पूर्वी पहाडी जिल्लाका संक्रमित घरमा आफैं जोगिएर बस्नुपर्ने अवस्था
ताप्लेजुङ — कात्तिक २७ मा स्वाब संकलन गराएका ह्युमन प्राक्टिस फाउन्डेसनका लेखापाल दिवस भण्डारीको कोरोना रिपोर्ट ३० गते आयो । संक्रमण पुष्टि भएपछि उनी फुङलिङ नगरपालिका–४ स्थित घरमै आइसोलेसनमा बसे ।
अहिले ज्वरोलगायतका लक्षण हटेको छ । मंसिर ५ मा पुनः परीक्षणका लागि स्वाब दिएका उनलाई नतिजा नेगेटिभ आउने आशा छ । तर संक्रमण पुष्टि भएपछि सरोकारवाला निकाय वा व्यक्ति कतैबाट पनि सोधखोज नगरिएकोमा भने गुनासो छ । ‘स्वाब दिएपछि आफैं सुरक्षित भएर घरमा बसें, त्यसपछि न त कुनै स्वास्थ्यकर्मीले तपाईंको अवस्था कस्तो छ भनेर सोधे, न कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका कुनै सदस्य वा प्रशासन कार्यालयका कर्मचारीले नै,’ उनले भने, ‘कसैले औषधिउपचार यसो गर्नुहोस् सम्म पनि नभन्दो रहेछ । समस्या आइहाल्यो भने विराटनगरसम्म पुग्न एम्बुलेन्स चाहिन्छ भनेर चालकलाई भनिराखिदिन आफन्तलाई आफैं आग्रह गरें ।’
पाथीभरा याङवरक, सिदिङवा र सिरिजंघा गाउँपालिका घर भएका क्रमशः मंगल मेन्याङवो, नरेन्द्र कटवाल र लक्ष्मी भट्टराई एकै ठाउँमा बसेका छन् । नरेन्द्रलाई संक्रमण पुष्टि भएपछि परीक्षण गर्दा मंगल र लक्ष्मीमा पनि संक्रमण देखियो । पुरानो बैंकलाइन छेउमा एउटै कोठामा बसेका उनीहरू एकअर्काको भरमा छन् । ‘मलाई र मंगलजीलाई चाहिँ ठीक हुँदै गएको छ,’ नरेन्द्रले भने, ‘लक्ष्मीजीलाई चाहिँ अलि गाह्रो भएको छ । उहाँलाई खोकीको समस्या छ ।’ स्वास्थ्य र प्रशासनिक निकायबाट आफूहरूले पनि अपेक्षाकृत सहयोग पाउन नसकेको उनले गुनासो गरे ।
‘अस्पतालका डाक्टरलाई बेला–बेला फोन गरिरहेका छौं,’ उनले भने, ‘आज (आइतबार) भने फोन उठाउनुभयो र खोकीको औषधि पठाइदिनुभएको छ ।’ खोकी बढ्दै गए के गर्ने भन्नेमा परामर्श लिइरहेको मंगलले सुनाए ।
ताप्लेजुङ मात्रै होइन, छिमेकी पाँचथरमा पनि संक्रमितको अवस्था उस्तै छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका उद्योग वाणिज्य संघ, पाँचथरका अध्यक्ष दीपक नेपालले अरूको हौसला पाए पनि चिकित्सकबाट कुनै परामर्श नपाएको गुनासो गरे । उनले फेसबुकमा लेखेका छन्, ‘बिरामीका बारेमा जानकारी लिने र लक्षणलगायत कुराहरू एकोहोरो सोधे पनि अहिलेसम्म डाक्टरसाबहरूबाट केही काउन्सिलिङ भएको छैन । पहुँच नभएकाहरूलाई त्यसको जरुरत छ भन्ने लागेको छ ।’ उनले पाँचथर जिल्ला अस्पताललाई कोभिड अस्पतालका रूपमा विकास गर्न, आईसीयू, भेन्टिलेटर र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
कम्तीमा ५० थान भए पनि अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्नुपर्ने उनको सुझाव छ । होम आइसोलेसनमा रहेका बेला पाँचथरकै मिक्लाजोङ र हिलिहाङ गाउँपालिकामा दुई जनाको मृत्यु भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
सामान्य स्वास्थ्य सेवाका लागि पनि पूर्वका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र इलामका संक्रमितको भर तराईका जिल्ला नै हुन् । यहाँका संक्रमितलाई अक्सिजन दिनुपर्ने वा अन्य जटिल समस्या देखिए धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोभिड अस्पताल पुर्याउनुपर्छ । ताप्लेजुङबाट विराटनगर वा धरान पुर्याउन एम्बुलेन्समा कम्तीमा १२ घण्टा लाग्छ । यी जिल्लामा अहिले पनि पीसीआर परीक्षणको सेवा उपलब्ध छैन । स्वाब संकलन गरी गाडी रिजर्भ गरेर परीक्षणका लागि धरान र विराटनगर पठाउने गरिएको छ । जसका कारण स्वाब पठाएको ५/६ दिनमा मात्रै रिपोर्ट आइपुग्छ । ताप्लेजुङदेखि विराटनगरसम्म गाडी रिजर्भ गर्दा १४ हजार रुपैयाँ लाग्छ । तराईका जिल्लामा आफैंले पैसा तिरेर परीक्षणको सुविधा भए पनि पहाडमा त्यो अवसर छैन ।
भौगोलिक विकटता र स्वास्थ्य सेवा दिन पनि अनेक झन्झट भएकै कारण स्थानीयस्तरमा मास्क लगाउन, हात धुन वा सेनिटाइजर अनिवार्य गरौं भनेर आफूहरूले जोड दिएको जिल्ला अस्पतालका डा. सोनिम लामा बताउँछन् । अस्पतालले गर्ने सहयोगमा कमी नभएको र अस्पतालमा भर्ना भएका संक्रमितलाई निको बनाएर पठाएको उनको दाबी छ । हाल पूर्वी पहाडका जिल्लामा मात्रै एक सयको हाराहारीमा सक्रिय संक्रमित छन् ।
