‘तीन वर्षमा देशलाई दुनियाँमा चिनिने र सुनिने लायक बनाएका छौं । त्यसको फेहरिस्त फागुन ३ गते सुन्नुहोला ।’
रूपन्देही — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मान्छे देखाउन र टाउको गन्नभन्दा चुनावमा गएर भोट गन्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनी पक्षधरलाई आग्रह गरेका छन् ।
बुटवलमा शनिबार आफ्नो पक्षको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले कति मान्छे ल्याउने र देखाउने भन्ने होडबाजीमा नलाग्न आग्रह गरे । ‘उहाँहरूले मान्छे हेर मान्छे हेर भन्नुभएको छ । मान्छे किन हेर्नुपर्यो ?’ उनले भने, ‘वैशाखमा चुनाव गराऊँला र बाकसबाट भोट नै गनेर देखाउँला नि !’ उनले अबको चुनावमा ५० लाख समानुपातिक मत र प्रत्यक्षमा बहुमत ल्याउने भन्दै सक्ने भए आफ्नो भोट घटाएर देखाउन दाहाल–नेपाललाई चुनौती दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवै समूहले एकपछि अर्को प्रतिस्पर्धात्मक रूपमा सभा गर्दै आएका छन् । माघ १५ गते दाहाल–नेपाल समूहले बुटवलमा सभा गरेपछि ओली समूहले शनिबार
‘जनयुद्ध दिवस’ को अवसर पारेर सभा एवं प्रदर्शन आयोजना गरेको हो । बुटवल उपमहानगरपालिका–७ दीपनगरस्थित सिद्देश्वर माविको प्रांगणमा आयोजित सभामा तयार गरिएको मञ्च र साउन्ड सिस्टममा मात्र लाखौं लगानी गरिएको थियो । फूल, ब्यानर, झन्डा र गमलाले मञ्च र अगाडिको भाग झकिझकाउ थियो । कार्यक्रम स्थलमा चारवटा मञ्च निर्माण गरिएको थियो ।
आकर्षक र खर्चिलो गरी सजाइएको मुख्य मञ्चमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा ओली समूहका प्रदेश अध्यक्ष लीला गिरीलगायत थिए । अर्को मञ्च केन्द्र र प्रदेशका सांसददेखि केन्द्रीय र जिल्ला नेताले भरिभराउ थियो । पत्रकारका लागि झन्डै ५० जना अट्ने र मुख्य मञ्चको ठीकअगाडि कलाकारका लागि अर्को मञ्च थियो । मैदानको २० प्रतिशत भागमा त मञ्चमात्रै सजाइएको थियो ।
मञ्च व्यवस्थापन समितिका एक सदस्यका अनुसार मञ्च र साउन्ड सिस्टमका लागि मात्रै झन्डै १४ लाखको सम्झौता गरिएको छ । साउन्ड सिस्टमका सञ्चालकले आफूसँग ४ लाख रुपैयाँमा सहमति गरेको बताए । ‘मेरो साउन्ड सिस्टमको ४ लाख हो,’ उनले भने, ‘मञ्च व्यवस्थापन अर्कैको हो, त्यसको खर्च छुट्टै छ ।’
प्रधानमन्त्री ओली आफू बोल्ने पालो आउनुभन्दा ९ मिनेटअघि मञ्चमा देखिए । ‘तीन दिनअघि देशभरिबाट मान्छे जम्मा गरेर हेर्न आऊ भनेछन्, आज म देशभरिको होइन, लुम्बिनी प्रदेशको यो बुटवलमा आयोजित सभामा हेर्न आउनका लागि उहाँहरूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘आउनूस् जनसमर्थन, जनसहभागिता कस्तो हुन्छ, हेर्नूस् ।’ १ घण्टा ७ मिनेट बोलेका ओलीले पहिला प्रतिनिधिसभाको विघटन र पार्टी फुटका विषयमा धारणा राखे । प्रतिनिधिसभा चल्नै नसक्ने अवस्था भएपछि संविधानअनुसार नै विघटन गरेको उनको दाबी थियो । देशमा आन्दोलन विभाजित भएको, कुनै पार्टी मजबुत नभएका बेला ५० वर्षअगाडि एकता र एकीकरणको एउटा अभियान सुरु गरेको उनले बताए । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाएर सशक्त कम्युनिस्ट पार्टी नेकपाको निर्माण गर्ने पहल गरेको तर केही मानिसले देश बनाउने होइन आफू बन्ने उद्देश्य नछोड्दा अहिलेको अवस्था आएको सुनाए । ‘आन्दोलन बलियो बनाउने र देश बलियो बनाउने होइन,’ उनले भने, ‘आफ्नो गुट बनाउने अभियान छाडेनन्, त्यस्ता गलत अभ्यासबाट अघि बढ्दै गएर उनीहरू नै अहिले पार्टी छाड्ने अवस्थामा पुगेका छन्, पार्टी छाडेर हिँडेका छन् ।’
प्रधानमन्त्री ओलीले तीन वर्षमा देशमा थुप्रै विकासका काम भएको र धेरै सुरुवात भएको भन्दै फेहरिस्त सुनाए । खर र फुसका छाना हटाएर टिनका छाना लगाएको, सिंहदरबार पुनर्निर्माण, धरहरा निर्माण अन्तिम चरणमा रहेको भन्दै उनले २०७८ साललाई भिखमंगा नभएको देशका रूपमा घोषणा गर्न लागिएको बताए । ‘तीन वर्षमा हामीले देशलाई दुनियाँमा चिनिने र सुनिने लायक बनाएका छौं,’ उनले भने, ‘त्यसको फेहरिस्त फागुन ३ गते सिंहदरबारबाट बिहान ११ बजेदेखि प्रत्यक्ष प्रसारणमार्फत दिँदै छौं, सुन्नुहोला । दिनभरिमा सकिन्छ कि सकिँदैन ।’ राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, नेपाली भूमि गाभेर बनाएको नक्सा र संविधानमा उल्लेख गरेको कुरा सत्तापक्षकै आफ्नै नेता र विपक्षले कतै उच्चारण गर्न नसकेको उनको गुनासो थियो । ‘हाम्रा विपक्षीसँग भएका यति धेरै कामको कुनै विषय छैन, एउटै विषय मात्र छ– विकासको नेतृत्व गर्ने, विकासको अगुवाइ गर्ने केपी ओलीलाई लखेटौं,’ उनले भने ।
‘हत्यारा पक्राउ पर्छन्’
प्रधानमन्त्री ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याका अपराधी केही समयमै पक्राउ पर्ने दाबी गरे । ‘हामी विश्वास गर्छौं, केही समयभित्रै अपराधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं, अपराधबाट तिनीहरू उम्किन पाउने छैनन्,’ उनले भने । हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने उनको भनाइ थियो । ‘तपाईंहरूका अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरूलाई पानीमुनि गए पनि छाडिने छैन ।’
