काठमाडौँ — बारबरा फाउन्डेसनले कोरोना महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगीलगायतलाई कोभिड-१९ विशिष्ट सम्मान प्रदान गरेको छ ।
फाउन्डेसनले संस्थागत, चिकित्सक, नर्सिङ , पत्रकारिता तथा स्वास्थ्य सहयोगीलाई सम्मानित गरेको हो ।
संस्थागत विधातर्फ उत्कष्ट योगदान पुर्याएका पाटन अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालय, नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल ,नेपाल प्रहरीलाई फाउन्डेसनले विशिष्ट सम्मान प्रदान गरेको हो ।
त्यस्तै फाउन्डेसनले चिकित्सक विधातर्फ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा.डा.सुवासप्रसाद आचार्य, कोशी अस्पताल विराटनगरमा कार्यरत डा. डेनप्रसाद आचार्य र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल , टेकुका डा. अनुप बाँस्तोलालाई चिकित्सकतर्फ विशिष्ट सम्मान दिएको हो । उक्त पुरस्कारको राशी जनही १ लाख १ रुपैयाँ र ६० हजार १ सय रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ ।
नर्सिङतर्फ वीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल, अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावत, सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत नर्स भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुती शाहलाई सम्मान प्रदान गरिएको छ । उनीहरुले जनही ५० हजार १ रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै स्वास्थ्य सहयोगीतर्फको सम्मान भेरी अस्पताल नेपालगन्जकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एचए रमेश काफ्ले, आरएनए-१६ स्वयंसेवी समूह भक्तपुरलाई दिइएको छ । यस विधाको पुरस्कार राशि ५० हजार १ रुपैयाँ रहेको छ ।
