मोडर्नाले माग्यो खोप प्रयोगको अनुमति- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोडर्नाले माग्यो खोप प्रयोगको अनुमति

एजेन्सी

न्युयोर्क — कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो ।

यसअघि फाइजरले खोप प्रयोगको अनुमति माग्दै अमेरिकामा आवेदन दिइसकेको छ । मोडर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपत्कालीन प्रयोगका लागि स्वीकृति (ईयूए) को माग गरेको र यसलाई युरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर ससर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ ।

बेलायतको नियमनकारी निकायले फाइजर तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेका दुइटा खोप प्रयोगका लागि अनुमति दिने/नदिनेबारे तथ्यांकहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।

बीबीसीका अनुसार मोडर्नाले बेलायतमा आफ्नो खोप प्रयोगका लागि चाँडै नै अनुमति पाउने आशा व्यक्त गरेको छ । मोडर्नाले ३० हजार जनामा खोपको अन्तिम चरणको परीक्षण गरिएको र गम्भीर प्रकारका असरहरू नदेखिएको जनाएको छ ।

बेलायतले हालसम्म मोडर्नाको ७० लाख डोज, फाइजर तथा बायोएनटेकको ४ करोड तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको १० करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । सरकारले ७ विभिन्न कम्पनीका कुल ३५ करोड ७० लाख डोज खोप सुरक्षित गरिसकेको छ ।

प्रकाशित : मंसिर १६, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

पोखरेल एआईजीमा सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् ।

गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् ।

एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्रीपछि नेतृत्वमा पुग्ने बाटो पनि खुलेको छ ।

गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले एआईजीको एक र डीआईजीमा ५ वटा पद थपेर नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पारित गरेको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×