भागरथी हत्या प्रकरण : धम्क्याएर आरोप स्विकार्न लगाएको दाबी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भागरथी हत्या प्रकरण : धम्क्याएर आरोप स्विकार्न लगाएको दाबी

घटनापछि महेन्द्रनगर बसाइ सरेका दीपकले सुधार गृह पुगेर छोरालाई भेटेपछि भने, ‘मेरो छोरा निर्दोष छ ।’ 
भवानी भट्ट

कञ्‍चनपुर — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका रूपमा सार्वजनिक गरिएका किशोर निर्दोष रहेको उनको परिवारले दाबी गरेको छ ।

दीपकराज भट्ट आइतबार महेन्द्रनगरमा । तस्बिर: कान्तिपुर

प्रहरीले फागुन ५ मा अभियुक्त सार्वजनिक गरेका सोही गाउँका १६ वर्षीय किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताएका हुन् ।

अभियुक्त किशोर अहिले डोटीको सिलगढीस्थित बाल सुधार केन्द्रमा छन् । बुबा र भाइलाई मार्ने धम्की आएपछि प्रहरीसमक्ष अपराध स्विकारेको बताएको दीपकराजले बताए । ‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्कोलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन् ।’

दीपकराजका अनुसार माघ २१ गते विद्यालयबाट घर गइरहेका बेला उनका छोराले बाटोमा उक्त घटना देखे । घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए । ‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उनले भने, ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’ उनका कान्छा छोरा विनोद सुस्त मनस्थितिका छन् । घटना हुनुभन्दा केही दिनअघि उनको दायाँ हात पनि भाँचिएको थियो । त्यसकै उपचारका लागि दीपकराज नियमित रूपमा डडेलधुरा आउजाउ गरिरहन्थे ।

पछिल्लोपटक दीपकराज गाउँ छाडेर परिवारसहित महेन्द्रनगर बसाइँ सरेका छन् । उनलाई शुक्रबार बाल सुधार गृहबाट फोन गरेर उनका छोराले केही कुरा गर्न भन्दै बोलाएका थिए । शनिबार सिलगढीमा छोरालाई भेटेर आइतबार महेन्द्रनगर फर्किएका हुन् । ‘अब तपाईंले गाउँ छाड्नु भो, उसले केही गर्न सक्दैन, सत्य कुरा गर्दै छु भन्दै मसँग रुन थाल्यो,’ दीपकराजले भने, ‘त्यतिबेला मेरै सामुन्ने अपराध स्विकारिस्, अहिले मैले गरेको होइन भन्छस् भनेर मैले सोध्दा पनि उसले सत्य कुरा यही हो भन्यो ।’ उनका अनुसार दिनेशले सुधार गृहका सुरक्षाकर्मीकै अगाडि उक्त कुरा भनेका थिए ।

दीपकराजले वास्तविक अपराधीलाई छाडेर निर्दोषलाई फसाउन खोजिएको भन्दै न्यायका लागि हारगुहार गरे । माघ २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको घटनाको मुख्य आरोपितका रूपमा प्रहरीले फागुन ५ गते ती किशोरलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । आरोपित सार्वजनिक गरेपछि मात्रै सुवेदी धनगढी फर्केका हुन् । जिल्ला अदालत बैतडीले ती किशोरलाई बाल सुधार केन्द्र पठाएको हो । छोरासँगैका साथी स्कुल गइरहेको देखेर दुःख लागेपछि गाउँ छाडेर आएको उनले बताए । ‘गहुँ छरेको थिएँ, त्यत्तिकै छाडेर आएँ,’ उनले भने, ‘अब गहुँ पाकेपछि काट्न जान्छु ।’

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी सुवेदीले तथ्य र प्रमाणसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको र सोहीअनुसार अदालतमा मुद्दा दायर भई प्रतिवादी पुर्पक्षका लागि गइसकेकाले थप बोल्न नमिल्ने बताए । प्रहरीका अनुसार आरोपितसँग अभिभावकको रोहबरमा बयान लिइएको थियो ।

मुद्दा दायरपछि थुनछेक बहसका क्रममा अदालतले पनि उनका बाबुको रोहबरमा बयान लिएको थियो । त्यसपछि प्राप्त प्रमाणका आधारमा अदालतले आरोपितलाई पुर्पक्षमा पठाएको थियो ।

प्रहरीले सुरुवाती अनुसन्धानकै क्रममा भागरथीको योनिबाट निकालिएको भजाइनल स्वाब र आरोपितको वीर्य डीएनए परीक्षणका लागि ल्याबमा पठाएको थियो तर रिपोर्ट आउन ढिला भएपछि त्यसबाहेकको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । अदालतमा डीएनए रिपोर्टबाहेककै आरोपपत्र पेस गरिएको थियो । बहसका क्रममा आवश्यक ठानेमा अदालतले रिपोर्ट झिकाउन सक्छ ।

प्रकाशित : चैत्र ९, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन ।

सन् २०१९ को अन्त्यमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिल नेपाल आएका थिए । राष्ट्रपति भण्डारीको भ्रमण दलमा २७ सदस्य छन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई पनि छन् । भ्रमण दलमा राष्ट्रपति कार्यालयबाट चार जना परेका छन् ।

बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यी सम्झौता सोमबार बेलुकी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सरकारी निवास बंग भवनमा हुने गरी कार्यक्रम तय भइसकेको छ ।


प्रकाशित : चैत्र ९, २०७७ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×