किन हुन्छ बलात्कारपछि हत्या र हत्या प्रयास ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन हुन्छ बलात्कारपछि हत्या र हत्या प्रयास ?

‘अहिले अपराध ढिलो–चाँडो सार्वजनिक हुन्छ । उजुरी आउँछ । कारबाही हुनुपर्छ भन्ने मागले पनि प्रमाण मेट्न हत्या र हत्या प्रयासजस्तो क्रूर बाटो रोजेको देखिन्छ ।’
विद्या राई

काठमाडौँ — एक साताअघि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । अहिलेसम्म दोषी पत्ता लागिसकेका छैनन् । घटनामा संलग्नलाई चाँडो पक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन् । 

माघ १६ गते नेपालगन्जमा एक युवकले १५ वर्षीया किशोरीलाई होटलमा लगी बलात्कार प्रयासपछि हत्या गर्न खोजेका थिए । युवती चिच्याएपछि होटलवालाले थाहा पाएर उद्धार गरी अस्पताल पुर्‍याए । आकस्मिक उपचारपछि उनलाई एक संस्थामा राखिएको छ । अधिकारकर्मी लक्ष्मी तिवारीका अनुसार विद्यालयबाट घर फर्कंदै गरेकी किशोरीलाई युवकले चक्कु र ब्लेड देखाएर डरत्रासमा पारी होटल पुर्‍याएका थिए ।

‘बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि घाँटीमा थिची, डोरीले बाँधेर, लात्ती–मुक्काले हिर्काएर अचेत पारेछ,’ उनले भनिन्, ‘नाक र आँखाबाट रगत निस्केपछि ढोका थुनेर भागेछ ।’ पीडितकी आमाले जबर्जस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन् । प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि घटनामा संलग्न युवक पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरदेव गिरी भन्छन्, ‘भारत गएको भन्ने बुझिएको छ, खोज्दै छौं ।’

माघ १४ गते काठमाडौंको जोरपाटी बस्ने २३ वर्षीया युवतीलाई सौतेला बाबुले बलात्कार गरी हत्या प्रयास गरे । प्रतिकारमा हात टोकिदिएकी थिइन् । त्यसपछि उनले युवतीको टाउकामा ढुंगाले हाने, फलाममा ठोक्काएर अर्धचेत बनाए । युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । युवतीको अवस्था बुझ्न मंगलबार वीर अस्पताल पुगेकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले भनिन्, ‘स्थिति गम्भीर पायौं, अझै पनि होस खुल्न सकेको रहेनछ ।’

घटनापछि सौतेला बाबुले युवतीकी आमालाई फोनमा घटनाबारे बताएर धनुषास्थित घर भागेका थिए । माघ १५ गते पक्राउ परेका उनले बयानमा मादक पदार्थको मातमा अपराध हुन पुगेको बताएको बौद्ध प्रहरी वृत्तले जनाएको छ । उनलाई प्रहरीले बलात्कार र ज्यान मार्ने उद्योगमा कारबाही अगाडि बढाएको छ ।

असोज ७ गते बझाङको मस्टा गाउँपालिकाका राजेन्द्र बोहराले सोही ठाउँकी १३ वर्षीया सम्झना कामीलाई बलात्कारपछि हत्या गरे । सम्झना गोठमा गाईबस्तुलाई घाँस हाल्न हिँडेको मौका छोपेर उनले शिव मन्दिरभित्र बलात्कार गरी त्रिशूल र घनले हानेका थिए ।

पछिल्लो समय बलात्कारका घटना बढेसँगै हत्या र हत्या प्रयासमा समेत वृद्धि भएको यी प्रतिनिधि घटनाले प्रस्ट पार्छन् । नेपालमा दैनिक सरदर ६ देखि ७ महिला, बालबालिका तथा किशोरी बलात्कृत हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो अढाई वर्षमा ५ हजार ६ सय ३५ महिला, बालबालिका तथा किशोरी बलात्कृत भए । आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २ सय ३०, २०७६/०७७ मा २ हजार १ सय ४४ र चालु आर्थिक वर्षको पुससम्म १ हजार २ सय ६० जना बलात्कृत भएका छन् । यो अवधिमा बलात्कारपछि १६ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या हुँदा यो संख्या १७ पुगेको छ ।

घटनामा संलग्न व्यक्ति अपराधको ज्युँदो प्रमाण रहेपछि फस्ने डरले हत्या र हत्या प्रयास गर्ने गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन् । ‘आवेगमा अपराध गर्दा पीडित स्वयं प्रमाण हुने भइहाल्यो,’ उनले भने, ‘ज्युँदो प्रमाण हुँदा फस्छु भन्ने हुन्छ, त्यही भएर प्रमाण लुकाउनका लागि हत्या गर्छ, कति त हत्या प्रयास गरेर भाग्छन् ।’

अधिवक्ता सविन श्रेष्ठले अपराधमा संलग्नले प्रमाण मेटाउन र कारबाहीबाट बच्न क्रूरताको बाटो लिने गरेको बताए । ‘पहिला बलात्कार भए पनि उजुरी हुँदैनथ्यो, घटना बाहिर आउँदैनथ्यो,’ उनले भने, ‘अहिले अपराध ढिलो–चाँडो सार्वजनिक हुन्छ । उजुरी आउँछ । कारबाही हुनुपर्छ भन्ने मागले पनि प्रमाण मेट्न हत्या र हत्या प्रयासजस्तो क्रूर बाटो रोजेको देखिन्छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पीडितको न्यायका लागि सडकदेखि सदनसम्म तातेको थियो । यत्तिका दबाबले पनि हालसम्म अपराधमा संलग्न पत्ता लाग्न सकेका छैनन् । ‘निर्मलाको केसमा त्यत्रो जुलुस निकाले पनि कोही अपराधी पक्राउ परेन,’ अधिवक्ता श्रेष्ठ भन्छन्, ‘अपराधको प्रमाण लुकाउने तरिका त यो पो रहेछ भन्ने मानसिकताले पनि हत्याको बिन्दुसम्म गएको हुन सक्छ ।’ कञ्चनपुरकी १३ वर्षीया पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।

मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले राजनीतिक प्रभाव र प्रहरीको अनुसन्धान प्रणाली वैज्ञानिक नहुँदा यस्ता घटनामा कमी नआएको बताइन् । ‘हत्या गर्नुमा अपराधको प्रमाण लोप हुने त छँदै छ, कमजोर न्याय, अनुसन्धान प्रणाली र राजनीतिक दबाबले गर्दा आपराधिक व्यक्तिको मनोबल बढिरहेको छ,’ उनले भनिन् ।

प्रकाशित : माघ ३०, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिक इबी साध्न राज्यशक्तिको दुरुपयोग

सम्पादकीय

डेढ दशकअघि निरंकुश शाही सत्ताविरुद्ध शृंखलाबद्ध सडक संघर्ष र जनआन्दोलन हाँक्ने युवा नेतामध्ये अग्रपंक्तिमा थिइन्, रामकुमारी झाँक्री ।

राज्यविरुद्ध कसुरको आरोपमा बिहीबार प्रहरीद्वारा पक्राउ गरिएकी नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री साँझ रिहा भएपछि । तस्बिर : अंगद ढकाल/कान्तिपुर

त्यही जनआन्दोलनको उपलब्धिस्वरूप प्राप्त गणतान्त्रिक शासन व्यवस्थामा बिहीबार उनै झाँक्रीलाई ‘राज्यविरुद्धका कसुर’ मा पक्राउ गरियो, त्यो पनि बोलेकै कारण देखाएर । र, उनलाई पक्रन लगाउने अरु कोही नभएर त्यही जनआन्दोलनको बलमा सत्ता तथा शक्तिमा पुनःस्थापित भएकाहरू नै हुन्, जोसँग पछिल्लो राजनीतिक ध्रुवीकरणअघि झाँक्री पनि साथै थिइन् । प्रतिनिधिसभा विघटनलाई लिएर राष्ट्रपति–प्रधानमन्त्रीविरुद्ध तिखो टिप्पणी गरेपछि उनी हिजोका आफ्नै सहयात्रीको निसानामा परेकी हुन् । राजाले पटक–पटक प्रजातन्त्रको घाँटी अँठ्याए भनेर जनता लडेर ल्याएको पूर्ण–लोकतन्त्रमै एउटा नेता यसरी राजनीतिक प्रतिशोधको सिकार हुनु बडो त्रासदीपूर्ण छ । संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि भएको यो बलात् आक्रमणबाट सरकारको स्वेच्छाचारी तथा अधिनायकवादी चरित्र त थप उजागर भएको छ नै, सत्ताको कुदृष्टिबाट लोकतान्त्रिक मूल्य–मान्यतालाई कसरी जोगाउने भन्ने आम चिन्ता पनि थपिएको छ ।

चौतर्फी दबाबका कारण झाँक्रीलाई बिहीबार साँझ नै रिहा गरिए पनि यो घटना प्रहरी प्रशासनले आफ्नो नियमित कामकारबाही गर्ने क्रममा जानीजानी या भुलभुलैयामा चालेको एउटा सामान्य कदम मात्रै थिएन । यो त सरकारले आलोचनाको आवाज गुन्जाउने जोकोहीलाई ‘यसैगरी तह लगाइनेछ’ भनेर ‘देखाइदिन’ चालेको सुनियोजित चालबाजी थियो । संसद्‌बाट पारित हुन नसकेको विधेयकका प्रावधानहरू समेटेर सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न निर्देशिका ल्याउने घोषणा गरेको पर्सिपल्टै मुलुककी एक प्रभावशाली नेता पक्राउ पर्नु कुनै काकताली मात्र हुँदै होइन । यो त सत्ताविरुद्ध चोरऔंला ठड्याउने कसैलाई छाडिन्न भनेर सुविचारित रूपमा चालिएको पाइला थियो/हो, जसले प्रतिगमनको वेग बढाउन मद्दत गर्छ । झाँक्रीलाई पक्राउ गरी कारबाही गरियोस् भनेर सत्तापक्षीय अखिल नेपाल महिला संघले केही दिनअघि गृहमन्त्रीलाई ज्ञापनपत्र किन बुझाएको रहेछ, अब छर्लंग भइसकेको छ ।

सबैलाई थाहा छ, यतिबेला अधिकतर राजनीतिक शक्ति सडकमा छन् । प्रतिपक्ष मात्र होइन, सत्तासीनहरू नै पनि शक्ति प्रदर्शनमा ओर्लिएका छन् । यसबखत एकले अर्काविरुद्ध टीका–टिप्पणी गर्नु अस्वाभाविक होइन, प्रतिस्पर्धात्मक राजनीतिको एउटा सामान्य चरित्र मात्रै हो । निश्चय पनि राजनीतिक टिप्पणी–प्रतिटिप्पणीहरू मर्यादित हुनुपर्छ, त्यसमा शंकै छैन । तर, व्यक्तिविशेषको कुनै भनाइलाई लिएर राज्यशक्तिकै दुरुपयोग गरिंदा भने त्यसले अनर्थ सिर्जना गर्छ । गोरखामा केहीअघि आयोजित कार्यक्रममा नेता झाँक्रीले वर्तमान सत्ता–कदमको आलोचना गरेकी थिइन्, राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री कार्यालयको ‘रबर स्टाम्प’ बनेकोमा रोष प्रकट गरेकी थिइन् । र, पदासीन अवस्थामा राजनीति नगर्न र त्यस्तो मोह भए सडकमा आउन राष्ट्रपतिलाई चुनौती दिएकी थिइन् ।

त्यसको केही दिनअघि निर्वाचन आयोगको प्रतिवेदन बुझ्ने क्रममा चुनावमा जुट्न निर्देशन दिएकी राष्ट्रपतिलाई ‘बडामहारानी’ को संज्ञा दिँदै झाँक्रीले भनेकी थिइन्, ‘निर्वाचनका लागि सुख–सुविधा छोडेर पहिला कोटेश्वरमा आउनुस्, चाबेल कि बानेश्वरतिर बसाइँ छ भन्ने सुनेकी छु, हैन भने बालकोटै गए पनि हुन्छ ।’ त्यसयता झाँक्रीको यो भनाइलाई लिएर सत्तानिकट व्यक्तिहरूले उनको विरोध जनाउँदै आएका छन्, जसको उत्कर्षस्वरूप बिहीबार राज्य नै लागेको हो । पक्कै पनि, शिष्टताको कसीमा झाँक्रीको उक्त अभिव्यक्ति शोभनीय थिएन, त्यसलाई समर्थन गर्न सकिन्न, तर त्यो राजनीतिक टिप्पणीकै आधारमा उनीमाथि राज्यविरुद्धको अपराधको डन्डा बर्साउन खोज्नु भनेको राज्य–अस्त्रहरूको विशुद्ध दुरुपयोग हो ।

कथं यो घटना राजनीतिक प्रतिशोधबाट सिर्जित होइन भनेर मान्ने हो भने पनि त्यो कति आवश्यक हो भन्ने पनि आफैंमा अहम् प्रश्न हो । किनभने, मुलुकमा यतिबिघ्न अपराधका घटनाहरू भइरहेका छन्, तिनलाई न्यूनीकरण गर्नुपर्ने खाँचो भएको यो बेला प्रहरी शक्तिलाई भने समाजलाई नैतिकवान बनाउने जिम्मा लगाउनुको कुनै तुक छैन । अब यही हिसाबले अघि बढ्दा त झाँक्रीविरुद्ध जथाभावी भन्नेहरूलाई पनि प्रहरीले पक्राउ गर्दै जानुपर्ने हुन्छ । यसैगरी कति जनालाई पक्रन सम्भव हुन्छ ? विपक्षी तर्साउन चालिएको यो कदमबाट अहिले त सरकार पछि हटेको देखिएको छ, भोलिका दिनमा पनि जिम्मेवारीमा बसेकाहरू यसमा सचेत रहनुपर्छ ।

यस्तै, नेता झाँक्रीलाई जुन प्रावधान टेकेर आरोप लगाइएको थियो, त्यो पनि आफैंमा दुराशयपूर्ण थियो । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले झाँक्रीलाई मुलुकी अपराध संहिताको दफा ५८ अन्तर्गत राज्यविरुद्धको कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न पुर्जी काटेको थियो । उक्त दफामा ‘कसैले राष्ट्रपति वा संसद्लाई सविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन’ भनिएको छ । र, यस्तो कसुर गर्ने वा गराउनेलाई सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । यसअनुसार सरकारले आकर्षित नै नहुने कानुनी दफा प्रयोग गरी झाँक्रीलाई कारबाही गर्न खोजेको प्रस्टै देखिन्छ । यसरी एउटी विपक्षी नेताले गरेको राजनीतिक टिप्पणीलाई गलत अर्थ लगाएर सरकारले इबी साध्न खोज्नु लोकतन्त्रकै दुर्भाग्य हो । ‘मेरो गाथगद्दीमा अरूले नजर लगाउने’ भनेर प्रतिनिधिसभा नै विघटन गरेको सरकारले ‘मेरो राजकाजमा अरूले टिप्पणी गर्ने’ भन्ने शैलीमा गरेको यो धम्कीपूर्ण व्यवहार सरासर अस्वीकार्य थियो/छ ।

उहिले नेकपा एमालेका महासचिव मदन भण्डारीले तत्कालीन राजा वीरेन्द्रको चर्को आलोचना गर्दै उनलाई ‘श्रीपेच फुकालेर सडकमा आउन’ चुनौती दिँदासमेत उसबेलाको राजतन्त्रात्मक राज्यले सहजै पचाएको थियो । अहिले हामी श्रीपेचबिनाको राजतन्त्रमा त पक्कै छैनौं, जहाँ गणतन्त्रकी एक योद्धाले राष्ट्राध्यक्षको पदमा रहेकी श्रीमती भण्डारीको आलोचना गर्नासाथ उनीविरुद्ध पूरै राज्यशक्ति खनाउनुपरोस् । कामचलाउ ओहोदाधारीहरूलाई चेतना होस्, अहिलेको गणतान्त्रिक चेतले मुलुकलाई भयको राज्यमा परिणत हुन कदापि दिने छैन ।

प्रकाशित : माघ ३०, २०७७ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×