पोखरामा कोरोना संक्रमित थप ३ को मृत्यु

मंसिर ४, २०७७

दीपक परियार

पोखरा — पोखरामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनलाई कात्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनिया, हाइपरटेन्सन, मधुमेह लगायत समस्या थियो ।

यस्तै, बिहीबार बिहान पोखरा–९ की ८९ वर्षीया कोरोना संक्रमित महिलाको पनि निधन भएको निर्देशनालयले पुष्टि गरेको छ । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचारको क्रममा उनको निधन भएको हो । उनलाई कात्तिक २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । बाइल्याटरल निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्याबाट समेत उनी पीडित थिइन् । 

बुधबार साँझ लमजुङको बेंसीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको हो । गण्डकीमा बिहीबारसम्म १ सय ३० कोरोना संक्रमितको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully