बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथीका आफन्तले शुक्रबार शव बुझेका छन् ।
माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।
यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो । अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले दाबी गरेको छ । आफन्त भएकैले यो घटनामा अरूको पनि संलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।
