प्रहरीले विद्यालयबाट झिकाएको प्रमाणमा आरोपितको उमेर १६ र भागरथीको उमेर १८ वर्ष उल्लेख छ ।
बैतडी — प्रहरीले भागरथी भट्टको हत्या आरोपित सार्वजनिक गरे पनि विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन नआउन्जेल शव नबुझ्ने अडान पीडित परिवारले लिएको छ ।
यसअघि अभियुक्त पक्राउ नपरेसम्म शव नबुझ्ने उनीहरूको अडान थियो । प्रहरीले मंगलबार राति घटनामा संलग्न भएको भन्दै स्थानीय किशोरलाई पक्राउ गरेको थियो । हत्यारा अरू पनि हुन सक्ने शंका रहेको भन्दै परिवारजनले प्रयोगशालाको प्रतिवेदन कुर्ने निर्णय गरेको हो ।
थप अनुसन्धानका लागि मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनिबाट निस्केको रगतको नमुना परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ । मृतकका दाइ केशव भट्टले प्रारम्भिक अनुसन्धानलाई मात्र विश्वास गर्न सकिने अवस्था नरहेको बताए । ‘प्रहरीले बुधबार सार्वजनिक गरेको दिनेश भट्ट एक्लैले घटना गरेन कि भन्नेमा शंका छ,’ उनले भने ।
भागरथीको शव १४ दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ । शव राख्ने फ्रिज नभएकाले अस्पतालले स्थानीय स्रोतसाधन प्रयोग गर्दै काठको बाकस र आइस जमाएर शव व्यवस्थापन गरेको छ । धेरै दिन भएकाले शव बिग्रँदै भएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । जिल्ला अस्पतालमै गरिएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको, टाउको र हातमा चोट लागेको, मुख र योनिबाट रगत बगेको उल्लेख गरिएको थियो साथै छातीमा दाँतले टोकेको नीलडाम भेटिएको थियो ।
आरोपितलाई बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बयानका आधारमा उनैले भागरथीको बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । घरायसी रिसइबीका कारण घटना भएको बुझिए पनि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार बिहीबार अभियुक्तले दिएको थप बयानमा मृतकको घडी फालेको स्थान खुलाएका थिए । त्यसपछि गएको प्रहरी टोलीले घटनास्थल नजिकै रहेको खोल्सामा भागरथीको घडी भेट्टाएको छ । यस्तै, घटना भएको समयमा भागरथी महिनावारी भएको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले भागरथीको उमेर १७ र अभियुक्त किशोरको अन्दाजी १८ वर्ष भन्दै आएको थियो । बिहीबार प्रहरीले उनीहरू पढ्ने विद्यालयबाट झिकाएको प्रमाणमा दुवै जना नाबालक नै देखिएका छन् । किशोरको उमेर १६ र भागरथीको उमेर १८ वर्ष छ । प्रहरीका अनुसार किशोरको जन्ममिति २०६१ फागुन १० गते र भागरथीको २०५९ वैशाख ५ गते उल्लेख छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन् । उनी वडा नं ७ मा पर्ने लबलेक जंगलको खोचलेक–चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झाडीमा माघ २२ गते मृत भेटिएकी थिइन् ।
