‘आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो’
काठमाडौँ — तीन वर्षअघि दुई तिहाइनजिकको बहुमतबाट बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवधिमा अपेक्षित काम गर्न नसकेको स्विकारेका छन् । तर उनले त्यसको दोष भने आफ्नै पार्टीका सहकर्मीलाई लगाए ।
सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सोमबार प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेकपाको शीर्ष नेतृत्वमा रहेका केही नेताहरूले समानान्तर सरकार चलाउन खोजेर आफूलाई कामै गर्न नदिएको दोषारोपण गरेका हुन् ।
त्यही कारण मुलुकलाई राजनीतिक अस्थिरताको खेलमैदान हुनबाट जोगाउन आफूले प्रतिनिधिसभा विघटन गरेको तर्क ओलीको थियो । आफ्नै पार्टीका सहकर्मीहरू सरकार कसरी ढाल्ने भन्ने ‘उद्यम’ मा लागेको अवस्थामा तीन वर्षमा जेजति उपलब्धि भयो त्यसबाट निराश हुनुपर्ने अवस्था नरहेको उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएकाले दुई तिहाई बहुमतको सरकारले गठबन्धन सरकारको झैँ नियति भोग्नु परेको पनि बताए । 'सुरुदेखि नैसरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । विभिन्न ढंगले काममा ब्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखि झन्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नु पर्यो । एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नु पर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो,' उनले भने ।
भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा लिखित ‘प्रेस ब्रिफिङ’ पढ्दै उनले आफ्नै पार्टीका नेताका कारण मुलुक मध्यावधि निर्वाचनमा जानुपरेको बताए । पार्टीका साथीहरूले काम गर्न नदिएको बारम्बार दोहोर्याएका ओलीले आफ्नो तीनवर्षे उपलब्धि सवा दुई घण्टा लगाएर सुनाए । उनले एकातिर काम गर्न नदिएको दोहोर्याए भने सँगसँगै विकास निर्माणका उल्लेख्य काम भएको ४४ पृष्ठको ब्रिफिङ पुस्तिका पढे ।
प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई प्रतिगमनको संज्ञा दिँदै सडक आन्दोलन गरिएकामा उनले आक्रोश पोखे । ‘उदेक लाग्छ, साथीहरू केलाई प्रतिगमन भनिरहनुभएको छ । के हामी संविधानले कोरेको सीमाभन्दा पछि हटेका छौं ?’ उनले प्रश्न गरे । आफूलाई फौजदारी अभियोगसरह आरोप लगाएर सरकारमाथि ‘हमला’ गरेकाले नेकपाका केही नेताको ‘कुण्ठाको बाछिटा’ व्यवस्थापिकामा नपरोस् भन्नेमा आफू सधैं सतर्क रहेको उनले उल्लेख गरे । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिमा पेस गरेको प्रतिवेदनलाई उनले ‘फौजदारी अभियोगपत्र’ का रूपमा चित्रण गरेका हुन् ।
सत्तापक्षकै सांसदले सरकारलाई अप्ठेरो पार्ने नियतले संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयकहरूसमेत अघि बढ्न नदिएको भन्दै ओलीले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि निर्वाचन घोषणा गरेको दाबी दोहोर्याए । राष्ट्रप्रति जिम्मेवार भएर आफू ताजा जनादेशमा गएको चर्चा गर्दै उनले गलत बाटोबाट मन्त्री/प्रधानमन्त्री हुने आकांक्षा राख्नु अलोकतान्त्रिक चरित्र भएको तर्क गरे । दाहालप्रति लक्षित गर्दै उनले ‘अनुचित प्राप्तिका लागि मुलुकलाई फरक स्थानमा लैजान लागेकाले’ आफूले त्यसलाई विफल बनाउन खोजेको बताए ।
ब्रिफिङ पुस्तिकाको सुरुका ६ पृष्ठ उनले पार्टीको आन्तरिक किचलो, सरकार सञ्चालनमा भएका अवरोध र आफ्नै पार्टीका शीर्ष नेतृत्वको आलोचनामा खर्चिएका थिए । निर्वाचनले राष्ट्रलाई विभाजित नभई एकताबद्ध बनाउने दाबी उनको थियो । ‘निर्वाचनमार्फत जित हासिल गरेर आफ्नो उद्देश्य पूरा गर्न र सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा विभिन्न निहुँ र बहानामा पार्टीलाई विभाजन गर्ने प्रयास गर्नु अपराध हो,’ उनले भने । ओलीले दाहालप्रति लक्षित गर्दै बिनाप्रतिस्पर्धा पार्टीको रोजेको पदमा आसीन हुन पाऊँ भन्नु अलोकतान्त्रिक प्रवृत्ति भएको उल्लेख गर्दै ताजा जनादेशले अराजकता अन्त्य गरेर राजनीतिक स्थिरता कायम हुने बताए ।
सरकार गठन भएदेखि नै संसदमा पेस गरिएका कैयौं विधेयक छलफलमा नलगिएको, समितिमा पुगेका विधेयकलाई छलफलकै ‘गोलचक्करमा फसाइएको,’ राजदूत र संवैधानिक निकायमा रिक्त पदमा नियुक्ति गर्न नदिएको, आफ्नै दलका सांसदले सुनुवाइ समितिमा नियुक्ति अड्काएको गुनासो उनको थियो । ‘यहाँसम्म कि ‘सनसेट ल’ का रूपमा प्रस्तुत गरेको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शीघ्र निर्माणका लागि मस्यौदा गरिएको विकास सम्बन्धी र सार्वजनिक खरिद ऐन संशोधन गर्ने विधेकयलाई समेत अल्मल्याई सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याइयो,’ उनले भने । सुरुदेखि पार्टी शीर्ष नेताहरू दाहाल र माधवकुमार नेपालले निहुँ खोजेर काम गर्न नदिएको उनको भनाइ थियो ।
ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनको कदम लोकतान्त्रिक प्रणालीलाई समीकरण र गठबन्धनको फोहोरी खेलबाट मुक्त गर्न चालिएको बाध्यात्मक तर आवश्यक कदम भएको दाबी गरे । उनले ६४ प्रतिशत सांसदको बहुमत आफ्नो पक्षमा रहेकाले वैकल्पिक सरकार बन्ने सम्भावना नभएको प्रसंग दोहोर्याउँदै छोटो समयमा सरकार परिवर्तन भइरहने प्रवृत्ति रोक्न खोजेको बताए ।
संविधान कार्यान्वयन र कानुन निर्माण
प्रधानमन्त्री ओलीले सरकार गठन भएको तीन वर्षमा संविधान पूर्णरूपमा कार्यान्वयनमा आएको दाबी गरे । सडकमा उनीमाथि संघीयता र गणतन्त्र विरोधीको नारा लागिरहेका बेला ओलीले संविधान कार्यान्वयनका लागि संस्थागत र नीतिगत व्यवस्था गरिएको प्रस्टीकरण दिए । उनले संविधान कार्यान्वयनका क्रममै सरकार बनेको र पहिलो वर्षमै मौलिक हकसहित २५ कानुन संघीय संसद्बाट पारित भएको, दर्जनौं विधेयक संसद्मा पेस भएको, निर्देशिका, कार्यविधि र मापदण्डहरू जारी गरेको दलील पेस गरे ।
उनले यस अवधिमा ८९ नयाँ कानुन बनेको र सयौं कानुन संशोधन भएको जानकारी दिए । प्रदेश र स्थानीय तहमा जाने राजस्व बाँडफाँट, भौतिक संरचनाको व्यवस्थापन, कार्यालयहरूको स्थापना जस्ता विषयमा सरकारले उल्लेख्य काम गरेर संघीयता कार्यान्वयनका लागि संस्थागत विकास गरेको दाबी उनले गरे । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात क्षेत्रमा तीन वर्षमा भएको कामको विवरण प्रस्तुत गरेका थिए ।
परिणाममुखी सुशासन र भ्रष्टाचार नियन्त्रण
ओलीले आफू प्रधानमन्त्री भएदेखि नै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरेको र परिणाममुखी परिस्थिति निर्माण भएको बताए । ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने सन्देश दोहोर्याउँदै दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने बानी नभएको तर्क गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको चर्चा गर्दै उनले उक्त कामलाई सरकारको उपलब्धिका रूपमा प्रस्तुत गरे । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय प्रधानमन्त्री कार्यालय मातहतमा राख्ने कामलाई आफूले उचित निर्णय गरेको र त्यसले सकारात्मक परिणाम देखिएको दाबी गरे ।
उक्त निकायहरूलाई ओलीले प्रधानमन्त्री भएलगत्तै आफ्नो नियन्त्रणमा रहने गरी गरेको निर्णयको आलोचना हुँदै आएको छ । तर उनले यसबाट सही र प्रभावकारी परिणाम दिएको दाबी गरे । ‘शक्तिको अतिविकेन्द्रीकरण भयो भनेर आलोचना भयो । तर आफूलाई ठीकै गरेछु भन्ने लागेको छ,’ उनले भने ।
उपलब्धिका रूपमा उनले राजस्व चुहावट नियन्त्रण भएको र सरकारी कर्मचारीसहित सयौंलाई मुद्दा लगाएको विवरण उनले प्रस्तुत गरे । मधेसका कतिपय जिल्लाका सार्वजनिक जमिन फिर्ता ल्याएको, बालुवाटारको ललिता निवासको १ सय ३६ रोपनी जमिन हडप्नेमाथि मुद्दा दायर गरेकोलगायत कामलाई तीव्रता दिएको बताए ।
आर्थिक अनुशासन कायम गरेको, हेलो सरकारको काम प्रभावकारी भएको, राष्ट्रिय परिचयपत्र प्रणाली सञ्चालनमा ल्याएको, अनलाइन श्रम स्वीकृत प्रणालीको विकास गरेको, महिला हिंसाविरुद्धको कानुन निर्माणका क्रममा अध्यादेश जारी गरेको बताए । उनले प्रधानमन्त्री रोजगार, राष्ट्रपति शैक्षिक सुधार, राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाए । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने संकल्प व्यवहारमा लागू भएको दोहोर्याए ।
निर्वाचनमा सहभागी हुन आह्वान
प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन भएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन अस्थिरताको खेती गर्न चाहनेहरूको दाउपेच चकनाचुर हुने बताए । ‘हामी अहिले निर्वाचनका क्रममा छौं । कोहीले अझै पनि चुनाव त हुन्छ ? भन्ने प्रश्न उठाएको सुनेको छु । म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ,’ उनले भने । निर्वाचन तयारीबारे आफैं निर्वाचन आयोगमा गएर प्रत्यक्ष जानकारी लिएको भन्दै ओलीले सरकार सञ्चालनका लागि फेरि एकपटक आफूले रुचाएको दल छनोट गर्ने मौका सबैलाई आएको बताए । ‘जनतालाई साक्षी राखी गरिएका कबोलहरू पूरा गर्न म प्रतिबद्ध छु,’ उनले भने ।
अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ
आफ्नो कार्यकालमा छिमेकी भारत, चीनलागयत विश्वका विभिन्न देशसँगको सम्बन्ध सुदृढ हुँदै गएको उनको दाबी छ । आफ्नो कार्यकालमा नेपाल विश्वमा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकका रूपमा चिनिएको ओलीले बताए । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा सिंगो संसद् एक भएर राष्ट्रिय एकता प्रदर्शन गरेको प्रसंग जोड्दै उनले भने, ‘नेपालको नारा सबैसँग मित्रता, छैन कसैसँग शत्रुता ।’
१२ मुलुकमा कूटनीतिक सम्बन्ध स्थापना भएको, संयुक्त राष्ट्रसंघको महिलाविरुद्धको सबै प्रकारका हिंसाविरुद्धको समिति (सिडअ) र मानव अधिकार परिषद्मा नेपाल दोस्रो पटक निर्वाचित भएको, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको, चीनसँग व्यापारिक सम्झौता भएको, अन्तर्राष्ट्रिय फोरमहरूमा सरकारको उपस्थिति रहेकोलगायत विषयलाई पनि उनले उपलब्धिका रूपमा चित्रण गरे ।
