कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

निवेदकलाई न्यायाधीश मल्लको प्रश्न : यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ?

निवेदक पोखरेलको जवाफ - 'सम्मानित इजलासले ध्यान दिनुपर्छ भनेको कुरामा पनि सचेत छौं । संविधानको रक्षाका लागि आउनुभएको हो, हामीले पैसा दिएर बहस गराएका छैनौं'
जयसिंह महरा

काठमाडौँ — न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा कति दिनसम्म लम्ब्याउने भन्दै निवेदकलाई प्रश्न गरेकी छन् । बुधबारको सुनुवाइमा उनले ठूलो संख्यामा कानुन व्यवसायी राखिएको र उनीहरू सबै बहसमा सहभागी हुँदा मुद्दा लम्बिएको भन्दै प्रश्न गरेकी हुन् । 

निवेदकलाई न्यायाधीश मल्लको प्रश्न : यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ?

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले इजलाससमक्ष प्रतिनिधिसभा विघटनविरुद्ध धारणा राखेपछि न्यायाधीश मल्लले भनिन्, 'यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ? एउटा मुद्दामा ३ सय कानुन व्यवसायी राख्नुभएको छ । सबैले बहस गर्दा कति समय लाग्ने हो ?'

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतका कारण लम्बियो भन्ने विषयमा इजलास गम्भीर रहेको भनाइ मल्लको प्रश्नमा झल्किएको छ । 'बहिरबाट अदालतले मुद्दा लम्ब्यायो भन्ने आएको छ । समयलाई कसरी व्यवस्थापन गर्ने हो ?,' उनले प्रश्न गरिन् ।

जवाफमा निवेदक रहेका विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा नेता कृष्णभक्त पोखरेलले त्यसमा आफूहरू सचेत रहेको बताए । उनले मुलुकको ध्यान उक्त मुद्दामा केन्द्रित भएको बताए । 'नेपालको इतिहासमा गम्भीर रुपमा राष्ट्रको ध्यान केन्द्रित रहेको विषय भएकाले बढी कानुन व्यवसायी यसमा संलग्न हुनुभएको हो । संविधान पक्षधरले ऐक्यबद्धता जनाउनुभएको छ,' उनले थपे, 'सम्मानित इजलासले ध्यान दिनुपर्छ भनेको कुरामा पनि सचेत छौं । संविधानको रक्षाका लागि आउनुभएको हो । हामीले पैसा दिएर बहस गराएका पनि छैनौं ।'

जतिसक्दो छोटो बहस गर्नका लागि कानुन व्यवसायीहरुलाई आग्रह गरिएको पोखरेलले इजलासलाई जानकारी दिए ।

यसअघि न्यायाधीश अनिलकुमार सिन्हाले पनि बहस छोटो गर्न आग्रह गरेका थिए । उनले मुद्दा जति लम्बियो सडकमा त्यति धेरै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुने कुरा राखेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा १० दिनयता संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । ठूलो संख्यामा कानुन व्यवसायीले वकालतनामा भरेकाले उक्त मुद्दाको सुनुवाइ लम्बिने सम्भावना रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा परेकामा १० दिन पुग्दासम्म ८औँ मुद्दामा बहस भइरहेको छ ।तीन दिनयता नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठले दायर गरेको मुद्दामा बहस भइरहेको छ ।

प्रकाशित : माघ १४, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?