नागरिक आन्दोलन केका लागि ?

सोमबारको आन्दोलनप्रति सरकारले देखाएको व्यवहारपछि ‘के तेस्रो नागरिक आन्दोलन सुरू भएको हो ? हो भने यसका माग र मुद्दा कहाँसम्म पुग्छन् ?’ जस्ता प्रश्न उठेका छन् ।

माघ १४, २०७७

जनकराज सापकोटा

काठमाडौँ — शिल्पी थिएटरकी रंगकर्मी पवित्रा खड्का सोमबारको नागरिक आन्दोलनमा आफ्नो आवाज मिसाउन गएकी थिइन् । प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गर्दा कसोकसो जोगिइन् । २९ वर्षीया पवित्रा कोरोना संक्रमणको महामारीमा सरकारले खेलेको भूमिका र नागरिकका कुनै पनि अपेक्षा सरकारबाट पूरा नहुने अवस्था देखेर गुम्सिएकी थिइन् ।

११ रंगकर्मीसँगै आन्दोलनमा पुगेकी उनले भनिन्, ‘हामीलाई राजनीतिको हिसाबकिताब थाहा छैन । चित्त नबुझेको कुरामा बोल्नुपर्छ भनेर आन्दोलनमा गएका हौं ।’

पवित्रा खड्का जस्तै तन्नेरी पुस्ता किन नागरिक आन्दोलनमा सहभागी भइरहेको छ ? यो प्रश्नको अन्तर्यमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमले निम्त्याएको उकुसमुकुस मात्रै छैन, नागरिकस्तरमा विकास भइरहेको छटपटी पनि छ । यस्तो छटपटीको फाइदा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि सडकमा पुगेका दलहरूले मात्रै पाउँछन् भन्ने छैन । तेस्रो जनआन्दोलन जरुरी भएको ठान्ने पवित्राले आफूजस्तै साथीहरू कुनै दल वा राजनीतिकवादको तर्फबाट आन्दोलित नभएको बताइन् ।

‘शक्ति दुरुपयोग गर्ने र मान्छेलाई मान्छे नसोच्ने प्रवृत्तिविरुद्ध हामीले बोलेका हौं,’ उनले भनिन् । सोमबारको आन्दोलनप्रति सरकारले देखाएको व्यवहारपछि के तेस्रो नागरिक आन्दोलन सुरु भएको हो ? हो भने यसका माग र मुद्दा कहाँसम्म पुग्छ ? नागरिक तहबाट गरिने प्रश्नको घेरामा प्रधानमन्त्री ओलीको कदम मात्रै परेको छ ? वा उनीसँगै हिजोसम्म सहयात्रा गरेकाहरू र विपक्षी दलसम्म पनि पुग्छ ? यस्ता प्रश्न पनि सँगै उठेका छन् ।

नागरिक आन्दोलनमा अग्रभागमा देखिएका लेखक सञ्जीव उप्रेती नागरिकका विभिन्न तह र तप्का अहिले अनेकन् मुद्दामा आन्दोलित देखिएको र यस्ता आन्दोलन जुनसुकै बेला मूल प्रवाहमा आउने अनि तेस्रो नागरिक आन्दोलनको उभार देखिने आकलन सुनाउँछन् । उनले कमलपोखरी जोगाउन आन्दोलित सम्पदाकर्मी र स्थानीय तथा आन्दोलित खोकनावासीका उदाहरण दिँदै यस्ता आन्दोलनका असन्तुष्टि नागरिक आन्दोलनमा मिसिने सम्भावना रहेको बताए ।

उप्रेतीले नागरिक आन्दोलन प्रतिनिधिसभा पुनःस्थापनामा मात्रै सीमित हुने हो वा लोकतन्त्रको मूल्य जोगाउन अरू मुद्दा पनि सँगसँगै उठाउनुपर्ने हो भन्नेबारेमा मार्गनीति तयार भइरहेको जानकारी दिए । उनले भने, ‘कस्ता भाष्य तयार गर्ने भन्नेबारे छलफल हुँदै जाला तर प्रतिनिधिसभा पुनःस्थापना मात्रैले हुँदैन ।’

लेखक उप्रेतीले सडकमा आएका दलहरूलाई पनि सुधार्न उनीहरूले वाचा नै गर्नुपर्ने अवस्था आएको बताए । ‘दलहरूसँग प्रस्ट एजेन्डा देखिँदैन । ओलीलाई हटाएर अरू कसैलाई ल्याउने हाम्रो एजेन्डा हुन सक्दैन,’ उनले भने । संविधान बनेपछिका वर्षहरूमा प्रतिगमन कहाँ–कहाँ भयो भन्नेमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले अधिनायकवादी प्रवृत्ति ओलीमा मात्रै नभएर उनीसँग सहयात्रा गरेका अन्य नेताहरूमा पनि देखिएको बताए । उनले भने, ‘यतिबेला ओलीबाट मात्रै होइन, सबै दलको भूमिकाबाट लोकतन्त्रमाथि खतरा देखिँदै गएको छ ।’ खतराहरूको यो शृंखलामा पछिल्लो समय भने ओलीतन्त्रको दमन बढ्दै जाने र क्रमशः वाक् स्वतन्त्रता खुम्चिन सक्ने भय उनले देखेका छन् । ‘त्यसैले पनि सामाजिक न्यायसहितको लोकतन्त्रका लागि हामीले बोलिराख्नुपर्छ,’ उनले भने । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमालाई सोमबारको शान्तिपूर्ण नागरिक आन्दोलनमा चिसो पानीको फोहोरा हानेको दृश्य टीभीमा देख्दा दाँतै किटिने गरी रिस उठेको थियो । दलहरूको बेहोरा, सामाजिक न्यायको थिति देख्दा आफूलाई बेस्सरी रिस उठ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो राजनीतिक कदमपछि देखा परेको अप्ठ्यारोलाई अँध्यारो सुरुङभित्र छिरेको समयको संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीले यस्तो अनिश्चयभित्र देशलाई धकेल्न नहुने बताए ।

‘प्रतिनिधिसभा ब्युँतिए पनि अनिश्चितता छ, प्रतिनिधिसभाको मृत्यु भएपछि पनि अनिश्चितता छ,’ उनले भने । उनले ‘ओली प्रवृत्ति’ भोलि अरूले पनि बोक्लान् कि भन्ने खतरा आफूले देखिरहेकाले अनिश्चितताको कुरा गरिरहेको प्रस्ट्याए । त्यसो भए अबको बाटो के हुन सक्छ त ? उनले सरल उत्तर दिए, ‘नागरिक आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना मात्रै नभनेर लोकतन्त्रको मूल्य मान्यतालाई संवर्द्धन गर्ने र संघीयतालाई हुर्काउने भनेर जुन संविधान बनाइएको थियो त्यसलाई थप प्रस्ट्याउने गरी जानुपर्छ ।’

ओलीको पछिल्लो कदमपछि पनि नेपाली नागरिक किन उठेनन् भनेर आफूले चिन्ता गरिबसेका बेला नयाँ पुस्ताका तन्नेरी पनि सडकमा देखिँदा आशावादी भएको माथेमाले बताए । उनले नागरिकमा छटपटी गुम्सिरहेको उदाहरण दिनका निम्ति ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी किन अदालतमा बहस गर्न उभिए भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने सुझाए ।

२०३२ सालमा आफूलाई तत्कालीन जाँचबुझ केन्द्रले बयानका निम्ति बोलाउँदा कानुनी सहयोग गरेका भण्डारी यो उमेरमा पनि किन लोकतन्त्र जोगाउन उठे भनेर खोज्ने हो भने नागरिकमा कतिसम्म छटपटी रहेछ भन्ने बुझ्न सकिने माथेमाको भनाइ छ । उनले प्रश्न गरे, ‘उहाँजस्तै कोठामा चुपचाप बसेको मान्छे किन सडकमा आउन तयार भइरहेको छ ?’

माथेमाले प्रधानमन्त्री ओलीको समृद्धिको बखानमा संघीयता, समानता र सामाजिक न्यायजस्ता सबै कुरा ओझेलमा परेको बताए । ‘नागरिक उठ्नै पर्ने भइसकेको थियो । यसरी उठेकालाई मण्डलेलाई जस्तो सरकारले पानीको फोहोरा हानेपछि त तेस्रो आन्दोलन आफैं उठ्ने भइहाल्यो नि,’ उनले भने । 

मानवअधिकारकर्मी मोहना अन्सारी सोमबारको नागरिक आन्दोलनका वक्तामध्ये एक थिइन् । अधिकारको पैरवी गर्ने अन्सारी सोमबारको शान्तिपूर्ण आन्दोलनले तेस्रो जनआन्दोलनको संकेत दिएको बताइन् । उनले शान्तिपूर्ण भेला हुन पाउने संविधानप्रदत्त नागरिक हकलाई कुण्ठित पार्ने प्रयास भएपछि नागरिक उठिरहने तर्क गरिन् । ‘हामीलाई दमन गरेर सरकारले के सन्देश दिन खोजेको हो भनेर खोज्नुपर्ने भएको छ,’ उनले भनिन् । 

मानवअधिकारकर्मी अन्सारीले प्रतिनिधिसभा पुनःस्थापनामात्रै नभएर संविधानकै संरक्षणका निम्ति सडकमा बोल्नुपर्ने अवस्था आएको सुनाइन् । उनले संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता सबै व्यवस्थालाई बदनाम गर्ने प्रयत्न सरकारबाट भएको उल्लेख गर्दै यहीबीचमा संवैधानिक निकायहरूलाई पनि निकम्मा बनाउने काम भएको बताइन् । उनले भनिन्, ‘यो बन्द कोठाभित्र लेनदेन गर्ने र जनताका अगाडि पारदर्शी बन्न खोजेजस्तो गर्ने सबै राजनीतिक प्रवृत्तिविरुद्धकै प्रश्न हो ।’

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully