चिसोले बिरामी पर्न थाले उखु किसान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले बिरामी पर्न थाले उखु किसान

पुर्जी जारी गरिए पनि पक्राउ परेनन् भुक्तानी नदिने उद्योगीहरु, उद्योगमन्त्री कारबाही नगर्न नेताहरुबाटै दबाब आयो
राजु चौधरी

काठमाडौँ — भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं उपत्यकामा आएर आइतबार आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गर्‍यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् ।

संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ तर कार्यान्वयन कहिले हुने निश्चित छैन । यता आन्दोलनरत किसान भने चिसोले बिरामी पर्न थालेका छन् ।

उखु किसानहरू संघीय राजधानी आएर दबाब दिएपिच्छे सम्बन्धित उद्योगीलाई कारबाही गर्ने र भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएर सरकारले घर फर्काउने गरेको छ । उनीहरू फर्किएपछि भने प्रतिबद्धता कार्यान्वयनका लागि पहल गरिँदैन । किसान आन्दोलनमा उत्रिएका बेला ऐक्यबद्धता जनाउने राजनीतिक दल र संघसंस्थाले पनि बिर्सन्छन् । ‘अहिले पनि निर्देशन मात्रै हुने हो कि भन्ने चिन्ता लागेको छ । तर आन्दोलनबाट पछि हट्दैनौं,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘बिरामी भएका साथीहरू पनि औषधि खाएर आन्दोलनमा आइरहनुभएको छ ।’ संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायका अनुसार माइतीघर मण्डलमा आन्दोलनरत तीन जना चिसोका कारण बिरामी भएका छन् ।

संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै उखु किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । संसदीय समितिले गत वर्ष पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

उखु किसानको आन्दोलनको समर्थनमा नाटक प्रदर्शन गरिँदै

मन्त्रालयले पनि किसानसँँग भुक्तानी दिलाइदिने सम्झौता गरेको थियो । सम्झौता र निर्देशनअनुरूप भुक्तानी नभएपछि फेरि काठमाडौं आउनुपरेको किसानको भनाइ छ । यसपालि भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्तामा बोलाए पनि उखुको रकम पाएपछि मात्रै जाने किसानहरूको अडान छ । ‘वार्तामा बस्छौं तर किसानले पैसा पाउनुपर्‍यो,’ सचिव रायले भने, ‘उद्योगीले पैसा दिएपछि केही किसानलाई गाउँ पठाएर हामी वार्तामा बस्छौं । अब वार्ताका नाममा सरकार र उद्योगीको भुलभुलैयामा पर्दैनौं ।’

किसानले निरन्तर आन्दोलन गरिरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किसान आयोगलगायतले पनि चासो दिएका छैनन् । कृषि सचिव योगेन्द्रकुमार कार्कीले अहिलेको समस्या किसान र उद्योगीबीचको भएको बताए । ‘कृषि मन्त्रालय किसानलाई तत्काल भुक्तानी गराउनुपर्ने पक्षमा छ । कृषिबाट भुक्तानी गराउनुपर्ने अनुदानको सबै भुक्तानी भइसकेको छ,’ उनले भने, ‘गृहमा मंगलबार भएको छलफलमा किसानलाई सरकारबाटै भुक्तानी दिएर उद्योगीबाट रकम असुल्नुपर्छ समेत भनेको थिएँ ।’ समस्या सुल्झाउन आफूहरूले पहल गरिरहेको उनको दाबी छ ।

२०७६ वैशाख ३१ यता उनीहरूले संघर्ष समिति नै बनाएर जिल्लामा र काठमाडौं आएर आन्दोलन गरिरहेका छन् । यसबीच केही उद्योगीले भुक्तानी गरे पनि आधा दर्जनले अझै पूरा भुक्तानी गरेका छैनन् । किसानका अनुसार अन्नपूर्ण सुगर मिल्सले १७ करोड, श्रीराम सुगरले २६ करोड, लुम्बिनी सुगर मिल्सले ८ करोड ४१ लाख र इन्दिरा सुगर मिल्सले ४ करोड ७० लाख तिर्न बाँँकी छ ।

‘कारबाही नगर्न नेताबाटै दबाब आयो’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताहरूबाटै दबाब आइरहेको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले सामाजिक सञ्जाल ट्वीटरमा किसानको बक्यौता भुक्तानी गरी न्याय दिनुपर्छ भनेर लेख्ने नेताले नै उद्योगीलाई पक्राउ नगर्न भन्दै आफूलाई फोन गरिरहेको बताए ।

‘यहाँ द्वैध चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो । न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि ठेगान लगाउन थाल्दा तिनैले फोन गरेर त्यसलाई त रोक्नुपर्‍यो, उद्योगीले तिर्छु भनेका छन्, चार दिन रोकिदिनुपर्‍यो भन्छन्,’ उनले भने । उनले यसरी दबाब दिने नेताहरूको नाम भने उल्लेख गरेनन् ।

प्रकाशित : पुस ३, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

१५ वर्षीय किशोरद्वारा ७ वर्षीया बालिका बलात्कृत

घनश्याम खड्का

म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाकी एक ७ वर्षीया बालिका १५ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् ।

बलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको छ । बलात्कारमा संलग्न भएका भनिएका किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा पठाएको छ ।

बिहीबार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाइफकाई घरमै बोलाएर बलात्कार गरेको र बालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेको प्रहरीले बताएको छ ।

‘बलात्कारका प्रमाण फेला परेका छन् । देख्नेहरु छन्,’ घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले भने, ‘पीडित बालिकाको उपचार तथा प्रमाणहरु सुरक्षित गर्न पीडकको समेत स्वास्थ्य परीक्षण पोखरामा पुर्‍याउन उपयुक्त भएकोले अस्पताल पठाएका हौं ।’

प्रकाशित : पुस ३, २०७७ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×