भागरथी हत्या प्रकरण : दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भागरथी हत्या प्रकरण : दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान

पोस्टमार्टम सकियो, रिपोर्ट सोमबार
दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको माग
तृप्ति शाही

बैतडी — दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं ।’ घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो । ‘अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं,’ उनले भने ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट सोमबार मात्रै दिन सकिने जनाएको छ । अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार संवेदनशील केस भएको र अस्पतालमा बिरामीको चाप बढी भएकाले आइतबार रिपोर्ट तयार पार्न सकिएको छैन । बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् । भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘धेरै टोलीले अनुसन्धान गरिरहेका छन्, अपराधीलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं,’ उनले भने ।

भागरथीका हत्यामा संलग्नलाई कारबाही माग गर्दै आइतबार बैतडीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले जिल्ला सदरमुकामको शाहीलेक, गोठालापानी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयबाहिर पुगेर नाराबाजी र कोणसभा गरेका थिए । टाउको र पाखुरामा कालोपट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायको माग गरेका हुन् । घटनाका दोषी पक्राउ नपरुन्जेल प्रदर्शन जारी रहने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् । यस्तै पाटन नगरपालिकामा पनि विद्यार्थी र स्थानीयले सडकमा प्रदर्शन गरेका थिए ।

स्थानीय सनातन धर्म माविमा १२ कक्षा पढिरहेकी भागरथीको शव बिहीबार बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । अर्धनग्न अवस्थामा भेटिएको उनको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको निष्कर्ष छ । कपडाहरू च्यातिएको, शरीरमा चोट रहेको र योनीबाट अत्यधिक रक्तस्राव भएको अवस्थामा उनको शव भेटिएको थियो । घाँटीमा नीलडाम र मुखबाट रगतसमेत बगेको अवस्थामा शव फेला परेको थियो ।

बुधबार बिहान १० बजे विद्यालय गएकी उनी दिउँसो २ बजेतिर विद्यालयबाट केही साथीहरूसँगै घर जाने बाटोमै रहेको खोचलेक बजारमा देखिएकी थिइन् । साथीहरूसँग घर जान्छु भनेर हिँडेकी उनी बेपत्ता भएकी थिइन् ।

...

साँझ छोरीको हत्या, राति घरमा आगजनी

बैतडी– माइती आएकी छोरीको गोली हानेर हत्या गरेका पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए । छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइरहे पनि महरा फेला पर्न नसकेको बताए । हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महराका दुई श्रीमती छन् । श्रीमतीहरूसँग दिनहुँ झगडा भइरहने हुँदा घरमा सधैंजसो किचलो हुने गरेको थियो । घरझगडा भइरहेका बेला माइती आएकी छोरीले बाबुलाई सम्झाउन खोज्दा आवेशमा भरुवा बन्दुकले गोली हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ २६, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

सिटी उपाधितर्फ उन्मुख

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आइतबार निर्णायक साबित हुन सक्ने यात्रा तय गरेको छ । यसका लागि उसले डिफेन्डिङ च्याम्पियन लिरभपुललाई एनफिल्डमै ४–१ ले हरायो ।

सिटीले लिभरपुललाई उसको घरमा हराएको यो सन् २००३ यता पहिलो हो । सिटीको जितमा इलकयी गुन्डोगनले दुई तथा रहिम स्टर्लिङ र फिल फोडेनले एक–एक गोल गरे ।

लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए । सिटीको २२ खेलबाट ५० अंक भएको छ । टोली शीर्ष स्थानमा एक खेल कम खेलेर पाँच अंकको अग्रता लिन सफल रह्यो ।

लिभरपुल भने ४० अंकसाथ चौथो स्थानमा छ । चेल्सी ३९ अंकसाथ पाँचौं स्थानमा उक्लेको छ । यसका लागि उसले सेफिल्ड युनाइटेडलाई २–१ ले हरायो । यस्तै उल्भ्स र लेस्टरले गोलरहित बराबरी खेले । लेस्टर ४३ अंकमा तेस्रो स्थानमा छ ।


प्रकाशित : माघ २६, २०७७ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×