१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘निको हुनेको मुस्कानले युद्ध जितेजस्तो हुन्छ’

यो एक वर्षलाई मसिनो गरी केलाउने हो भने नेपालको स्वास्थ्य प्रणालीको चित्र मात्रै फेला पर्दैन, ‘विश्वास गुमाएको’ सरकारी प्रणालीले गतिलो जनशक्ति पायो भने संकटमा राम्रो सेवा दिन सक्छ भन्ने पनि बुझिन्छ । 
डा. अनुप बाँस्तोला भन्छन्- बिरामीका नाममा रातोले लेखिएको कैफियतले दुःखी बनाउँछ । गत वर्ष पुसयता मोबाइलमा खिचिएका सबैजसो तस्बिर र भिडियो बिरामी, तिनको मेडिकल रिपोर्ट, बिरामीले आफन्तलाई पठाउन दिएको सन्देशका छन् ।
जनकराज सापकोटा

काठमाडौँ — चिकित्सक र उनको टिमका लागि आफूले गरेको उपचारबाट निको भएका बिरामीको मुस्कान अमूल्य छ । कोरोनाले सिकिस्त बिरामी निको भएर हात हल्लाउँदै घर फर्केको क्षण जति रमाइलो हुन्छ, अथक प्रयास गर्दा पनि कोरोना बिरामीको मृत्यु भएको क्षणले त्यति नै दु:खी बनाउँछ ।

‘निको हुनेको मुस्कानले युद्ध जितेजस्तो हुन्छ’

डा. अनुप बाँस्तोला रेकर्डको कैफियतमा रातो अक्षरले मृत्यु लेखेको देख्दा ती बिरामीलाई झलझली सम्झन्छन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भेन्टिलेटरमा २१ दिन बस्दा तीनकुनेमा वर्कसप चलाउने राजेश थापालाई जिन्दगी यति नै रहेछ भन्ने लागेको थियो । ३६ दिनपछि कात्तिक १४ मा घर फर्केपछि भने उनलाई नयाँ जिन्दगी पाए जस्तो भएको छ । कोरोना भाइरस संक्रमण भएर उपचार गराउने क्रममा थापाले निजी अस्पताल र सरकारी अस्पतालको फरक मात्रै बुझ्ने मौका पाएनन्, समग्र नेपालको स्वास्थ्य प्रणालीबारे पनि धेरथोर थाहा पाए ।

गत असोज १ गते साँझ एक्कासि ज्वरो आएपछि थापाले नजिकैको मेडिकलबाट औषधि ल्याएर खाए । कोरोना संक्रमण बढिरहेकाले उनी अस्पताल जान अनकनाएका थिए । एक सातासम्म पनि ज्वरो निको नभएपछि र स्वास्थ्य बिग्रँदै गएपछि ललितपुरको अल्का अस्पतालमा गएर छातीको एक्सरेलगायत जाँच गराए । अक्सिजन लेबल घटेको, छातीमा संक्रमण फैलिएको र उपचारका लागि तुरुन्तै भर्ना हुनुपर्ने कुरा उनले थाहा पाए ।

त्यही अस्पतालमा भर्ना हुन बेड नभएपछि उनले अक्सिजन लगाएरै दिनभर सानेपाको स्टार अस्पताल, तीनकुनेको कान्तिपुर अस्पताल, सिनामंगलको मेडिकल कलेजलगायत अस्पतालमा दौडधुप गरे । कसैले बेड छैन भने, कसैले कोरोना संक्रमित हुन सक्ने भन्दै उपचार गर्न मानेनन् । कसैले आईसीयूमै राख्नुपर्ने भन्दै त्यस्तो सुविधा नभएको बताए ।

रात परिसकेपछि बल्ल उनी नर्भिक अस्पतालमा भर्ना पाए । भोलिपल्ट २ बजेसम्मकै उपचारमा १ लाख ८८ हजार रुपैयाँको बिल उठेपछि उनी आत्तिए । अनेकतिर फोन घुमाएर आफन्तले उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याए ।

बोलीचालीमा टेकु अस्पताल भनिने यो अस्पतालले कोरोना संक्रमण सुरु भएको एक वर्षमा थापाजस्ता निजीबाट आत्तिएर आएका दर्जनौं बिरामी देखेको छ, ८ सय कोरोना संक्रमित र ३ सय ५० शंकास्पदको उपचार गरेको छ । अस्पतालले ५२ हजार ५ सयभन्दा धेरैको स्वाब परीक्षणको अनुभव पनि बटुलेको छ ।

अस्पतालले गत वर्ष पुस २८ गते कोरोना संक्रमणको उद्गमस्थल चीनको बुहानबाट आएका पहिलो संक्रमितको उपचार थालेको थियो । त्यतिबेला मास्क र ग्लोब्स पनि नलगाईकन उपचार गरिएको थियो । यही अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलालाई पछिल्लो एक वर्ष कुनै युद्ध क्षेत्रमा बिताएको समयजस्तो लाग्छ । उनको मोबाइलको ग्यालरीमा गत वर्ष पुसयता खिचिएका सबैजसो तस्बिर र भिडियो अस्पतालमा उपचार गराउन आएका बिरामी, तिनको मेडिकल रिपोर्ट, बिरामीले आफन्तलाई पठाउन दिएका सन्देशका छन् ।

कोरोना संक्रमण सुरु भएका बेला डा. बाँस्तोला फुर्सदको समय ६ महिने छोरासँग खेलेर बिताउँथे । जसै संक्रमण सुरु भयो, उनको अधिकांश समय अस्पतालमै बित्न थाल्यो । दिनभरको उपचार सकेर उनी साँझ ढल्केपछि घर त पुग्थे तर अलग्गै कोठमा सुत्थे । उनले सुनाए, ‘बीचका सात/आठ महिना त छोरालाई बोक्नै पाइनँ । त्यसबीचको उसको हुर्काइ साँच्चै मिस भयो ।’

अस्पतालमा पहिलो संक्रमित भर्ना गरेपछि शंकास्पद मानिएका ६४ जनाको परीक्षण गर्दा चैत ९ गते दोस्रो संक्रमण पुष्टि भएको थियो । त्यसपछि १० र ११ गते तेस्रो र चौथो संक्रमित फेला परे । चैत १० देखि सरकारले देशव्यापी लकडाउन गर्‍यो । छिमेकी भारतबाट आउने, लकडाउनअघि नै विभिन्न मुलुकबाट भित्रिएकाहरू सरकारी वा घरेलु क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलिन थालिसकेको थियो ।

नयाँखाले कोरोना भाइरसको संक्रमणसग जुध्नु डा. बाँस्तोलालगायत सबै चिकित्सक र स्वास्थ्यकर्मीका लागि नौलो अनुभव थियो । सुरुवाती दिनमा डा. बाँस्तोलालगायत चिकित्सकले घुँडासम्म मात्रै आउने रेनकोटजस्तो पीपीई लगाएर संक्रमितको उपचार गरेका थिए । उनीहरूसँग सामान्यखालको सर्जिकल मास्क थियो । पहिलो संक्रमितको उपचार गरेको करिब ४२ दिनपछि चिकित्सकहरूले घुँडामुनिको भाग खुलै रहेको पीपीई सेट पाएका थिए ।

‘सुरुवाती दिनमा हामीसँग भरपर्दो स्रोतसाधन थिएन । संक्रमणबारे समाजमा पनि भ्रम थिए,’ उनले सुनाए । अस्पतालका कोठामा संक्रमणयुक्त हावा बाहिर फ्याँक्न चाहिने हावा तान्ने हेपा फिल्टर नेगेटिभ प्रेसर रुमसमेत थिएन । संक्रमितको उपचार सुरु गरेपछि मात्रै अस्पतालमा सास फेर्न बिरामीलाई सघाउने १४ वटा मेसिन थपिएका थिए ।

यो एक वर्षलाई मसिनो गरी केलाउने हो भने नेपालको स्वास्थ्य प्रणालीको चित्र मात्रै फेला पर्दैन, ‘विश्वास गुमाएको’ सरकारी प्रणालीले गतिलो जनशक्ति पायो भने संकटमा राम्रो सेवा दिन सक्छ भन्ने पनि बुझिन्छ । सुरुवाती दिनमा टेकु अस्पतालमा ज्वरो आएका, रुघाखोकी लागेका सामान्य बिमारीको मात्रै चाप थियो । निजी अस्पतालले फर्काइदिएर वा निजी अस्पतालमा उपचार गर्दागर्दै गोजी रित्तिएर आएका बिमारीले पनि टेकु अस्पतालमा चाप बढायो ।

कमजोर आर्थिक अवस्था भएका त धाउने नै भए, नि:शुल्क उपचारको आशा गर्नेहरू र निजी अस्पतालको शुल्कले तर्सिएकाहरू पनि टेकुमै जम्मा भए । ‘सबैलाई त दोष दिन्नँ तर केही निजी अस्पतालले संक्रमणको सुरुवाती दिनमा न्यूनतम सेवा पनि दिएनन् । बिरामीलाई भकुन्डोजसरी हाने,’ डा. बाँस्तोलाले भने, ‘यो बिमारीमा कोरोना छैन, उपचार गरिदिनुस् भनेर हामीले पठाएका बिमारी पनि तीन/चार निजी अस्पताल धाएपछि फेरि यहीँ आउँथे ।’ एक जना संक्रमितले टेकु अस्पताल नै जाने भनेर एम्बुलेन्स चढे पनि ड्राइभरले निजी अस्पतालमा लगेर भर्ना गरिदिएको र भएभरको पैसा त्यहीँ सकिएपछि टेकु आएको उनलाई सुनाएका थिए ।

कोरोना संक्रमित संख्या बढिरहेको, संक्रमणबाट सिकिस्त हुने र आईसीयू चाहिनेको संख्या बढिरहेका बेला दुई बेडको आईसीयूका भरमा चलिरहेको टेकु अस्पतालले जेठ ३१ मा २० बेडको आईसीयू सुरु गर्‍यो अर्थात् कोरोना संक्रमितको उपचार सुरु गरेको पहिलो कोभिड डेडिकेटेड सरकारी अस्पतालले पाँच महिनापछि थप आईसीयू बेड पायो । सुरुवाती दिनमा टेकुमा विदेशबाट आएका शंकास्पद संक्रमितकै संख्या धेरै थियो । शंकास्पदको संख्या बढेपछि स्वाब संकलन गर्ने र रिपोर्ट दिने प्रक्रियामा पनि समय लाग्न थाल्यो । सम्भावित संक्रमणको त्रासमा रहेकाहरू रिपोर्ट ढिलो आउँदा रिसाउँथे । डा. बाँस्तोलाले सुनाए, ‘भर्ना भएका कतिपयले त रिपोर्ट ढिलो आउँदा झ्यालको सिसै फुटाएर भाग्छु भनेर पनि थर्काउँथे ।’

सुरुवातमा लक्षणसहितका संक्रमित अस्पताल पुग्थे, पछि लक्षणरहित संक्रमितको संख्या बढ्न थाल्यो । वैशाखको मध्यदेखि संक्रमणका कारण सिकिस्त बिमारीको संख्या बढ्यो । त्यस्ता धेरैजसो संक्रमितमा निमोनियाको लक्षण थियो । जेठ तेस्रो सातादेखि अस्पतालले केही संक्रमितलाई आईसीयूमै राखेर उपचार गर्न थालेको थियो । सुरुवाती दिनमा संक्रमितमा मनोवैज्ञानिक त्रास धेरै थियो । आफन्त भेट्न नपाउँदाको छटपटी र अनेक भ्रमले तिनीहरूलाई धेरै कमजोर बनाएको देखिन्थ्यो । कुरुवाहरू परिवारका सदस्य र आफ्ना मान्छे भेट्न नपाएको झोकमा भेटिन्थे ।

डा. बाँस्तोला भने संक्रमित बिरामीको फोटो खिच्थे । कतिपय बिमारीले आफन्तलाई भिडियोमै सन्देश छाड्थे । डा. बाँस्तोला बिमारी जाँचेपछि बाहिर आएर आफन्तलाई फोटो देखाइदिन्थे, भिडियो सन्देश सुनाइदिन्थे । सुरुसुरुमा संक्रमितहरू निको भएर जाँदा टेकुका चिकित्सकहरू फोटो खिच्थे । ‘संक्रमित निको हुँदा यस्तो खुसी लाग्थ्यो । त्यसैले फोटो खिचेर फेसबुकमा राख्थ्यौं,’ डा. बाँस्तोलाले भने ।

संक्रमितको संख्या बढ्दै गएर अस्पतालको बेड अपुग हुँदा र स्वाब परीक्षणका लागि आएकाहरूको व्यवस्थापन हुन नसक्दा भने भद्रगोल निम्तियो । डा. बाँस्तोलाले गत असोज ६ गते राति अस्पताल परिसरमा खिचेको भिडियो देखाए । त्यस रात एक जना बिमारीलाई बढी असहज भएपछि घर पुगिसकेका उनी फर्केर अस्पताल आएका थिए । अस्पताल छिर्दै गर्दा परिसरभित्र ठूलो भीड थियो । स्वाब परीक्षणका लागि आएकहरू खुला आकाशमा पातलो गम्छा ओछ्याएर सुतेका थिए । कोही चिसो सिमेन्टको सिंढीमा उँघिरहेका देखिन्थे । डा. बाँस्तोलाले कर्मचारीलाई नजिकैको पसलबाट पानी र चाउचाउ ल्याएर दिन लगाए ।

आफू र साथीहरूले उपचार गरेर घर पठाएका बिमारीले सम्झेर फोन गर्दा र कोसेली पठाइदिँदा डा. बाँस्तोलालाई रमाइलो लाग्छ । कतिपय बिमारी उनलाई कोरोनाविरुद्ध लड्ने लडाकुजस्तो पनि लाग्छ । ‘संक्रमणले गाँज्दै बिमारीलाई मृत्युकै मुखमा पुर्‍याइसकेको हुन्छ तर बिमारीको आत्मबलले हो कि केले हो, निको भइहाल्छन् । तीनकुनेका राजेश पनि त्यस्तै लडाकु बिमारी थिए,’ उनले भने ।

जब पक्का बचाउन सकिन्छ भनेर बढो मेहनतले उपचार गरिरहेको बिरामीको फ्याट्ट मृत्यु हुन्छ, डा. बाँस्तोलालाई औधी दु:ख लाग्छ । उनको मोबाइलमा उपचारका क्रममा बितेका त्यस्ता दर्जनौं बिमारीका फोटो र भिडियो छन् । तिनलाई हेर्दा अहिले पनि उनका आँखाको डिल रसिलो भइहाल्छ । अक्सिजन पाइप लगाएका, कुक्रुक्क परेर घोप्टो परेका, बाँचिन्छ कि भन्ने आशा लिएर पुलुक्क हेरेका, हात जोरिरहेका अनेक बिमारीका फोटो उनको ग्यालरीमा छन् । ‘कोरोना संक्रमितको उपचारमा हप्तौं लाग्ने भएकाले पनि चिकित्सक, नर्स र अन्य सहयोगीको बिमारीसँग भावनात्मक सम्बन्ध भइहाल्दोरहेछ,’ डा. बाँस्तोलाले भने, ‘उनीहरूलाई केही तलबितल पर्‍यो भने हाम्रो मन चस्स भइहाल्छ ।’

दलित अनुसन्धानकर्मी शिवहरि ज्ञवालीलाई गत कात्तिक १० मा कोरोना संक्रमण पुष्टि भयो । घरमै आइसोलेसनमा बसेको तेस्रो दिन उनलाई सास फेर्नै गाह्रो भयो । चिनेजानेकाले छातीको एक्सरे गर्न सुझाए । घरपायक भएकाले उनले बानेश्वरको एभरेस्ट अस्पतालमा एक्सरे गराए । चिकित्सकले एक्सरे हेर्नेबित्तिकै उनलाई तुरुन्तै आईसीयूमा भर्ना हुन सुझाए । उनी टेकु अस्पाल कुदिहाले । त्यहाँका चिकित्सकहरूले आईसीयूमा राख्नैपर्ने गरी अवस्था नबिग्रेको बताएपछि उनी ढुक्क भए । भोलिपल्ट राति १२ बजेतिर उनको पिंडौला कटकटी दुखिरहेको थियो ।

पूरै पीपीई सेटले छोपिएर राउन्डमा आएकाहरूको टोलीबाट एक जना उनको छेउमै आए । उनले ज्ञवालीलाई पाइन्ट माथि सार्न लगाए, पिंडौला मचमची माडिदिए । ज्ञवालीले भने, ‘सानो छँदा आमाले मायाले खुट्टा मालिस गरिदिएजस्तो भयो । आत्तिएको मन पनि त्यसै शान्त भयो ।’ मालिस गरेर फर्किने बेला निक्खर सेतो पीपीई सेटमा मार्करले लेखेको अक्षरबाट उनले पहिल्याए । ‘उनी त डाक्टर अनुप पो रहेछन्,’ ज्ञवालीले सुनाए, ‘सरकारी अस्पतालमा त्यति गतिलो सेवा देखेर छक्कै परेँ ।’

सक्दो उपचार गरिरहेका बेला बिमारीका आफन्तले कहिलेकाहीँ शंकाको प्रश्न तेस्र्याउँथे । तिनीहरू भन्थे, ‘यहाँ हुँदैन भने भन्नुस् है । बिमारीलाई अन्तै लैजान्छौं ।’ यस्तो शंकाले आम नागरिकको सरकारी अस्पतालप्रतिको बुझाइ झल्काउँथ्यो । ‘रातदिन नभनी बिमारीको उपचारमा खटिएका बेला यस्तो शंकाले मन खिन्न पाथ्र्यो तर पनि अझै गतिलो गर्नुको विकल्प हामीसँग थिएन,’ डा. बाँस्तोलाले भने ।

टेकु अस्पतालका चिकित्सकहरूले भोगेका अप्ठ्याराको लामो कथा छ । डा. बाँस्तोलाले फेसबुकमा आफूहरूलाई गाली गर्दै केहीले लेखेका स्टाटस पनि देखाए । केही अनलाइनमा आएका समाचार देखाए । एउटा समाचारको शीर्षक थियो, ‘कोरोना संक्रमण फैलाउँदै टेकु अस्पताल’ । उनी खिस्स हाँसे र भने, ‘संक्रमितको उपचारमा घन्टौंसम्म खटिएर पीपीई सेट खोलेपछि न्युज फिड र सोसल साइट हेर्दा निराश पनि हुन्थ्यौं तर आत्तिएनौं ।’

कोरोना कहरका बेला टेकु अस्पतालका चिकित्सकहरूले भोगेका हैरानीको लामो शृंखला छ । तीमध्ये केही व्यवस्थापकीय कारणले भएका थिए भने केही राज्यले स्वास्थ्य क्षेत्रलाई गर्ने व्यवहारले । गत मंसिर ३० गते डा. बाँस्तोला दिनभरको काम सकेर लखतरान परेर घर पुगेका थिए । अस्पतालबाट आएको खबरले उनी फेरि टेकुतिरै फर्किए । अस्पताल पूरै अन्धकारमा डुबेको थियो । ट्रान्सफर्मर पड्किएको रहेछ । भेन्टिलेटरमा भएका बिमारीलाई तीन घण्टाका निम्ति धान्ने जगेडा ऊर्जा अस्पतालमा थियो । तीन घण्टापछि पनि विद्युत् आपूर्ति नभए के गर्ने ? भेन्टिलेटरका बिमारीको जीवनको सवाल थियो ।

उनले अस्पतालको त्यतिबेलाको क्षण पनि भिडियोमा कैद गरेका छन्, जसमा चिकित्सक र नर्सहरू मोबाइलको बत्ती बालेर हिँडिरहेको देखिन्छ । डा. बाँस्तोलाले भने, ‘अप्रत्याशित अवस्थाले हामी एकछिन त आत्तियौं । मैले हत्तपत्त सेनाको अस्पताल, पाटन अस्पताल र सशस्त्रका भेन्टिलेटरमा बिमारी सार्नुपर्ने हुन्छ कि भनेर तयारी गर्न थालेँ तर धन्न बत्ती आयो र चैनको सास फेरेँ ।’

यसबीचमा दसैं आयो, तिहार आयो, अरू चाडपर्व आए तर डा. बाँस्तोलाले कुनै दिन पनि बिदा लिएनन् । उनले थपे, ‘मैले मात्र होइन, अस्पतालका कैयौँ स्टाफले बिदा लिएनन् । चाड मनाएनन् । परिवार भनेनन् ।’ दसैंको दिन उनी बिहानै टीका थापेर अस्पताल आइपुगे । सबै बिमारीसँग सोधपुछ गरे अनि कर्मचारी जम्मा भएर अस्पतालमा दसैं मनाए । टीकाकै दिन एक जना संक्रमितको मृत्यु भएपछि उनीहरू सबैलाई खल्लो भइहाल्यो । दसैंभन्दा १५ दिनअघि एक जना डाक्टर र दसैंलगत्तै पालैपालो ५ जना डाक्टर संक्रमित भए । डाक्टर नै संक्रमणमा पर्न थालेपछि उपचार नै प्रभावित हुन्छ कि भनेर उनीहरू आत्तिए । त्यसपछि उनीहरूले समूह–समूह बनाएर उपचारको नयाँ पालो बनाए ।

यो एक वर्षमा कति धेरै बिरामी आए र गए ती सबैको संख्याभन्दा पनि सम्झनाको बेग्लै अनुभूति डा. बाँस्तोलाले सँगालेका छन् । बिरामीको मृत्युपछि रोइरहेका आफन्त, तिनले संक्रमितको शव पनि आफैंले लगेर दाहसंस्कार गर्न पाउनुपर्छ भनेर राखेको माग, तिनको विह्वल अनुहार सम्झिँदा उनलाई कहिलेकाहीं त आफैंमा मानसिक बदलाव आएको छ कि भनेझैं हुन्थ्यो । यही समयमा टेकु अस्पतालले नागरिकको विश्वास पनि कमायो । डिस्चार्ज भएर जाने बिरामीले अस्पतालको पुस्तिकामा लेखेका टिप्पणी पढ्दा सरकारी अस्पतालप्रतिको नागरिकको विश्वास झल्किन्छ । २३ अक्टोबरमा डिस्चार्ज भएका बेड नम्बर २८ का बिरामीले लेखेका छन्, ‘सरकारी अस्पतालले पनि यति राम्रो सेवा दिन्छ र भनेर म त छक्कै परेँ । सरकारी अस्पतालमा यति गतिलो सेवा पाएकामा म गर्व गर्छु ।’

गरिब र विपन्नका लागि मात्रै भनिने सरकारी अस्पतालमा धनीमानी पनि सेवा लिन आउन थालेका छन् । डा. बाँस्तोलाले सुनाए, ‘१२ वर्षभन्दा बढी काम गर्दा पनि यो अस्पतालको पार्किङमा निजी नम्बरप्लेटका महँगा गाडी देखेको थिइनँ तर अहिले हरेक दिन निजी महँगा गाडी पार्क भएको देखिन्छ ।’

कोरोना संक्रमितको संख्या उकालो लागिरहेका बेला र यसबारे त्रास र अफवाह पनि फैलिरहेका बेला डा. बाँस्तोलाको फोन दिनभरजसो बजिरहेको हुन्थ्यो । अस्पतालका प्रवक्ता भएकाले पनि ती फोन सूचना लिने पत्रकारको, आफन्तको स्वास्थ्य हाल बुझ्नेहरूको, बिमारीलाई बेड मिलाउन खोज्नेहरूकोदेखि संक्रमित भएकाहरूले थप सुझाव सल्लाह लिनेसम्मका हुन्थे । उनी भने फोन बाहिरै छाडी पीपीई सेट लगाएर संक्रमितहरूको उपचारमा खटिइरहेका हुन्थे । बिहान १० बजेतिर भित्र छिरेका उनी फर्किंदा ७०/८० वटासम्म मिस्ड कल हुन्थे ।

दिनभर संक्रमितको उपचार गरेर घर फर्केपछि डा. बाँस्तोला त्यतिबेला जिल खान्छन्, जतिबेला उनी सडकमा सामाजिक दूरी पालना नगरी र मास्क नलगाई प्रदर्शन भइरहेको, हुल बाँधेर मान्छे हिँडिरहेको दृश्य समाचारमा देख्छन् । नेपालमै पनि संक्रमण घटेको पुष्टि नभइसकेको अनि बेलायतलगायत देशमा नयाँ स्वरूपको कोरोना संक्रमण फैलिएर स्वास्थ्य संकट लागिरहेका बेला यहाँ भइरहेका गतिविधिले उनको छटपटी बढाउँछ । उनले बेलायतमा चिकित्सक नै रहेका भाइले एक बिहान म्यासेन्जरमा पढेको खबर देखाए, जसमा लेखिएको थियो, ‘मेगा डिजास्टर एट टु बी कम ।’

तस्बिरहरू : केशव थापा/कान्तिपुर

प्रकाशित : माघ ५, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?