होम आइसोलेसनमा उपचार पाउनै गाह्रो- समाचार - कान्तिपुर समाचार

होम आइसोलेसनमा उपचार पाउनै गाह्रो

कोभिड अस्पतालमै संक्रमितलाई जाँच्न ओपीडी सेवा नहुँदा होम आइसोलेसनमा बस्नेले उपचार पाउन समस्या भएको हो ।
दीपक परियार

पोखरा — होम आइसोलेसनमा बसिरहेकी पोखरा–३२ की ५२ वर्षीया कोरोना संक्रमित महिलालाई दुई–तीन दिनदेखि रिंगटा लाग्न थाल्यो । टाउको गह्रुँगो भयो । बान्ता आयो । टेलिमेडिसिन सेवा लिइन् तर त्यति प्रभावकारी देखिएन । कोभिड अस्पतालमा जाँच गर्न जाने निधो गरिन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितलाई जाँच गर्ने ओपीडी सञ्चालन नगरिएको जवाफ पाइन् ।

कोभिड अस्पतालमै संक्रमितलाई जाँच्न ओपीडी सेवा नहुँदा होम आइसोलेसनमा बस्नेले उपचार पाउन समस्या भएको हो । होम आइसोलेसनमै बस्ने तर स्वास्थ्यमा समस्या देखिँदा अस्पताल गएर जँचाउन चाहने संक्रमितले समस्या भोगेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोभिड विशेष अस्पतालमा संक्रमितको लागि मात्रै छुट्टै ओपीडी नरहेको बताए । ‘संक्रमितलाई केही समस्या आए अस्पतालको आइसोलेसनमै बस्नुपर्छ,’ उनले भने, ‘अस्पताल आएर जँचाएर फेरि घरै फर्किन्छु भन्ने सुविधा छैन ।’ अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. बुद्धि लामिछाने सरकारले संक्रमितका लागि छुट्टै ओपीडी सञ्चालन गर्ने संयन्त्र विकास गर्नुपर्ने बताउँछन् ।

सरकारले स्थानीय तहका स्वास्थ्य कार्यालयले होम आइसोलेसनमा बस्नेको नियमित अनुगमन गर्ने भनेको छ । स्थानीय तहले हाल होम आइसोलेसनमा बस्नेको ज्वरो र अन्य स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने गरेको छ । रक्तचाप, अक्सिजन लेभल भने संक्रमित स्वयंले नाप्नुपर्ने अवस्था छ । त्यससँग जानकार नभएका र उपकरण खरिद गर्न नसक्ने संक्रमितले ती दुवैको नाप गर्दैनन् । पोखरा महानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र त्यस्ता संक्रमितसम्म पुग्न सकेको छैनन् ।

पोखरा–३२ मा रहेको सहरी स्वास्थ्य केन्द्रकी प्रमुख मीरा बस्नेतले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नहुँदा संक्रमितको घरमै गएर स्वास्थ्य जाँच गर्न अप्ठ्यारो भएको बताइन् । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्थाबारे नियमित रेकर्ड राखे पनि घरमै गएर जाँच्न असम्भवजस्तै भएको बताए ।

‘हामी संक्रमितसँग नियमित सम्पर्कमा रहन्छौं,’ उनले भने, ‘केही समस्या परे एम्बुलेन्सको व्यवस्था गर्न, चिकित्सकसँग परामर्श गर्न, अस्पताल पुर्‍याउन सहजीकरण गर्छौं ।’ कोभिड अस्पतालमा कोरोना ओपीडी नहुँदा संक्रमितलाई अन्य रोग देखापरे उपचार नपाउने अवस्था रहेको उनले स्विकारे । उनका अनुसार महानगरपालिकामा झन्डै १ हजार १ सय जना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

खोपले जगाएको आशा र सरकारले लिनुपर्ने अग्रसरता

सम्पादकीय

कोरोना भाइरसको संक्रमणले संसारभर महामारीको रूप लिन थालेदेखि नै सम्पूर्ण विश्वले यसलाई रोकथाम गर्ने खोपको प्रतीक्षा गरिरहेको छ । सबैको आशाका नजर खोप परीक्षण गरिरहेका कम्पनीहरूमा छन् । पछिल्लो समयमा केही कम्पनीले आफूले परीक्षण गरेको खोप अन्तिम चरणमा पनि सफल भएको जनाएपश्चात् त्यसले संसारभर ठूलो उत्साहको सञ्चार गराएको छ ।

विश्व बजारमा अब निकट भविष्यमै खोप उपलब्ध हुने निश्चितजस्तै भएको छ । भलै, यसको दीर्घकालीन प्रभाव कस्तो रहन्छ भन्ने टुंगो अहिल्यै लगाउन सकिन्न । नेपालमा भने खोप ल्याउने व्यवस्था कसरी र कहिलेसम्म मिलाइनेछ, यकिन छैन । तसर्थ, हाम्रो उत्साह त्यतिबेला मात्रै सार्थक हुनेछ, जब सरकारले मुलुकमा यथा समयमै खोप ल्याउनेछ वा त्यसको प्रबन्ध मिलाउनेछ । र, आवश्यक परेकाहरूको त्यसमा सुलभ ढंगले पहुँच स्थापित हुनेछ ।

पछिल्लो समय नेपाल यो विश्वव्याधिको ठूलो चपेटामा छ । संक्रमण दर उच्च छ । जनसंख्यासित तुलना गर्दा भारतमा भन्दा पनि यहाँ संक्रमित बढेका छन् । निको हुने दरका हिसाबले पनि नेपाल दक्षिण एसियामा पुछारतिरै पर्छ । गम्भीर बिरामीकै लागि अस्पतालमा बेड अभाव हुन थालेको निकै भैसक्यो । तैपनि सरकारले परीक्षण मात्रा बढाएको छैन, ‘कन्ट्याक्ट ट्रेसिङ’ नै पनि प्रभावकारी ढंगले गरेको छैन । यसैले पनि खोप बहुप्रतीक्षित बनेको हो । तर यसको अर्थ, संक्रमणको साङ्लो चुँडाल्न अहिले गर्नुपर्ने कार्यहरू पनि उचित ढंगले नगरीकन खोप मात्रै कुरिबस्नुपर्छ भन्ने होइन । अहिले आवश्यक पर्ने सम्पूर्ण प्रतिकार्यहरू गर्दै खोप ल्याउने तयारीलाई पनि तीव्र बनाइनुपर्छ । हिजोका दिनमा पीसीआर परीक्षण र व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्री खरिद गर्दाको जस्तै अनियमितता र ढिलासुस्ती भोलिका दिनमा खोप भित्र्याउँदा देखिनु हुन्न । सरकारले विगतको आफ्नै गल्तीबाट पाठ सिक्दै विश्वबजारमा उपलब्ध भएलगत्तै नेपालमा पनि सहज र विवादरहित हिसाबले खोप ल्याउन उपयुक्त पहल गर्नुपर्छ ।

खासगरी, अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत तथा २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भनिएपछि नेपालमा जस्ता मुलुक बढी आशावादी भएका छन् । यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा दिइने जनाइएको छ । यसअघि ९० प्रतिशत व्यक्तिमाथि सफल भएको भनिएको फाइजर कम्पनीले तयार गरेको खोपलाई भने माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने चुनौती छ । यस्तै, रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल कोभिड–१९ विरुद्घ २ सय १२ खोप उत्पादनमा काम भइरहेको छ । यीमध्ये चार दर्जन खोपको ‘क्लिनिकल’ परीक्षण भइरहेको छ, तिनमा पनि दर्जन जति अन्तिम चरणमा छन् । सामान्यतया अरू रोगका लागि वर्षौं लाग्ने खोप उत्पादन कोभिड–१९ का लागि यति छिट्टै सम्भव देखिनु पनि आफैंमा उपलब्धि हो । अब यो उपलब्धिको लाभ नेपालीले पनि कसरी समयमै पाउने भन्नेमा सरकार केन्द्रित हुनुपर्छ ।

खोप सुरुआती चरणमा छँदै कैयौं मुलुकले विभिन्न कम्पनीसित यसको पूर्वमाग गरिसकेका छन् । नेपालले अहिलेसम्म त्यस्तो कुनै अग्रसरता देखाएको छैन । बल्ल खोप आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश ल्याइएको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन आवश्यक पर्ने औषधि अध्यादेश बुधबार राष्ट्रपतिबाट जारी भएको हो । अध्यादेशमार्फत औषधि ऐन २०३५ को दफा ९ ‘क’ मा अन्य मुलुकमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएको औषधि र खोपलाई नेपालमा पनि सहजै ल्याउन सकिने व्यवस्था गरिएको छ । यसरी प्रयोग गरेको औषधि वा खोपबाट कुनै असर देखिए रोक लगाउन सकिने प्रावधान पनि यसमा छ । अध्यादेशले अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने कानुनी बाटो पनि खोलेको छ ।

आपत्कालीन अवस्थामा आम जनताका लागि औषधि र खोप सहज होस् भनेर कानुन संशोधन गरिनु आफैंमा स्वागतयोग्य कदम भए पनि अब गरिने कामहरू खास अर्थपूर्ण हुनेछन् । मन्त्रिपरिषद्ले यसअघि नै कोभिड–१९ रोकथामका लागि समयमै खोप आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरिसकेको छ । समितिले कहाँ–कहाँ खोप बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउन सकिन्छ भन्नेबारे अध्ययन तथा तयारी गरिरहेको बताइएको छ । यो अवस्थामा अबको सबाल हाम्रा लागि सहज र उपयुक्त हुने खोप छनोट र त्यसको समयमै आपूर्तिको हो । यसका लागि सरकारले विश्वव्यापी खोप सुविधा सुनिश्चित गर्ने ‘कोभाक्स’ प्रणालीसित पनि उचित समन्वय गर्नुपर्नेछ । खोप आयात गर्ने मात्र होइन, त्यसको भण्डारण र ओसार–पसारमा पनि उचित तयारी थाल्नुपर्नेछ । आम रूपमै सुलभ नभैसक्दासम्म कुन–कुन चरणमा क–कसलाई खोप लगाउँदै जाने भन्नेमा पनि सरकार प्रस्ट हुनुपर्छ । स्वाभाविक रूपमा सुरुमा जोखिम बढी भएकाहरू अर्थात् कोरोना रोकथाम र उपचारमा अग्रपंक्तिमा खटिने र वृद्धवृद्धालाई यो प्रक्रियामा सहभागी गराइनुपर्छ । र, आजैबाट प्राथमिकताअनुसार संरचना निर्माण र जनशक्तिमा ध्यान दिनुपर्छ । मुख्य विषय, भोलि विश्व बजारमा खोप आइसक्दा पनि नेपालले भने आपसी गलफत्ती र बहानाबाजीमै समय गुजार्ने अवस्था आउनु हुँदैन, त्यसका लागि अहिलेबाटै सम्बन्धित सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×