२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भागरथी हत्याको निष्पक्ष अनुसन्धान होस् : विवेकशील साझा

काठमाडौँ — विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बलत्कारपछि हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न सरकारलाई आग्रह गरेको छ ।

भागरथी हत्याको निष्पक्ष अनुसन्धान होस् : विवेकशील साझा

पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै उक्त विभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टी मर्माहत भएको जनाएको छ । ‘हत्या हुनुअघि बलात्कारको आशंका गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले यसै क्रममा न्यायप्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा पनि आफ्नो एकिवद्धता रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘तर यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ ।’

पार्टीले सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णत: असफल भएको दाबी गरेको छ । विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारवाहीलाई मिहीन ढंगबाट नियाल्न पनि आग्रह गरेको छ ।

प्रकाशित : माघ २५, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?