भागरथी हत्या प्रकरणमा प्रमाण संकलन गरिरहेका छौं : एसएसपी सिंह- समाचार - कान्तिपुर समाचार

भागरथी हत्या प्रकरणमा प्रमाण संकलन गरिरहेका छौं : एसएसपी सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — अपराध अनुसन्धानमा यति/उति प्रगति भयो भन्न उचित हुँदैन, अपराधी पक्राउ परेका दिन अनुसन्धानले शतप्रतिशत पूर्णता पाउँछ, पक्राउ नपरेसम्म शून्यमै हुन्छ । भागरथी भट्टको हत्या प्रकरणमा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउँछौं । अनुसन्धानमा एकरत्ति पनि कमी र कमजोरी नहुने गरी प्रमाण संकलन गरिरहेका छौं ।

अनुसन्धान जारी रहेका कारण अभियुक्त पक्राउ गर्न बाँकी हो । शव भएको र वरपर तथा चिकित्सकीय विधिबाट संकलित प्रमाणहरू वैज्ञानिक परीक्षणका लागि काठमाडौं पठाएका थियौं, ती तथ्य र प्रमाण कतिपय आउने क्रममा छन् । कति आइसके ।

विषयको संवेदनशीलतालाई हेरेरै प्रदेश प्रहरी प्रमुख (डीआईजी उत्तमकुमार सुवेदी) पनि घटना भएको जिल्ला (बैतडी) मै बसेर अनुसन्धानलाई प्रभावकारी बनाउन लागिरहनुभएको छ । जिल्ला अस्पताल र जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी स्वयं पनि यसअघि नै घटनास्थल पुगिसक्नुभएको थियो । विषयलाई हामीले कति संवेदनशील रूपमा लिएका छौं भन्ने त यसले पनि देखाउँछ । अहिले एसएसपी (जनकराज पाण्डे) को कमान्डमा समग्र अनुसन्धान भइरहेको छ । त्यसमा प्रदेश, जिल्ला र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीलाई एकीकृत रूपमा खटाइएको छ । अनुसन्धानमा खटिएका अधिकृत तथा जवानहरूले मिहिनेतका साथ काम गरिरहनुभएको छ ।

अनुसन्धानमा के–कस्ता मिहिनेत गरिएको छ भन्ने विषय अपराधमा संलग्न पक्राउ परेपछि छर्लंग भइहाल्छ । अनुसन्धान सफलतातर्फ उन्मुख छ । अपराधीको नजिक पुगिसकेका छौं । अनुसन्धानमा भएका कतिपय कुरा मानिस पक्राउ नपरेसम्म बाहिर ल्याउन पनि मिल्दैन । यस्ता तथ्य र प्रमाण बाहिर नआएका कारण अपराधीले उन्मुक्ति पाउने पो हो कि भन्ने आशंका, चासो र चिन्ता जनमानसमा रहेकामा हामी जानकार छौं र ज्यादै संवेदनशील पनि । सँगसँगै सबैलाई विश्वास दिलाउन पनि चाहन्छौं– अपराधमा संलग्नलाई जसरी पनि कानुनी दायरामा ल्याइछाड्छौं । अहिलेसम्म अपराधमा संकलित र परीक्षणका क्रममा भएका तथ्य/प्रमाणहरू जुटाइसकेपछि ‘क्लोज सर्भिलेन्स’ मा राखिएका व्यक्तिलाई नियन्त्रणमा लिएर अर्को स्टेपमा प्रवेश गर्छौं । त्यतिबेलासम्म सबैबाट धैर्यताका लागि अनुरोध पनि गर्छौं ।

(कान्तिपुरकर्मी मातृका दाहालले टेलिफोनमा गरेको कुराकानी)

प्रकाशित : फाल्गुन २, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटका सातै स्थानीय तह निमित्तका भरमा

कान्तिपुर संवाददाता

जाजरकोट — नलगाड नगरपालिकाको कार्यालय स्थापनादेखि नै शाखा अधिकृत सुरेन्द्र सिंह निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालयमा अधिकृत दलबहादुर घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

यी दुई मात्रै होइन जाजरकोटका सातवटै स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् । तोकेको दरबन्दीका उपसचिव र अधिकृतले स्थानीय तहमा नआएपछि तल्लो तहका कर्मचारीको जिम्मामा सञ्चालन भइरहेका हुन् ।

भेरी, नलगाड र छेडागाड नगरपालिकामा प्रशासनतर्फको उपसचिव तहको दरबन्दी छ । छेडागाडमा निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक खत्री छन् । बारेकोट गाउँपालिकाले पनि दुई वर्षदेखि गोविन्दबहादुर सिंहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । सिंह पशु प्राविधिक समूहको छैटौं तहका कर्मचारी हुन् । शिवालय गाउँपालिकामा खिम पाण्डे, कुशेमा मानबहादुर गिरी र जुनीचाँदेमा दीपक शाही निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । गिरी र शाही विद्यालय निरीक्षक हुन् ।

भेरीमा उपसचिवस्तरको कर्मचारी आए पनि ४/५ महिनाभन्दा बढी टिकेनन् । स्थानीय तहका जनप्रतिनिधिले आफूअनुकूल काम गर्ने कर्मचारीलाई कार्यालय प्रमुख बनाउँदा स्थानीय तह निमित्तकै भरमा सञ्चालन भएको नागरिक अगुवा केशवजंग शाह बताउँछन् । ‘राजनीतिक नाता सम्बन्धका आधारमा कर्मचारीलाई रबर

स्ट्याम्प बनाइँदा यस्तो भएको हो । प्रमुखको जिम्मेवारी दिन योग्यता नपुग्ने कर्मचारीलाई पनि निमित्त बनाइएको छ,’ उनले भने, ‘दरबन्दीका कर्मचारी आए पनि एक/दुई महिनामै सरुवा हुन्छन् ।’

भेरी नगरपालिकामा नीति, नियमअनुसार काम गर्न खोज्दा अवरोध भएपछि चार महिनामै सरुवा हुनुपरेको उपसचिव ध्रुव कोइरालाले बताए । ‘स्थानीय तहमा नीति नियमअनुसार तटस्थ भएर काम गर्ने वातावरण नै छैन,’ उनले भने, ‘जनप्रतिनिधिको दबाब थेक्न नसक्दा सरुवा हुनुपर्‍यो ।’ स्थानीय तहका प्रमुखहरूले भने दुर्गममा दरबन्दीअनुसारका प्रमुख नआउँदा निमित्तको भरमा पालिका सञ्चालन गरेको दाबी गरेका छन् ।

संघीय सरकारले दुई वर्षयता प्रमुख प्रशासकीय अधिकृत नपठाएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रकाशित : फाल्गुन २, २०७७ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×