कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई नागरिकता

पुस १३, २०७७

एजेन्सी

पेरिस — फ्रान्सले कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा खटिएका सयौं आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट नागरिकता दिने भएको छ । आन्तरिक मन्त्रालयले भाइरसको नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई उपलब्ध गराइने अंगीकृत नागरिकताका लागि निवेदन दिन आग्रहसमेत गरेको छ ।

अधिकारीहरूका अनुसार हालसम्म ७ सय जनाभन्दा बढीले नागरिकता पाइसकेका वा पाउने अन्तिम चरणमा रहेका छन् ।

त्यसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी, सरसफाइसँग सम्बन्धित मजदुर र विभिन्न पसल तथा सुपरमार्केटका कामदार छन् । फ्रान्समा चिकित्सक र नर्सजस्ता अग्रमोर्चामा खटिने व्यक्तिहरू उच्च दरमा कोरोना भाइरसको सिकार भएका थिए र कतिपयले ज्यान पनि गुमाएका थिए । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित १० देशमध्ये फ्रान्स एक हो । फ्रान्समा २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । भाइरसको संक्रमणका कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ६२ हजारभन्दा बढी छ । 

फ्रान्सले गत सेप्टेम्बरमा द्रुत रूपमा नागरिकता दिने अभियान सुरु गरेको थियो । हालसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेका छन् ।

अन्य ६ सय ९३ जनाले नागरिकता पाउने क्रममा छन् । हालसम्म आवेदन दिनेको संख्या २ हजार ८ सय ९० छ ।

फ्रान्समा अंगीकृत नागरिकताका लागि निवेदन दिने व्यक्ति ५ वर्ष बसेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजमा रहन बस्न सक्ने हुनुपर्ने व्यवस्था छ । तर सरकारले कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा काम गरेका व्यक्तिहरूले पुर्‍याएको महान् सेवाका आधारमा फ्रान्समा २ वर्ष बसेकै आधारमा नागरिकता दिने भएको हो ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully