प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु

रिट निवेदकहरूले लगाएको जति समय आफूहरूलाई पनि दिन महान्यायाधिवक्ता खरेलको आग्रह

माघ १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।

सोमबारदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु हुने भएको हो ।  अहिले प्रधानमन्त्रीको कदमको रक्षार्थ महान्यायाधिवक्ता अग्‍नि खरेल  बहसमा सहभागी भएका छन् । बहसमा सहभागी हुँदै उनले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको बताएका छन् । 

उनले केही रिट निवेदकले विपक्षी बनाउनु नपर्नेलाई पनि बनाएको र केही बनाउनु पर्नेलाई पनि नबनाएको बताए । त्यस्तै महान्यायाधिवक्ता खरेलले रिट निवेदकहरूले लगाएको जति समय आफूहरूलाई पनि चाहिने इजलाससमक्ष माग गरेका छन् ।

आइतबार विघटनको निर्णय गलत भएकाले त्यसको बदर हुनुपर्ने मागदाबी राखी दर्ता गरेका निवेदक र उनीहरूको पक्षमा वकालत गर्नेहरूको बहस सकिएको थियो । १३ दिनको निरन्तर बहसका क्रममा उनीहरूले प्रतिनिधिसभा प्रधानमन्त्रीको विशेषाधिकार नभएको भन्दै अहिलेको संविधानमा त्यो व्यवस्था नरहेको बताएका थिए । विघटनको निर्णयसमेत प्रधानमन्त्रीलाई नभएको उनीहरूले दाबी गरेका थिए । 

सरकारतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि सभामुखका तर्फबाट छुट्टै कानुनी प्रतिरक्षा हुनेछ । अनि रिट निवेदकहरूले आफ्नो जवाफ दिने पालो पाउनेछन् । त्यसपछि अदालतका सहयोगी भनिने एमिकस क्युरीको पालो आउनेछ ।

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully