१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेताहरूको द्वैध चरित्रले गर्दा उखु किसानले दुःख पाए : मन्त्री भट्ट 

काठमाडौँ — लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरू माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन गरिरहेका छन् । उनीहरूको समर्थनमा दिनदिनै प्रदर्शनकारी र राजनीतिक दलहरू बढिरहेका छन् । तर चिनी उद्योगी र सरकारले भने किसानलाई बक्यौता भुक्तानी गर्ने तर्खर गरिरहेका छैनन् । 

नेताहरूको द्वैध चरित्रले गर्दा उखु किसानले दुःख पाए : मन्त्री भट्ट 

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताहरूबाट दबाब आइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा मन्त्री भट्टले सामाजिक सञ्जाल ट्विटरमा किसानको बक्यौता भुक्तानी गरी न्याय दिनुपर्छ भनेर लेख्ने नेता नै उद्योगीलाई पक्राउ नगर्न भन्दै आफूलाई फोन गरिरहेको बताएका हुन् । सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैध चरित्र देखाउने प्रवृतिले समस्या भएको उनको भनाइ थियो ।

'यहाँ द्वैध चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई । यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जब ठेगान लगाउन थाल्यो फोन आउँछ । 'होइन त्यसलाई त रोक्नुपर्‍यो, उद्योगी त तिर्छु भेनको छ, चार दिन रोकिदिनु पर्‍यो' भन्ने,' त्यस्तो गर्ने नेताहरू को हुन् भनेर नाम उल्लेख नगरी मन्त्री भट्टले थपे, 'मैले ट्विटर हेरेँ, निकै नेताहरूको किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन् अनि तिनै नेताले फोन गर्छन र उद्योगीलाई गिरफ्तार गर्न हुन्न भन्छन् । यो खालको क्यारेक्टर समस्या हल गर्न बाधक बन्यो ।’

उद्योगीहरू जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाएको मन्त्री भट्टले जानकारी दिए । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टको भनाइ थियो ।

उद्योग मन्त्रालयसँग ऐन नहुँदा गलत गर्नेलाई कानुनी दायरामा ल्याउन कठिन भएको पनि मन्त्री भट्टको भनाइ थियो । उनले भने, ‘उद्योग मन्त्रालयले उद्योगको संरक्षण र त्यसको विकास गर्नमा पहल गर्ने की नगर्ने प्रश्न पनि आउँछ । त्यसको अर्थ उद्योगीले अन्याय गर्छ भने त्यसलाई छोडने प्रश्न पनि हुँदैन ।'

उखु किसानको पैसा नदिने उद्योगीहरूलाई कडा कारबाही गरी पैसा असुल गर्नुपर्ने सांसदहरूको भनाइ थियो ।

कांग्रेसका सांसद प्रकाश रसाईलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याजसहितको रकम तिराउनुपर्ने बताए । उनले भने, ‘राज्यलाई विभिन्न बाहना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरु व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिराउर्नुपर्छ । किसानले घरजग्गादेखि बिउबिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसान चाहीँ माइतीघरमा आएर रोइरहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’ कांग्रेस सांसद भिमसेनदास प्रधानले उद्योगीको सम्पतिबाट भएपनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताए ।

जसपा सांसद अमृतादेवी अग्रहरीले एक वर्ष पहिला पनि उखु किसानको आन्दोलन भएको स्मरण गर्दै त्यतिबेला सरकारलाई निर्देशन दिएको भएपनि सरकारले मौनता साँधेको आरोप लगाइन् ।

नेकपा सांसद कृष्णकुमार श्रेष्ठले उखु किसानमाथि अत्याचार भएको भन्दै उद्योगीहरूलाई केही घण्टा समय दिएर पक्राउ गर्नुपर्ने बताए । उनले भने,‘गोदाममा चिनी छैन रे, चिनी त बेचिसकियो होला त्यो पैसा खोई ? अत्याचार भयो किसानलाई, अब दिनको कुरो होईन, घण्टाभित्रमा पक्राउ गर्नुपर्‍यो । साँवासम्म दिलाउँ । आकाशपाताल खोजेर यतिजना समातियो भन्नुपर्‍यो ।’

सांसदहरुले उखु किसानको समस्या दिर्घकालमा नआउने गरी समाधान गर्न माग गरेका छन् । उनीहरूले अहिलेको समस्या तत्काल समाधान गरी किसानलाई घर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : पुस २, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?