१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भागरथीको शव अझै अस्पतालमै

दोषीलाई पक्राउको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कार्यालयअगाडि धर्ना र नाराबाजी
तृप्ति शाही

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् ।

भागरथीको शव अझै अस्पतालमै

बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ । अपराधीलाई चाँडै पत्ता लगाउँछौं,’ उनले भने । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदीसहित एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग भइरहेको छ ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा पढिरहेकी भागरथीको शव गत बिहीबार खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । सोमबार आएको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ 

विद्यार्थी आन्दोलित

धनगढी– भागरथी भट्ट हत्या घटनाको विरोधमा विद्यार्थीले दिनहुँ प्रदर्शन गर्न थालेका छन् । मंगलबार पनि सुदूरपश्चिम एकेडेमी कलेजको नेतृत्वमा विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना, नाराबाजी, चक्काजाम गरे । उनीहरूले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

विद्यालय पोसाकमै सहभागी उनीहरूले करिब ४ घण्टा मुख्यमन्त्रीको गेटअगाडि धर्ना दिएका थिए । ‘घटना भएकै एक साता पुग्यो,’ विद्यार्थी पूजा जोशीले भनिन्, ‘भागरथीले पनि निर्मला पन्तको नियति भोग्नु नपरोस् भनेर आन्दोलनमा आउनुपरेको हो ।’

प्रकाशित : माघ २८, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?