मस्जिद तथा मदरसाहरु खुला

पुस २, २०७७

इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोनाका कारण बन्द भएका मस्जिद तथा मदरसाहरु खुला भएका छन् । मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गरी पढ्न मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति निकाल्दै आग्रह गरेको छ । 

मठ–मन्दिर तथा धार्मिक तीर्थस्थलहरु खुलेसँगै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५  टाइमा पढिने नमाज खुला गरिएपनि धेरै भीड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनले भने, 'शुक्रबारको नमाजमा धेरै नै भीड हुने भएकाले सावधानी अपनाएर मस्जिद कमिटीलाई आफैं निर्णय गर्न भनिएको छ । '

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज, शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावी नमाज घरमा नै पढेर  सहयोग गरेकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

कोरोना भाइरस

इकान्तिपुर

Link copied successfully