१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

खोप खरिदको तयारी छैन

२ करोडभन्दा बढी व्यक्तिलाई खोप आवश्यक हुने प्रारम्भिक अनुमान छ । खोपका लागि करिब ६० अर्बजति खर्च लाग्न सक्छ । यसका लागि को खडा गर्न सुरसार छैन ।
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ को खोप खरिद तयारीका लागि तत्काल कोष निर्माण गर्नुपर्ने विज्ञहरूले बताएका छन् । विभिन्न देशले कोरोना भाइरसविरुद्धको खोप निर्माण अन्तिम चरणमा पुर्‍याएका बेला सरकारले यसको आयातका लागि आवश्यक कोष (बजेट) निर्माणको तयारी गरेको छैन ।

खोप खरिदको तयारी छैन

नेपालमा प्रयोगशाला प्रमाणित कोरोना भाइरस संक्रमितको संख्या बिहीबार २ लाख १५ हजार २० पुगिसकेको छ भने हालसम्म संक्रमणले १ हजार २ सय ७६ जनाको मृत्यु भइसकेको छ । विज्ञहरूले कोभिड खोपको अग्रिम खरिद, व्यवस्थापन, ढुवानी, तालिमलगायत प्रक्रियामा खर्च गर्न तुरुन्त कोष निर्माण गर्नुपर्ने बताएका हुन् ।

‘कोभिड खोप ल्याउन सरकारले तत्काल कोष निर्माण गर्नु अत्यावश्यक छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘सहुलियत मूल्य वा सशुल्क खोप उपलब्ध भए पनि वा निःशुल्क खोप पाइए पनि योसँग सम्बन्धित अन्य प्रक्रियाका लागि कोष आवश्यक छ ।’

हाल नेपालमा कोभिड खोप खरिदका लागि आवश्यक व्यवस्थापकीय चुनौतीसमेत छ । पाकिस्तानले बुधबार मात्र कोरोना भाइरस खोपको अग्रिम खरिदका लागि १० करोड डलरको कोष बनाएको छ । बंगलादेशलगायत अन्य मुलुकले पनि कोभिड खोपका लागि कोष निर्माण गर्ने योजना अघि सारेका छन् । खोप खरिद गर्दा त्यो कति सुरक्षित छ, मूल्य कति पर्छ, उपयोग गर्नु कति सुविधाजनक छ ? हामीसँग भएको संरचना र जनशक्ति अनुकूल छ वा छैन, यसमा निर्भर गर्ने भए पनि हाल पहिलो काम खोपका लागि कोष निर्माण गर्नु आवश्यक छ ।

अधिकांश खोपको उत्पादकले अनुसन्धान र विकासको खर्च खोपको मूल्यमै राख्ने गर्दा र नाफाका लागि निर्माण गर्दा सुरुका दिनमा झन् बढी मूल्य तिर्नुपर्ने अवस्था हुने डा. वन्तले बताए । मुलुकको आवश्यकता पहिचान गरेर त्यसैअनुसार खोपको कोषमा लगानी गर्नुपर्ने अवस्थासमेत देखिएको छ । खोप चरणबद्घ रूपमा ल्याउने वा एकै पटक ल्याउने अथवा लाइनमा बस्नुपर्ने समय अन्दाज गरी त्यहीअनुसार कोष तयार गर्नुपर्ने हुन्छ ।

‘खोप निर्माण गर्ने कम्पनीहरूद्वारा यसलाई कम मूल्यमा उपलब्ध गराउने घोषणाका बाबजुद हामीले यो आशा राख्नु हुन्न कि खोप निःशुल्क नै प्राप्त हुन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘तत्काल कोभिडको खोपका लागि राष्ट्रिय खोप कार्यक्रमभन्दा पृथक् बृहद् कोष आवश्यक छ ।’

तेस्रो चरणको ट्रायलमा सफलता पाउनासाथ हाल विश्वमै कोभिड खोपका लागि ठूलो अभाव हुने अवस्था रहेको उनले औंल्याए । ‘अमेरिकाले आफ्ना जनतालाई पहिले कोभिड

खोप दिने भनिसकेको छ,’ उनले भने, ‘हामीले खोपका लागि भारत र चीनसँग बढी समन्वय गर्नुपर्छ ।’ बेलायतमा तेस्रो चरणको परीक्षण भइरहेको ‘नोवाभेक्स’ खोपको एक अर्ब मात्रा भारतले बुक गरिसकेको र रुसको गैमलेया रिसर्च इन्स्टिच्युटसँग समेत स्पुतनिक–५ खोपका लागि भारतले सम्झौता गरिसकेको उनले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार नेपालले कोभिडका लागि तुरुन्त कोष खडा गरेर कम्तीमा पनि एक करोड मात्रा खोप बुक गरेर किन्ने पहल छिटै गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार १४ वर्षमुनिका बाहेक अन्यलाई कुनै न कुनै समयमा कोभिडको खोप चाहिन्छ । हाल २ करोडभन्दा बढी व्यक्तिलाई खोप आवश्यक भएको प्रारम्भिक अनुमान छ । पछिल्लो प्रारम्भिक आकलनअनुसार खोपका लागि करिब ६० अर्बजति खर्च लाग्न सक्छ । कोरोना भाइरसको खोपको मूल्य निर्धारण भने भइसकेको छैन ।

किन्नजस्तै चुनौती भण्डारणको पनि हुने विज्ञहरूले बताएका छन् । यो खोपलाई अत्यन्त चिसोमा भण्डारण गर्नुपर्ने भनिएको छ । ‘कोभिडका लागि तयार गरिराखिएको केही ‘एमआरएनए’, खोप माइनस २० डिग्री सेन्टिग्रेड वा माइनस ८० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्ने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ का प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘यसले वितरण लागत र परिचालनमा जटिलतालाई बढाउँछ । अत्यन्त चिसोमा राख्नुपर्ने खोपको वितरण २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने खोपको दाँजोमा ३ देखि ६ गुणा महँगो छ ।

हालसम्म तेस्रो चरणको ट्रायलमा अमेरिकास्थित बायो टेक्नोलोजी कम्पनी मोडर्नाको खोप ‘एमआरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत र फाइजर कम्पनीको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको कम्पनीले दाबी गरेका छन् । यस्तै रुसले निर्माण गरेको स्पुतनिक खोप ९२ प्रतिशत प्रभावकारी रहेको समेत दाबी गरिएको छ ।

अक्सफोर्डको खोप बूढापाकाका लागि उपयोगी

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाद्वारा विकसित कोभिडको खोप ५६–६९ उमेर समूहकाहरू र ७० वर्षभन्दा माथिकाहरूको रोग प्रतिरोधक क्षमतामा महत्त्वपूर्ण सुधार गर्न प्रभावकारी देखिएको छ ।

‘लेन्सेट’ मेडिकल जर्नलमा बिहीबार यो खोपसँग सम्बन्धित जानकारी प्रकाशित भएको हो । यो अध्ययनमा ५६० स्वस्थ वयस्कलाई सामेल गरियो र के पाइयो भने ‘सीएचएडीओएक्स–१ एनकोभ–१९’, खोप युवा वयस्कको दाँजोमा बढी आयु समूहका व्यक्तिका लागि उत्साहजनक छ । यो खोपले बढी उमेर समूहका व्यक्तिमा कोभिड भाइरसविरुद्ध रोग प्रतिरोधक क्षमता विकास गर्न सक्छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?