नरैनापुरमा परीक्षण शून्य

नेपालगन्ज — पहिलो चरणमा हटस्पट बनेको बाँकेको दुर्गम नरैनापुर गाउँपालिका र नेपालगन्जसँग जोडिएको डुडवा गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको अभिलेख सार्वजनिक गरिएको छ ।

नरैनापुरमा परीक्षण शून्य

लामो समयदेखि कोरोनाको संक्रमण नदेखिएको भन्दै नरैनापुरले विद्यालय खोल्ने तयारी गरिरहेको छ । तर, संक्रमण शून्यमा झर्नुको कारण भने कोरोना नियन्त्रण भइसकेको होइन । ती पालिकामा पीसीआर परीक्षण गर्न पूर्ण रूपमा बन्द गरिएपछि संक्रमण शून्यमा झरेको देखिएको हो ।

नरैनापुरमा गत जेठसम्म संक्रमितहरूको संख्या एक सयभन्दा नाघेको थियो । एक जनाको मृत्यु भयो । त्यस्तै डुडवामा पनि संक्रमितहरूको संख्या बढेपछि आइसोलेसन अभाव भएको थियो । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएयता नरैनापुर र डुडवाका कसैले पनि परीक्षण नगराएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले जनाएका छन् ।

‘पहिलो चरणमा कोरोनाको संक्रमण क्वारेन्टाइनमा फैलिँदा धौधौ भएको थियो । तर, तीन/चार महिनायता एक जना पनि परीक्षणका लागि आएका छैनन्,’ नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले भने, ‘कोरोनाको लक्षण छ भनेर पनि कोही सम्पर्कमा आएका छैनन् ।’ सुरुमा क्वारेन्टाइन धान्नै समस्या भएको पालिकामा अहिले कोही पनि क्वारेन्टाइन र आइसोलेसनमा छैनन् । ‘पीसीआर परीक्षण नगरेपछि संक्रमण कसरी देखिन्छ ? संक्रमण नदेखिएपछि आइसोलेसन खाली हुने नै भए,’ खाँले भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो समय कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि नेपालगन्जका ७४ जना होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?