कोभिड खोपको ‘ड्राई रन’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड खोपको ‘ड्राई रन’

स्वास्थ्यकर्मीले डमी खोप पाउनेछन्, जहाँ व्यक्तिमा लगाउँदासम्मको प्रक्रिया सिकाइनेछ ।
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी (नमुना) खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’

ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी ड्राई रनको तयारी थालिएको हो । हाल मुलुकभर भण्डारण, ओसारपसारलगायत खोपसँग सम्बन्धित विभिन्न कामहरू द्रुत गतिमा भइरहेको डा. अधिकारीले बताए ।

कुल जनसंख्याको ३ प्रतिशत र त्यसपछि १७ प्रतिशतलाई समेत पुग्ने गरी खोप भण्डारण गर्ने तयारी पूरा भइसकेको उनले दाबी गरे । ‘कोभिड–१९ संक्रमितको प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा रहने अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, स्वास्थ्य निकायका कर्मचारी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत) का लागि लक्षित गरी मुलुकको ३ देखि ५ प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट छिट्टै प्राप्त हुने भएको छ,’ उनले भने ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुनेछ ।

कोभिसिल्ड खोप नेपालमा छिट्टै प्रयोग गर्न अनुकूल वातावरण निर्माणका लागि भन्दै औषधि व्यवस्था विभागले गत शुक्रबार यसलाई आपत्कालीन उपयोगमा ससर्त अनुमति दिएको छ । भारतले गत डिसेम्बर अन्तिम साता ड्राई रन सुरु गरेको थियो भने शनिबारबाट खोप अभियान नै थालेको छ ।

डा. अधिकारीका अनुसार ड्राई रनदेखि खोप लगाउने बेलासम्म तयारी र समन्वयका लागि सातवटै प्रदेशमा सहसचिवको संयोजकत्वमा समिति गठन गरी खोप अभियानको जिम्मासमेत दिइएको छ ।

प्रकाशित : माघ ५, २०७७ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ राजदूतले फेरि भेटिन् राष्ट्रपति भण्डारीलाई

शुक्रबार भएको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन्
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरूको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् । शुक्रबार भएको उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् । ‘उहाँहरूबीच भेटवार्ता भएको हो तर कुन विषयमा कुराकानी भएको भन्ने जानकारीमा आएको छैन,’ उनले कान्तिपुरसँग भने ।

नेकपाभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।

प्रतिनिधिसभा विघटन भएको केही दिनमै होउ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा भएको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न पठाएको टोलीसँग पनि होउ शीतल निवास गएकी थिइन् ।

वैशाखदेखि नै नेकपामा विवाद हुन थालेपछि राजदूत होउले नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसँग उनीहरूकै निवासमा पुगेर पटक–पटक भेटवार्ता गर्दै आएकी छन् । चीनको चाहना नेकपा नफुटोस् र नेपालमा राजनीतिक स्थिरता तथा आर्थिक विकास होस् भन्नेछ । नेकपा विभाजन भएपछि चीनबाट आएको विशेष टोलीले पनि दुई समूह अझै मिल्न सक्ने सम्भावना कति छ भन्दै दुवै पक्षसँग सल्लाह गरेको थियो ।

प्रकाशित : माघ ४, २०७७ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×