङको उत्तरी भेगका खानीहरूमा सयौं मजदुर ज्यान हत्केलामा राखेरै कोइला निकाल्न विवश छन् । बाँचेर फर्किने आशा बोकेर सुरुङभित्र पस्ने उनीहरू कहिल्यै आफ्नो जीवनप्रति निश्चिन्त हुन सक्दैनन् । यति जोखिमका बीचमा पनि कोइला निकाल्नु मजदुरहरूको बाध्यता हो, जसको फाइदा खानी सञ्चालकहरूले उठाइरहेका छन् । उनीहरूले सुरक्षा मापदण्डबिनै मजदुरहरूलाई काम लगाइरहेका छन् । खानीमा हुने सम्भावित जोखिम र सुरक्षाबारे पर्याप्त सजगता अपनाइएको हुन्थ्यो भने अघिल्लो दिन बेलुका ‘खानीमा पानी निस्केको छ, काम गर्न गाह्रो हुन्छजस्तो छ’ भनेका मोहनलालको यो हालत नहुन सक्थ्यो ।

मोहनलालको मृत्युपछि उनका साथीले भनेको ‘यो कोइलाखानी होइन, काल हो’ भन्ने भनाइले त्यहाँको जोखिम बताउँछ । एक दशकयता खानीमा पाँच जनाको ज्यान गएको छ, धेरै घाइते भएका छन् । तैपनि अहिलेसम्म खानीको जोखिमबारे अध्ययन भएको छैन । सुरुङ खन्ने कुनै वैज्ञानिक मापदण्ड पनि छैन, कामदार स्वयं खन्दै अघि बढ्छन् । साथमा कुनै ठूलो उपकरण नभएका उनीहरूले छिनो र हथौडाकै भरमा बाटो खोल्छन् । तैपनि उनीहरूलाई सुरक्षा र सतर्कताबारे केही सिकाइएको छैन । खानीमा ढुंगा–माटो खस्न थाले रोक्ने उपाय छैन । कतैकतै काठको टेको लगाइए पनि त्यो भर पर्दो हुँदैन । कतै बोरा राखेर अड्याइएको हुन्छ । वैज्ञानिक मापदण्डबिना कोइला खन्दा कतिबेला कहाँ भत्किन्छ, केही थाहा हुन्न । त्यही भएर, हरेक दिन सुरुङबाट निस्किपछि युद्ध जितेजस्तो महसुस गर्छन् उनीहरू । अवस्था यस्तो छ कि, कामदारहरूले घर फर्कन अलि बेर लगाए भने उता परिवारका सदस्यहरूको मुटुमा ढ्यांग्रो बजिसकेको हुन्छ ।

तसर्थ, अहिलेसम्मका दुर्घटनाहरूबाट पाठ सिकेर कामदारहरूप्रतिको खेलाँची रोकिनुपर्छ । सञ्चालकहरूले आफ्नो खानीको कार्यसुरक्षामा ध्यान दिनुपर्छ । सरकारले पनि नियमित अनुगमन गरी अनिवार्य रूपमा सुरक्षा मापदण्ड पालना गर्न लगाउनुपर्छ । सम्पूर्ण मजदुरलाई सुरक्षासम्बन्धी तालिम र भित्र काम गर्नेका लागि हेलमेट, बुट, सुरक्षित पोसाक, अत्यावश्यक औषधिलगायतका सामग्रीको प्रबन्ध अनिवार्य रूपमा गरिनुपर्छ, अनि मात्रै कम जोखिमपूर्ण तवरले खानी खन्न दिइनुपर्छ । खानी तथा खनिज पदार्थ नियमावली– २०५६ मा उल्लेख भएअनुसार उत्खनन कार्यका सर्तहरू पालना गर्नुपर्छ ।

उत्खनन कार्य गर्दा खोलेको टोपा, टनेल, खाल्टा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षा व्यवस्था गर्नुपर्ने ऐनको प्रावधानको अनिवार्य कार्यान्वयन हुनुपर्छ । जिल्ला समन्वय समिति, स्थानीय सरकारलगायतका अधिकार प्राप्त निकायले खानीमा कार्यरत मजदुरहरूले सुरक्षा मापदण्ड अपनाए–नअपनाएको बारेमा अनुगमन गर्नुपर्छ । गरिबीकै कारण जोखिमपूर्ण काम गर्न विवश नागरिकहरूको जीवनको सुरक्षा सम्बन्धित सबैको प्राथमिकतामा पर्नुपर्छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×