काठमाडौँ — नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा धर्ना कार्यक्रम गरेको छ ।
बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् ।
नेकपा दाहाल–नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ ।
विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।
नेकपा दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।
