खोप परीक्षणको नतिजाले जगायो आशा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप परीक्षणको नतिजाले जगायो आशा

नवीन पोखरेल

लन्डन — कोभिड–१९ विरुद्ध खोप विकास गरिरहेका वैज्ञानिकहरू सफलताको नजिक पुगेका खबर आउने क्रम जारी छ । खोपको प्रभावकारिताबारे गरिएको तेस्रो तथा अन्तिम चरणको मानव परीक्षणको नतिजा सकारात्मक देखिएसँगै विश्वभर आशा जागेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोभिड—१९ विरुद्धको खोपले ६० देखि ७९ वर्ष उमेर समूहका मानिसमा बलियो रोगप्रतिरोधी प्रतिक्रिया देखाएको बिहीबार अनुसन्धानकर्ताले जनाएका छन् । उक्त उमेरसमूह भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको समूह हो ।

बीबीसीका अनुसार खोप परीक्षण क्रममा सहभागीलाई १८ देखि ५५ वर्ष, ५६ देखि ६९ वर्ष र ७० वर्षमाथि उमेर समूहमा विभाजन गरिएको थियो तर ७० वर्षमाथिका वृद्धवृद्धामा पनि १८ देखि ५५ वर्ष उमेर समूहका जस्तै भाइरस प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ । परीक्षणमा सहभागी ९९ प्रतिशतमा खोपको दोस्रो डोज लगाएको दुई सातामा एन्टीबडी विकास भएको थियो । अनुसन्धानकर्ताले ५ सय ६० जना स्वस्थ वयस्कमा गरिएको खोप परीक्षणको नतिजा ‘उत्साहजनक’ भएको पनि जनाएका छन् ।

उक्त खोपको तेस्रो चरणको परीक्षण अझै जारी छ । तेस्रो चरणको खोप परीक्षण गरिसकेका कम्पनीहरू फाइजर र बायोएनटेक, स्पुतनिक, सिनोभ्याक बायोटेक र मोडेर्नाले राम्रो प्रारम्भिक नतिजा देखाएको बताएका छन् । अमेरिकी फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले विकसित गरेको कोभिड–१९ विरुद्धको खोपले ६५ वर्षमाथिका ९४ प्रतिशत बिरामीलाई जोगाउने बताइएको छ । अन्तिम चरणमा रहेको उक्त खोप परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी थिए । तीमध्ये आधालाई खोप र आधालाई ‘प्लेसबो’ दिइएको थियो ।

तेस्रो चरणमा जारी परीक्षणले सबै उमेरसमूह र जातीय पृष्ठभूमिका मानिसमा बराबर काम गरेको पनि ती कम्पनीको दाबी छ । उनीहरूले आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिट्टै अनुमति लिइने जनाएका छन् ।

कोभिडविरुद्धको खोप उत्पादनमा अग्रमोर्चामा रहेको अमेरिकी कम्पनी मोडेर्नाले विकसित गरेको खोपले ९५ प्रतिशत बिरामी निको हुने जनाइएको छ । सो खोप भण्डारण र ओसारपसार गर्न फाइजरभन्दा सजिलोसमेत देखिएको छ । मोडेर्नाको खोप घरायसी वा क्लिनिकको फ्रिजमा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा ६ महिनासम्म राख्न सकिनेछ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप १० करोड डोज, फाइजर र बायोएनटेकको ४ करोड डोज र मोडेर्नाको ५० लाख डोज अग्रिम अर्डर गरिसकेको छ ।

उता चीनको सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोगप्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको थियो । उक्त खोप मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताको दाबी छ । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोप तयार गरिरहेको छ ।

बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल पछिल्ला समाचारमा विश्वास गर्न सकिने प्रशस्त आधार देख्छन् । ’अन्तरिम समीक्षाको नतिजामा शुभ संकेत छ तर सबै उमेर समूह, लिंग वा जाति विशेषलाई काम गर्छ, गर्दैन हेर्नुपर्ने हुन्छ,’ अर्यालले कान्तिपुरसँग भने ।

प्रकाशित : मंसिर ५, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

यस वर्षको बुकर पुरस्कार डग्लस स्टुवार्टको ‘शगी बेन’ लाई

इकान्तिपुर डेस्क

काठमाडौँ — स्कटिस–अमेरिकी लेखक डग्लस स्टुवार्टले यस वर्षको बुकर पुरस्कार पाएका छन् । स्टुवार्टको डेब्यु उपन्यास ‘शगी बेन’ लाई प्रतिष्ठित बुकर पुरस्कार प्रदान गरिएको हो । ‘शगी बेन’ आफ्नै भोगाइ र अनुभवमा आधारित उपन्यास हो । 

यस वर्ष बुकर पुरस्कारको अन्तिम सूचीमा डायन कुकको ‘द न्यु वाइल्डरनेस’, अवनी दोषीको ‘बन्र्ट सुगर’, ब्रान्डन टेलरको ‘रियल लाइफ’, माजा मेङ्गित्सेको ‘द स्याडो किङ’, र सित्सी डाङ्गारेम्बाको ‘दिस मोर्नेबल बडी’ थिए ।

यी पुस्तकमध्येबाट निर्णायकहरुको स्टुवार्टको शगी बेनलाई यस वर्षको बुकर पुरस्कार दिने निर्णय गरेका हुन् । यस वर्षको निर्णायकमा मार्गरेट बस्बी, ली चाइल्ड, लेम सिसे, समीर रहिम र इमिली विल्सन थिए । निर्णायक मण्डलकी अध्यक्ष मार्गरेट बस्बीले निर्णायकमण्डलले सर्वसम्मतले स्टुवार्टको उपन्यासलाई विजेतका रुपमा छनोट गरेको हो ।

स्टुवार्टले मेडलका साथै ५० हजार पाउन्ड पाउनेछन् । उपन्यासमा स्टुवार्टले सन् १९८० को दशमा ग्लास्गोमा गरिबीसँग लडिरहेकी एउटी आमालाई सघाउने सानो बालकको कथा समेटिएको छ । ४४ वर्षीय उपन्यासकार स्टुवार्टले आफूले पाएको पुरस्कार आफ्नी आमाप्रति समर्पण गरेका छन् । उनी १६ वषको हुँदा अत्यधिक मद्यपानका कारण उनकी आमाको निधन भएको थियो ।

स्कटल्यान्डको ग्लास्गोमा हुर्किएका स्टुवार्ट अहिले न्युयोर्कमा बस्दै आएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×