किशोरी हत्या घटना अविलम्ब छानबिनको माग

काठमाडौँ — बृहत् नागरिक आन्दोलनले बैतडीमा किशोरी हत्या घटना अविलम्ब छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको छ । 

आन्दोलनका तर्फबाट अभियन्ता युग पाठकले शनिबार साँझ विज्ञप्ति जारी गर्दै बैतडीको दोगडा केदार गाउँपालिका-७, चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अविलम्ब छानबिन गर्न माग गरेका हुन् । 'यस किसिमको मानवताविरोधी जघन्य अपराधको सरकारले अविलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न बृहत् नागरिक आन्दोलन सरकार र सम्बन्धित निकायहरुसँग जोडदार आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ,'साथै यस खाले जघन्य मानवअधिकारविरोधी घटनाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठनको समेत गम्भीर ध्यानाकर्षण होस् भन्ने विशेष आग्रह पनि गर्दछ ।' माघ २० विद्यालयबाट फर्कने क्रममा भट्ट बेपत्ता भएको र बिहीबार साँझ घर नजिकै लखलेक जंगलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या गरिएको घटना नसेलाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि चरम असंवेदशील र जवाफदेही नभएको पुष्टी हुने नागरिक आन्दोलनको ठहर छ ।

किशोरी हत्या घटनाले आफूहरु मर्माहत भएको जनाउँदै अभियन्ता पाठकद्वारा जारी विज्ञप्तिमा छ, 'मुलुकमा दिनानुदिन मानवताविरोधी यस्ता घटना भइरहनु सरकारको लापरबाही, असंवेदशीलता र मानवअधिकारको संरक्षण गर्न नसक्नुको पराकाष्टा हो ।' उनले पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न र बलात्कार तथा हत्यामा संलग्न दोषी तुरुन्त पत्ता लगाई कडा कानुनी कारबाहीका लागि 'बृहत् नागरिक आन्दोलन' तर्फबाट राज्यको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : माघ २४, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?