कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंमा कोरोनाको जोखिम उस्तै

काठमाडौँ — कोभिड–१९ को सबैभन्दा बढी प्रभाव काठमाडौंमा रहेकाले जनस्वास्थ्यको मापदण्ड निरन्तर पालना गर्नु आवश्यक देखिएको छ । हाल जनस्तरमा देखिएको व्यापक उदासीनताका कारण काठमाडौंमा कोभिडको दोस्रो लहरको जोखिम कायमै छ ।

काठमाडौंमा कोरोनाको जोखिम उस्तै

बिहीबार देशभरि देखिएका कुल संक्रमितमध्ये करिब आधा जति (४८.०५ प्रतिशत) काठमाडौं जिल्लाका छन् । ५ हजार १ सय ३२ पीसीआर परीक्षण गर्दा ४ सय १२ जना संक्रमित देखिएकामा काठमाडौंका मात्र १ सय ९८ जना छन् । देशभरिमा हालसम्म कोभिडले भएको कुल (१९०३ जना) मृत्युको एक चौथाइ काठमाडौंको हो ।

‘अझै काठमाडौं कोभिडको हटस्पट छ’, वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले भने, ‘देशभरि देखिएका संक्रमितमध्ये करिब एकतिहाइभन्दा बढी र मृत्युको एक चौथाइजति भार काठमाडौं जिल्लाले लिएको छ ।’ सेप्टेम्बरसम्म मोटामोटी रूपमा देशभरि देखिएको कुल संक्रमितको एक चौथाइसम्म काठमाडौं जिल्लामा थियो । अक्टोबर मध्यबाट कुल कोभिड संक्रमितको एक तिहाइभन्दा बढी काठमाडौंमा देखिएको छ ।

बेलायतमा कोभिडको लहर पुनः फैलिएको औंल्याउँदै डा.बीसीले भने, ‘हामीकहाँ त्यहाँको नयाँ भाइरस छिरेको हुन सक्ने भए पनि त्यसलाई प्रयोगशालामार्फत किटान गर्न बाँकी रहेको अवस्था छ ।’ कोभिडविरुद्धको खोप दिइरहेको बेलायतले पुनः लकडाउन गर्नुपरेको तथ्य नेपालीले बिर्सन नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए । ‘सरकारले छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्नुपर्छ भने आमव्यक्तिले मास्कको उपयोग, सामाजिक दूरी र निरन्तर हातको सफाइजस्ता मापदण्डलाई राम्ररी पालना गर्नुपर्छ,’ उनले भने ।

मुलुकका अन्य ठाउँको दाँजोमा काठमाडौंमा हालसम्म कोभिड संक्रमणको चेन नतोडिएको उनले बताए । ‘कोभिड संक्रमणको कडी तोड्नै पर्छ, हाल आशाका रूपमा देखिएको खोपसमेत संक्रमणको कडी तोड्ने एउटा औजार हो,’ उनले भने ।

मुलुकभर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितमध्ये झन्डै ६६ प्रतिशतलाई कुनै पनि लक्षण नदेखिएको पाइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरी बिहीबार सार्वजनिक प्रतिवेदनअनुसार होम आइसोलेसनमा बसेका ६५.९ प्रतिशत संक्रमितलाई लक्षण नदेखिकनै निको भएको हो ।

कोरोनाको लक्षण देखा परेकामध्ये धेरैलाई उच्च ज्वरो आउने, खोकी लाग्ने, चिसो र कमजोर अनुभव हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी, टाउको, घाँटी, जोर्नी र छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने र वाक्वाकी लागेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सामेलमध्ये १२.५ प्रतिशत सहभागीले सामाजिक दूरी कायम नगरेको बताएका छन् ।

यस्तै, ५२.५ प्रतिशत सहभागीले परिवारसँग पूर्णरूपले र ३५ प्रतिशतले कहिलेकाहीं मात्रै सामाजिक दूरी पालना गरेको पाइएको छ । कोरोना संक्रमणविरुद्ध उपचार गरिरहेका ५९.०३ प्रतिशत सहभागीले घरेलु उपचार, ५.३ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि तथा उपचार सेवा लिएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित : पुस २४, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?