कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सत्ताको शक्ति प्रदर्शन

ओलीले पहिलेजसरी कसैलाई गाली गरेनन्, कटाक्ष गरेनन् । तुलनात्मक रुपमा भाषण सन्तुलित थियो, चुनावमा केन्द्रित होऔं भन्ने आह्वान थियो ।
बिनु सुवेदी

काठमाडौँ — अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तै–उस्तै छ । मौसम त पानी परेपछि एक/दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्योल हुन भने अझै केही समय लाग्नेछ ।

सत्ताको शक्ति प्रदर्शन

दिनभरि पानी पर्ला–पर्ला झैं भए पनि दरबारमार्गको चिसो भुइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्रीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुकजुरुक उठेर उनका पक्षमा नारा लगाए । भाषणमा समृद्धि र समाजवादको कुरा गरिए पनि तीन किसिमका वर्ग स्पष्टै छुट्टिने गरी कार्यक्रमस्थल मिलाइएको थियो । भुइँमा थचक्क बसेका कार्यकर्ता थिए, जो गाडीमा रातविरातको यात्रा गरेर सभाकै लागि काठमाडौं आएका हुन् । अर्को वर्ग कुर्सीमा बस्नेको थियो, जहाँ मुख्यमन्त्री, मन्त्री र स्थायी कमिटी सदस्य थिए ।तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यका लागि पनि पहिलो लहरको छेउमा कुर्सी छुट्याइएको थियो । शाक्य कार्यक्रममा नपुगुन्जेलसम्म त्यो कुर्सी खाली नै रह्यो, बस्न खोज्ने विशिष्ट पाहुनालाई सुरक्षाकर्मीले रोके । मञ्चको सोफामा बस्ने अर्को वर्गको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरेका थिए, जुन मञ्चको सजावटमा सबैभन्दा धेरै ओलीकै फोटो प्रयोग गरिएको थियो । नारायणहिटी संग्रहालयअगाडि शुक्रबार नेकपा ओली समूह वाग्मती प्रदेशले गरेको सभाबाट प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा हठात् भंग गर्ने निर्णयपछि संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति ओली प्रतिबद्ध छैनन् भन्ने संशय पैदा भइरहेका बेला उनले आफ्ना विपक्षीहरूलाई देखाइदिने भन्दै शुक्रबार गरेको आमसभामा यसप्रति आफ्नो वचनबद्धता व्यक्त गरेका हुन् । ‘शताब्दी लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको ओलीले राजतन्त्र फर्काउने घोषणा गर्छ रे !,’ प्रधानमन्त्री ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले तलमाथि पार्ने नसोचे हुन्छ । हामी यसको कार्यान्वयन गरेर जान्छौं ।’

ओलीले सम्बोधनको सुरुवातमै काठमाडौंमा अरूतिर ठाउँ सानो भएकाले ठूलो ठाउँ खोज्ने क्रममा दरबार संग्रहालयको अघिल्तिर कार्यक्रम गर्नुपरेको बताएका थिए । ‘अरूका मान्छे थोरै हुन्छन्, काठमाडौंको सबै ठाउँ ठूलो हुन्छ, हामीलाई जहाँ कार्यक्रम गरे पनि सानो हुन्छ,’ ओलीको भनाइ थियो । कसैले पनि लोकतन्त्र खोस्न नसक्ने र लोकतन्त्रको भविष्य उज्ज्वल रहेको उनले बताए । ‘लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ । नेपाली जनता सचेत छन् । देश अघि बढ्यो,’ उनले भने ।

प्रधानमन्त्री ओली मान्छेको भीडैभीड सभामा आएर दंग परिरहँदा सवारी आवागमनको अस्तव्यस्तताले नागरिक भने जो जहाँ छन्, त्यहीं थुनिएका थिए, यी नागरिक तिनै हुन् जसले बिहीबार मात्रै नेकपाको अर्को समूहले गरेको आमहडतालका कारण सास्ती भोगे ।

ओलीले भने आफूहरूलाई ‘ललकार्ने’ काम भएकाले बाध्य भएर सडकमा आएको स्पष्टीकरण दिए । ‘दुई/चार हजार मानिस जम्मा गरेर हामीलाई ललकार्ने काम भएकाले हामी सडकमा आएका हौं । बाध्यतावश आएका हौं । कार्यक्रम गर्नैपर्ने अवस्था आयो,’ उनले भने, ‘आजको सभा कास्टिङका रूपमा हो । सबै सडकमा लाउड स्पिकर राखेर आमसभा गर्नुपर्ने अवस्था आउँछ । आलोचक मित्रहरू मन थामेर बस्नुस् । हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवादउन्मुख हुन र सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन ।’

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रधानमन्त्री ओलीले गत पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि संविधानको सर्वोच्चतालाई केन्द्रमा राखेर विभिन्न पक्ष सडक आन्दोलनमा छन् । सत्ताविरोधीहरू सडकमा भइरहेका बेला प्रधानमन्त्री ओलीकै घोषणामा सत्ता पनि सडकमै मिसिन आएको हो । आफ्नो विरोधमा आन्दोलन चर्किएपछि ‘हामीसँग जनता छन् है’ भनेर देखाउन पञ्चायतकालीन शासकले २०४५/४६ ताका पञ्चर्‍याली गर्थे । अहिले ओलीले गरेका प्रदर्शनलाई धेरैले त्यस्तै पञ्चर्‍यालीसँग तुलना पनि गर्छन् । बहुदल प्राप्तियताको तीन दशकमा शासनसत्ता हातमा लिएका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहबाहेक सत्तापक्ष नै सडकमा ओर्लिएर सरकार प्रमुखको फोटो प्रदर्शनसहित शक्ति देखाएको यो पहिलो पटक हो ।

शुक्रबार ओलीको तस्बिर उनी स्वयं बसिरहेको मञ्च, सडकका पोल, कार्यकर्ताका ज्याकेट, टोपी र गलबन्दी, तुल, ब्यानर र प्ले कार्डमा छ्याप्छ्याप्ती थियो । जताततै आफ्नै प्रतिछाया र कार्यकर्ताका बेलाबेलाका चर्का नाराबाजीले ओली पुलकित भए तर आफ्ना पूर्वभाषणमा जस्तो उत्तेजित भएनन् । उनले कसैलाई गाली गरेनन्, कटाक्ष गरेनन् र चुट्किला सुनाएनन् । तुलनात्मक रूपमा उनको भाषण सन्तुलित थियो, चुनावमा केन्द्रित होऔं भन्ने आह्वान जोडदार थियो । ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनले भावुक भएर आँसु नै खसालेका थिए ।

प्रधानमन्त्री ओलीले काम गर्न नपाएपछि प्रतिनिधिसभा विघटन गरेको स्पष्टीकरण फेरि दोहोर्‍याए । ‘संसद् विघटन संविधानसम्मत् छ कि छैन भनेर बहस निकालिएको छ । जनताले बुझेको कुरा हो– काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ,’ उनले भने, ‘हाम्रै बलमा संसद्मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ ताजा जनादेशबाट खोज्नुपर्छ ।’ यसो भन्दा कार्यकर्ताले हौसिएर ताली पिटेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले नारा लगाए, ‘जनताले के भन्छ ?’ कार्यकर्ताले भने, ‘ताजा जनादेश ले भन्छ ।’

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

कामै गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्टीकरण सकिँदानसकिँदै ओलीले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै यो सरकारले इतिहासमै धेरै काम गरेको दाबी गरे । ‘यति छिटो विकास इतिहासमा कुनै सरकारले गरेको थियो ? अहिलेजस्तो काठमाडौं कहिल्यै थियो ? अहिले जति बाटो कहिल्यै बनेका थिए ?,’ उनले भने, ‘नेपालमा कोही भोकै मर्नुपरेको छैन, चाँदनी–दोधारामा सिँचाइको प्रवर्द्धन हुँदै छ, नेपालको विकास सुरुङ मार्गमा प्रवेश गर्‍यो, विद्युत्का ठूलठूला आयोजना बनेका छन् ।’ एकैछिन अघि कामै गर्न नदिएकाले प्रतिनिधिसभा भंग गरेको भनेका ओलीले इतिहासमै राम्रो काम गरेको दाबी गर्दा स्वभावतः कार्यकर्ता कुन कुरा ठीक हो भनेर अलमलमा पर्नुपर्ने हो तर उनीहरूले ओलीको यो भाषणमा पनि उसैगरी ताली ठोके ।

मञ्चमा अरूलाई होच्याउने गरी अभिव्यक्ति दिनु ओलीको स्वभावगत पहिचान छ, तर शुक्रबार उनी सन्तुलित देखिए । ओलीले यसअघि गत वैशाख १ गते नयाँ वर्षको शुभकामना दिने क्रममा सन्तुलित भाषण गरेका थिए । उनले अधिकांश समय अब चुनावमा जाने र ताजा जनादेश ल्याउने बताए । दाहाल–नेपाल पक्षधरले अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भने, ‘इतिहासमै सबैभन्दा ठूलो जनसमुदाय पहिलो पटक काठमाडौंमा छ, केही मान्छेले सोधिराख्या छन् मूल पार्टी कुन हो ? मूल पार्टी यही हो, कुन पार्टी सक्कली कुन पार्टी नक्कली भन्ने फैसला भयो अब ।’

तस्बिर : इलिट जोशी/कान्तिपुर

नेकपाको केन्द्रीय कमिटीहरूमा ओलीको स्पष्टै अल्पमत छ । तर नेकपाको कुन पंक्ति आधिकारिक हो भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ, आयोगको निर्णयले यसको पनि फैसला गर्ला । ओलीले भने सडकबाट पार्टी आधिकारिकताको फैसला गर्दै अब चुनावमा जाने र ताजा जनादेशसहित लिएर आउने बताए । उनले आफूले घोषणा गरेको मिति वैशाख १७ र २७ मा चुनाव हुन्छ भन्ने कुरामा शंका नगर्न कार्यकर्तासँग आग्रह गरे । संसद्लाई ठीक ढंगले चल्न नदिएको, संसद्लाई पंगु बनाउन थालेको, पहिलाजस्तै किनबेच, समीकरण र जोडजामको राजनीति गर्न खोजेको हुनाले काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपरेको उनले बताए । त्यसपछि ओलीले कार्यकर्तासँग सोधे, ‘अस्थिरताको राजनीतितर्फ जाने कि जनताका बीचमा जाने ?’

उनको प्रश्न भुइँमा झर्न नपाउँदै युवाको एउटा पंक्तिले भन्यो, ‘ताजा जनादेशमा जाने ।’ अनि ओलीले भाषणलाई निरन्तरता दिए, ‘अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऔं । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, अब सबैले सुने होलान्, ताजा जनादेश जसले ल्याएर आउँछ उसैको सरकार बन्छ ।’ भलै जनता भनेर प्रदेश २ बाट आएका लखतरान नागरिक भुइँमा चुपचाप बसेका थिए । ओलीले भाषण गरिरहेका बेलै सभाबाट चर्को चर्को स्वरमा ‘केपी बा आई लभ यू’ भन्ने आवाज आएपछि उनी एकछिन रोकिन्थे र फेरि भाषण सुरु गर्थे । एक पटक त ओलीले ‘अब नारा बन्द गर्नुस् म बोल्छु’ पनि भन्नुपर्‍यो ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

नाराबाजी गरिरहने कार्यकर्तालाई ओलीले के बोले भन्नेसँग सरोकार थिएन, रात्रिबसमा काठमाडौं बाहिरबाट आएकाहरूमा पर्लापर्ला झैं गरेको पानी र चिसो भुइँको कहरले उठ्ने आत्तुरी देखिन्थ्यो । सम्भवतः कार्यक्रमस्थलको संवेदनशीलता, कार्यक्रम सुरु हुनुअघि नै गरिएका अनेक आकलन र चिसो मौसमको प्रभावले होला, ओली तुलनात्मक रूपमा रक्षात्मक देखिए । उनले पुरानाशैलीका दर्शन र संस्कृतिका कुरा निकालेनन्, धर्मकर्म र संस्कारका अभिव्यक्ति दिएनन् ।

करिब डेढ घण्टा बसेर ओली बाटैभरि टाँगिएका आफ्नै फोटो हेर्दै नारायणहिटीबाट जसरी बालुवाटार फर्किए, त्यसैगरी आफैंले बोकेको ओलीको तस्बिर कुल्चिँदै सभामा सहभागी घर फर्किने गाडी चढ्न आफूलाई लिएर आएका टोली नेताको पछिपछि लागे । बाटैभरि असरल्ल ओलीको तस्बिर स्वयंसेवकले साँझसम्म समेटिरहेका थिए ।

गृहमन्त्री अझै ‘फर्म’ मा आएनन्

अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापालाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या पुष्पकमल दाहालमध्ये कसको कित्ता लिने हो स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । हुन त उनी दाहालसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न पनि सक्थे ।

तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन । उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराई ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे । थापाको यही अलमल देखेर एकचोटि दाहालले भनेका थिए, ‘उहाँ त्यता उभिनुभएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’ त्यसयता पनि कैयौं मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि दाहालको, छुट्याउनै मुस्किल हुन्छ ।

त्यहीक्रम शुक्रबार पनि जारी रह्यो । ओलीपछिको दोस्रो वरीयता पाउने चर्चामा रहेका थापाले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री पनि हुँ भन्ने चटक्कै बिर्सिए ।

उनै थापाको नेतृत्वमा रहेको गृह मन्त्रालयले बिहीबार दाहाल–नेपाल नेतृत्वले आमहडताल गर्दा मुलुकमा कुनै पनि बन्द नरहेकाले निर्धक्क हिँडडुल गर्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो ।

‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएको छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ,’ थापाले भने, ‘नयाँ आन्दोलनबाट मात्रै नेतृत्व र संविधानको रक्षा गर्न सकिन्छ ।’ उनले मांसहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताए । त्यो भनेको के हो भन्नेबारे उनले थप बुझाएनन् ।

‘मांसहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधान र कानुनले अपराधी घोषित गरेको छ । मांसहारी आन्दोलन गर्नेलाई जावलाखेलका चिडियाखानामा लगेर बन्द गरिनेछ,’ थापाले भने, ‘मांसहारी आन्दोलन गर्ने फुटवादी, गुटवादी तत्त्वलाई चेतावनी दिन चाहन्छु, तपाईंहरू दुस्साहस र अपराध गर्दै हुनुहुन्छ । त्यसमा सचेत हुन आग्रह गर्छु ।’

प्रकाशित : माघ २४, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?