१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निजी अस्पताल कोभिड सूचीबाट हटाइए

अतुल मिश्र

काठमाडौँ — सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ ।

निजी अस्पताल कोभिड सूचीबाट हटाइए

‘हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचारबापतको रकम शोधभर्ना गर्ने जनाएको छ ।

५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । ‘अहिले सबैजसो अस्पतालहरूमा कोभिड बिरामीलाई बेड, आईसीयू र भेन्टिलेटर सेवा पाउन गाह्रो छैन,’ डा. अधिकारीले भने, ‘केस कम भएको र संक्रमितहरू घरमै बस्ने गरेकाले यस्तो भएको हुन सक्छ ।’ कोभिडको जटिलताले गर्दा आइतबार देशभर २ सय ३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा गरी कुल २ सय ८८ जना सघन उपचारमा छन् । वाग्मती प्रदेशमा ८२ जना आईसीयू र २७ जना भेन्टिलेटरमा छन् ।

हाल कोभिड उपचारकै लागि देशभर १ हजार १ सय ४६ आईसीयू शय्या र ४ सय ६१ भेन्टिलेटर छ । प्रदेश १ मा १ सय १० आईसीयू र ४० भेन्टिलेटर, प्रदेश २ मा ४८ आईसीयू र २० भेन्टिलेटर, वाग्मतीमा ५ सय ५३ आईसीयू र २ सय ५५ भेन्टिलेटर, गण्डकीमा २ सय ३२ आईसीयू र ६८ भेन्टिलेटर, लुम्बिनीमा १ सय १४ आईसीयू र २७ भेन्टिलेटर, कर्णालीमा ६२ आईसीयू र २७ भेन्टिलेटर तथा सुदूरपश्चिममा २७ आईसीयू र २३ भेन्टिलेटर छन् ।

‘कोभिडको अलिकति पनि जटिल लक्षण देखिए घरमै बसेर कुर्नु हुँदैन, तुरुन्त स्वास्थ्य निकायमा भर्ना हुनुपर्छ,’ डा. अधिकारीले भने, ‘लक्षण भएकाहरू घरमै बसेर कडा अवस्था देखिएपछि मात्र ढिलो अस्पताल पुग्दा ज्यान जोगाउन गाह्रो भइरहेको छ ।’ केही समययता कोभिडको पीसीआर परीक्षणको संख्या अत्यन्त कम छ । यसैका कारण दैनिक संक्रमण दरमा कमी देखिएको विज्ञहरूले जनाएका छन् ।

देशभरमा कोभिडले आइतबार ६ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय २८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय ८१ जना (१२.५६ प्रतिशत) मा पोजिटिभ देखिएको छ । पोजिटिभ हुने दर कम भएको निष्कर्ष तत्काल निकाल्न नसकिने औंल्याउँदै डा. अधिकारीले भने, ‘संक्रमण दर किन कम भएको भनेर किटानसाथ भन्न सकिने अवस्था छैन । हामी निरन्तर रूपमा यसको सूक्ष्म विश्लेषण गर्दैछौं ।’

देशभरिमा हालसम्म २ लाख ५८ हजार १ सय ८१ जनामा कोभिड संक्रमण देखिएकामा १ हजार ८ सय २५ जना अर्थात् ०.७ प्रतिशतको मृत्यु भएको छ । कोभिड पोजिटिभ देखिएकामध्ये २ लाख ४९ हजार ८ सय ६३ जना निको भएको जनाएको छ । सरकारको दाबीअनुसार कोभिड निको भएको दर ९६.८ प्रतिशत छ ।

प्रकाशित : पुस १३, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?