कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्वास्थ्यकर्मीलाई पुनः संक्रमणको डर

 हालसम्म ५ हजार स्वास्थ्यकर्मी संक्रमित, तीमध्ये करिब ९७ प्रतिशत निको, १३ जनाको मृत्यु
अतुल मिश्र

काठमाडौँ — मुलुकमा करिब ५ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ चिकित्सकसहित १३ जनाको ज्यान गएको छ । एक पटक कोभिड–१९ पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुनः संक्रमण हुन सक्ने त्रासमा छन् । 

स्वास्थ्यकर्मीलाई पुनः संक्रमणको डर

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरिमा हालसम्म ४ हजार ९ सय ७५ स्वास्थ्यकर्मी कोभिडले संक्रमित भएका छन् । ६९ जिल्लाका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो । सबैभन्दा बढी संक्रमण राजधानीका स्वास्थ्यकर्मीमा देखिएको छ । ‘कोभिडले संक्रमित स्वास्थ्यकर्मीमध्ये ४९.०२ प्रतिशत काठमाडौं उपत्यकाका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पेसागत कारणले सामान्य व्यक्तिभन्दा कोभिडको धेरै बढी जोखिममा स्वास्थ्यकर्मी छन् ।’ कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये २० प्रतिशत चिकित्सक रहेको उनको आकलन छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्मका संक्रमित स्वास्थ्यकर्मीमध्ये करिब ३ प्रतिशत उपचारका क्रममा छन्, अरू भने निको भइसकेका छन् ।

संक्रमितकै उपचारमा खटिने स्वास्थ्यकर्मीहरू बढी जोखिममा छन् । सामान्य व्यक्तिमा नभए पनि स्वास्थ्यकर्मीमा संक्रमण पुनः हुने जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । कोभिड संक्रमितको बढी सम्पर्कमा आउने अग्रपंक्तिका स्वास्थ्यकर्मी बढी जोखिममा हुन्छन् । ‘चिकित्साकर्मी साथीहरू संक्रमण हुने र दोहोरिने जोखिममा रहेर काम गर्दैछन्,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने । लान्सेट मेडिकल जर्नलको वेबसाइटमा गत सेप्टेम्बरमा चिकित्साकर्मीमा दोस्रो पटक कोभिड संक्रमण भएको विषयमा गरिएको अनुसन्धानबारे उल्लेख छ । अनुसन्धानअनुसार कोभिड भाइरसको दोस्रो संक्रमण धेरै खतरनाक हुन सक्छ ।

दोस्रो पटक कोभिड संक्रमणसँग जुधिरहेका भारतको मुम्बईका तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमाथि यो अनुसन्धान गरिएको हो । उनीहरूले २४ देखि ३१ वर्षसम्मका हुन् । पहिलेदेखि कुनै शारीरिक समस्या पनि नभएकाले दोस्रो पटकको संक्रमणलाई उनीहरूले सजिलै जितेको बताइएको छ । दोस्रो पटक देखिएको संक्रमण पहिलेको दाँजोमा बढी गम्भीर पाइएको थियो । चारै स्वास्थ्यकर्मीको जिनोम सिक्वेन्सिङमार्फत यो अनुसन्धान गरिएको थियो । उनीहरूमा पहिलो पटक संक्रमण देखिएको २८ दिनदेखि २ महिनाभित्रमा दोस्रो पटक कोभिड संक्रमण देखिएको थियो । ‘स्वास्थ्यकर्मीलाई दोस्रो पटक कोभिड संक्रमण हुँदा पहिले जस्तै भाइरस नभए (जेनेटिक सिक्वेन्स) फरक भाइरसले समेत आक्रमण गर्न सक्छ,’ डा. कार्कीले भने, ‘यस्तोमा कोभिडविरुद्ध शरीरमा बनेको एन्टिबडीले काम गर्दैन र जटिल संक्रमण हुन सक्छ ।’

वीर अस्पतालका ४६ वर्षीय कन्सलटेन्ट फिजिसियन डा. ध्रुव गैरेलाई पहिलो चोटि कोभिड संक्रमण भएपछि फोक्सोमा फाइब्रोसिस भइसकेको उल्लेख गर्दै डा. कार्कीले भने, ‘अहिले उहाँ काममा फर्केर बिरामी हेर्दै हुनुहुन्छ तर बढी खट्दा स्वा–स्वा हुन्छ । पहिलो संक्रमणबाट उहाँको फोक्सोको क्षमता २०–३० प्रतिशत घटेकाले त्यस्तो भएको हो ।’

डा. गैरे त्रिवि शिक्षण अस्पतालमा कोभिडको उपचार गराए गत भदौ ८ गते डिस्चार्ज भएका थिए । उनलाई कोभिड संक्रमण हुनुअघिसम्म दीर्घ रोगलगायत कुनै स्वास्थ्य समस्या थिएन । उनलाई पुनः कोभिड संक्रमण भए फोक्सोको क्षमता ५० प्रतिशतमा झर्न सक्छ,’ डा.कार्कीले भने, ‘स्वास्थ्यकर्मीहरूको यस्तो जोखिमका कारण राज्यले मनोबल मात्र नभई आर्थिक सुरक्षातर्फ समेत ध्यान दिनुपर्छ ।’ सुर्खेत प्रदेश अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीलाई दोस्रो पटक संक्रमण देखिएको थियो । तर नेपालमा संक्रमण दोहोरिएको वैज्ञानिक रूपमा पुष्टि गर्ने परीक्षण छैन ।

डा. गैरेले आफूमा सुधार भइरहेको र स्वास्थ्य सुरक्षा अपनाएर काममा फर्केको बताए । ‘तर पूर्ण निको भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘म र म जस्तै पहिले संक्रमित भइसकेका स्वास्थ्यकर्मीहरू कतिखेर पुनः संक्रमित भइन्छ कि भन्ने त्रासबीच काम गरिरहेका छौं ।’ हाल अस्पताल आउने कुल बिरामीमध्ये करिब ३० प्रतिशतसम्म कोभिड संक्रमित हुने गरेका छन् । उनीहरूको सोझो सम्पर्कमा स्वास्थ्यकर्मी रहने भएकाले संक्रमण र पुनः संक्रमणको उच्च जोखिम छ ।

नेपालमा चिकित्सक, नर्स, पारोमेडिक्स र स्वीपर गरी ४ जना स्वास्थ्यकर्मीलाई कोभिडको पुनः संक्रमण देखिएको डा. गैरेले बताए । ‘पहिलो पटक संक्रमण हुँदा उहाँहरूले होम आइसोलेसनमा बसेर उपचार गराउनु भएको थियो, दोस्रो पटक संक्रमण हुँदा आईसीयूमा राखेर उपचार गराउनुपर्‍यो ।’

सरकारले कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीको संक्रमणले मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ राहत दिने गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको अनुसार यस्तो राहत पाउन स्वास्थ्यकर्मी सरकारद्वारा कोभिड अस्पतालका रूपमा तोकिएको निजी वा सरकारी स्वास्थ्य निकायमा कार्यरत भएको हुनुपर्छ । कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिने गरिएको छ । ‘स्वास्थ्यकर्मी कोभिड संक्रमित भए बिमाअन्तर्गत समेत १ लाख रुपैयाँ दिने गरिएको छ,’ डा.अधिकारीले भने, ‘कोभिड उपचारमा रहेका स्वास्थ्यकर्मी संक्रमित भए मुलुकमा उपलब्ध जस्तोसुकै उपचार निःशुल्क गरिन्छ ।’

प्रकाशित : मंसिर १६, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?