नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

‘नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुन्छ’
मकर श्रेष्ठ

काठमाडौँ — अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो । 

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ । ‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा भनिएको छ ।

क्लिनिकल ट्रायल भन्नाले नयाँ औषधि तथा खोप प्रयोगमा ल्याउन उचित छ/छैन भन्ने यकिन गर्न रोगी वा अन्य व्यक्तिको सहमतिमा प्रयोग गरी परीक्षण गर्नु हो । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि ऐनको दफा ३१ संशोधन गरी अन्य मुलुकमा अनुमति प्राप्त खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्न सकिने गरी अध्यादेश जारी भएको बताए । ‘यसअघि यो व्यवस्था थिएन,’ उनले भने ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अध्यादेशमा राखिएको व्यवस्थापछि खोप उत्पादन गर्ने कम्पनी वा मुलुकलाई नेपालमा पनि क्लिनिकल ट्रायलका लागि प्रस्ताव गर्न सकिने बताए । ‘कानुनी अड्चनले अहिलेसम्म कोही आउनै चाहेका थिएनन्,’ उनले भने, ‘अब आउन चाहनेलाई सरकारले स्वीकृत दिन सक्ने भयो ।’ नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुने उनले बताए ।

महामारीका बेला आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा खोप ल्याउने बाटो पनि सहज बनाइएको छ । अध्यादेशमा कोरोनालगायत अन्य महामारीका बेला आवश्यक पर्ने औषधि र खोप सहजै आयात गर्न मिल्ने व्यवस्था राखिएको हो । संघीय संसद् सञ्चालन नभएकाले औषधि र खोप उत्पादन हुनेबित्तिकै सहजै ल्याउन कानुन संशोधनका लागि सरकारले अध्यादेशको प्रस्ताव गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

महानिर्देशक भट्टराईले अध्यादेशमार्फत औषधि ऐन २०३५ को दफा ९ मा ‘क’ अन्य मुलुकमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएको औषधि र खोपलाई नेपालमा पनि सहजै ल्याउन सकिने व्यवस्था गरिएको जानकारी दिए । ‘महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम र नियन्त्रण निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा स्वीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि तथा खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ अध्यादेशमा भनिएको छ ।

यसरी प्रयोग गरेको औषधि वा खोपबाट कुनै असर देखिए रोक लगाउन सकिने प्रावधान पनि राखिएको छ । यसबाहेक औषधि प्रयोग गर्न अनुमति दिने निकाय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य मुलुकले अनुमतिमा रोक लगाए नेपालमा पनि प्रयोग गर्न रोक लगाउने व्यवस्था गरिएको छ । आपत्कालीन अवस्थामा आम जनताका लागि औषधि र खोप सहज होस् भनेर कानुन संशोधन गरिएको महानिर्देशक भट्टराईले बताए ।

यो अध्यादेशअनुसार नयाँ भ्याक्सिन ल्याउन चाहने कम्पनीले अनुमतिका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिनुपर्नेछ । विभागले औषधि सल्लाहकार समितिको बैठकबाट स्वीकृत गरेर अनुमति दिने निर्णय गर्छ । यसअघि आपत्कालीन प्रयोजनका लागि औषधि आयात गर्ने प्रावधान थिएन ।

प्रकाशित : मंसिर ४, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

‘आत्मनिर्भर अर्थतन्त्रमा हाम्रो समूहले काम गर्नेछ’

आर्थिक पुनरुत्थानका लागि हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन । सबैसँग मिलेर काम गर्ने र प्रभावकारी रिजल्ट दिनकै लागि मैले उम्मेदवारी दिएको हुँ –रामचन्द्र संघाई
कान्तिपुर संवाददाता

काठमाडौँ — यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्ष पदका उम्मेदवार हुन् रामचन्द्र संघाई । यो पदमा उनी सौरभ ज्योतिसँग प्रतिस्पर्धा गर्दै छन् ।

चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना र उनीमाथि लाग्ने गरेका आरोपमाथि केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्यविमल खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :

महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा तपाईं चुनाव लड्दै हुनुहुन्छ । तपाईंका चुनावी एजेन्डा के–के छन् ?

३६ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न छु । नेपाल उद्योग वाणिज्य महासंघमा १५ वर्षदेखि कार्यकारिणी सदस्य भएर काम गरिसकेको छु । उद्योग व्यवसाय र महासंघमा काम गर्दा मैले धैरे खालका अनुभव लिएँ । त्यसकारण यस पटक मैले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । उद्योग व्यवसायका लागि काम गर्नु नै मेरो मुख्य एजेन्डा हो । देशमा सञ्चालनमा रहेका उद्योग व्यवसायमा विभिन्न किसिमका समस्या छन् । रोजगारदाता र श्रमिकबीच पनि विभिन्न समस्या आइपर्दा रहेछन् । कहिले माग दाबीका कुरा, कहिले ज्याला, कहिले प्रतिस्पर्धाका विषयमा समस्या आउँछन् । त्यसकारण कस्ता–कस्ता किसिमका समस्या आउँछन्, त्यसलाई कसरी समाधान गर्दै लग्ने भनेर हामीले काम गर्नुपर्नेछ । जुन कुरा हामीले तत्काल समाधान गर्न सक्छौं, गरिहाल्नुपर्छ । त्यस्ता मुद्दालाई सरकारसमक्ष कसरी प्रस्तुत गर्ने र त्यसलाई कुन तरिकाले समाधान गराउन लगाउने भनेर केन्द्रित हुनेछ । श्रमिक पनि नमर्ने र रोजगारदाताले पनि उत्साहपूर्वक ठूलो लगानी गर्न सक्ने वातावरण बनाउन जरुरी छ । यही नै मेरो मुख्य एजेन्डा छ ।

अर्को एजेन्डा आन्मनिर्भर अर्थतन्त्रसँग सम्बद्ध छ । त्यसका लागि नेपाली उत्पादन धेरैभन्दा धेरै निर्यात हुने वातावरण बनाउन जरुरी छ । म आफैं पनि निर्यात उद्योग चलाइरहेको छु । मेरा चार वटा उद्योग निर्यातमुखी छन् । हाम्रो ग्रुपले तेल, दाल र चिया निर्यात गरिरहेको छ । अहिले देशमा आयात धेरै छ । निर्यात थोरै छ । निर्यातलाई कसरी बढाउन सक्छौं भनेर काम गर्नुपर्नेछ । हामीले सबैभन्दा धेरै निर्यात गरेर देखाइसकेका छौं । सरकारले पनि महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मानसमेत गरिसकेको छ । हामीले प्रमाणित गरिसकेका छौं । मुख्य कुरा काम गरेर देखाउनुपर्छ । काम गर्नका लागि सरकारबाट वातावरण पनि बनाइनुपर्छ । त्यसका लागि निजी क्षेत्रबाट साझा एजेन्डालाई सरकारसमक्ष प्रस्तुत गर्ने, समाधान गर्ने, हामीले लगानी गरेको पुँजीलाई कसरी सुरक्षित गर्ने भन्नेमा जोड दिनछु ।

कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र थिलथिलो छ । खासमा महासंघमा तपाईंहरूले अर्थतन्त्र उकास्ने एजेन्डा अघि सार्नुपर्ने होइन र ?

हो, कोभिड–१९ का कारण हाम्रो अर्थतन्त्रमा साह्रै नराम्रो प्रभाव परेको छ । अब पुनरुत्थानका लागि हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन । यस्तो अवस्थामा काम गर्नकै लागि आसन्न उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएटतर्फ उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको हुँ । तर महामारी र प्राकृतिक विपत्तिमाथि हामी कसैको नियन्त्रण रहन्न । तर एक दिन विश्व नै अवश्य पनि कोभिड–१९ बाट मुक्त हुनेछ । यस्ता विपत्तिबाट जोगिनका लागि हामीले आत्मनिर्भर अर्थतन्त्रमै केन्द्रित हुनुपर्छ । आज भइरहेको समस्याबाट हामी उद्योगी तथा सबै देशवासीले समेत सिकेको एउटै पाठ आत्मनिर्भरता हो । यसका लागि र देशको विकासका लागि मेरो अनुभव वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको समूहले काम गर्नेछ ।

तर तपाईंको ‘त्रिवेणी ग्रुप’ ले लगानी नगरेको सायद कुनै पनि क्षेत्र छैन । तपाईं आफ्नै लगानी संरक्षण गर्नुपर्ने भएकाले सरकारसँग निजी क्षेत्रका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्नु हुन्न भन्ने आरोप छ नि ?

महासंघको कुनै पनि पदमा वाणिज्य क्षेत्रमै सक्रिय व्यक्ति आउने हो । मेरो धेरै क्षेत्रमा लगानी छ भनिसकेपछि म उद्योग वाणिज्यमा उपयुक्त व्यक्ति हो कि होइन ? हाम्रो ग्रुपमा आज १५/१६ हजार परिवारले काम पाएका छन् । हाम्रा विभिन्न किसिमका व्यवसाय छन् । सेवामूलक, उत्पादनमूलक, कृषिमूलक, बैंकिङ, व्यापार सबै खालका उद्योग छन् । कुनै पनि त्यस्तो क्षेत्र छैन कि जुनमा हामीले लगानी नगरेको होस् । यति हुँदाहुँदै मैले निजी क्षेत्रका एजेन्डा प्रभावकारी रूपमा लग्न सक्दिनँ भनेर कसले भन्छ ? मलाई हरेक व्यापार व्यवसायको अनुभव छ । म मात्रै होइन, हाम्रो समूहमा दोस्रो पुस्ता पनि आइसकेको छ । मेरा छोराछोरी पनि काममा आइसकेका छन् । त्यसैले म जुन पदमा उठेको छु, त्यसमा त म बढी समय दिन सक्छु । समस्यालाई एजेन्डाका रूपमा सरकारसमक्ष लग्न सक्छु ।

तपाईं लामो समय काठमाडौंमा रहेर व्यापार व्यवसाय गरिरहनुभएको मान्छे । जिल्ला नगरका व्यवसायीका ससाना समस्याबारे तपाईंलाई खासै थाहा छैन, पकड पनि छैन भनिन्छ नि ?

मलाई केही उद्योगी व्यवसायी साथीहरूले पनि यो प्रश्न गरेका छन् । तिनीहरूलाई पनि म भन्न चाहन्छु कि देशभर मेरो उद्योग व्यवसाय फैलिएको छ । सबैभन्दा बढी शाखा भएको बैंकको सञ्चालकका रूपमा म अहिले काम गरिरहेको छु । बिमाको कुरा गर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्सका शाखा नेपालभर फैलिसकेका छन् । सिमेन्ट, चियाको व्यापार देशभर छ । हरेक कुरा नेपालभर फैलिएको छ । त्यसकारण यसबारे मसँग कन्फ्युजनमा नपर्दा हुन्छ । म एसोसिएटतर्फ उपाध्यक्ष उठ्दै छु । मेरो मुख्य सरोकार भनेकै रोजगारदातासँग हुन्छ । म अब हरेक प्रदेश घुम्ने योजनामा पनि छु । सबैसँग भेट्छु । जिल्ला/नगरका धेरै साथीहरूलाई चिनेको छु । मैले उहाँहरूलाई निराश पार्नेछैन ।

तपाईंले महासंघमा हालसम्म कुनै पनि क्षेत्रगत समितिमा रहेर काम गर्नुभएको छैन । साथै तर्कसंगत ॅलबिइङ’ गर्न सक्नुहुन्न भन्ने आरोप पनि लाग्ने गरेको छ नि, के भन्नुहुन्छ ?

मैले महासंघका केही समितिमा १५/१६ वर्षसम्म काम गरेको छु । महासंघको नेतृत्वदायी भूमिकाको समिति जोडबल गएर नलिएको हो । मैले हालसम्म आफ्नै उद्योगलाई बढाउँदै गएँ । मैले मेरा उद्योगमा मिहिनेतसाथ काम गर्नु भनेको महासंघको कुनै एउटा समिति जस्तै हो कि होइन ? मैले जति पनि अनुभव बटुलेको छु, समितिभन्दा कम छ ? आज म १४/१५ हजार परिवारलाई सँगै लिएर हिँडिरहेको छु । त्यो समिति के कम छ ? मसित कुन किसिमको अनुभव कम छ, त्यो बताइदिए हुन्छ । मसँग कुनै अनुभव नभएको भए आज यत्रो ठूलो क्षेत्र हामीले समेट्न सक्दैनथ्यौं । सामूहिक स्वार्थका लागि जब ‘लबिइङ’ को आवश्यकता पर्छ, त्यो बेला यस्तो आरोप कुनै हालतमा सही हुँदैन । म जुन पदमा उठेको छु, त्यसमा बसेर मैले सबै समस्याको ‘लबिइङ’ गर्नुपर्छ । सामूहिक र मेरो आफ्नो समस्या त एउटै हो ।

तपाईं निर्वाचत हुँदा महासंघको रोजगारदाता परिषद्को अध्यक्ष हुने हो । अहिलेको अवस्थामा वर्तमान रोजगारीलाई नै निरन्तरतासँगै नयाँ रोजगारीका अवसर सिर्जना गर्नु छ । यसमा के–कसरी काम गर्ने योजना बनाउनुभएको छ ?

नयाँ रोजगारी पनि हामीले सिर्जना गर्ने हो । यसमा दुई मत छैन । रोजगारी सिर्जना गराउने कुरामा त हामी पहिल्यैदेखि नै लागिपरिरहेका छौं । व्यक्तिगत रूपमा कुरा गर्ने हो भने म आज नयाँ केही लगानी गर्छु भने त्यसबाट केही न केही रोजगारी सिर्जना हुन्छ कि हुँदैन ? आज हामी जस्ता व्यवसाय गर्नेबाटै रोजगारी सिर्जना हुन्छ । तीन–चार महिनासम्म लकडाउन भयो । अहिले पनि हामी कोभिडकै महामारीमा छौं । आज पनि हामी दुःख गरेर आफ्ना उद्योग व्यवसायलाई चलाइरहेका छौं । केही उद्योग ७० प्रतिशतसम्म सञ्चालन भइरहेका छन् । केही उद्योग ३०/४० प्रतिशतसम्म पनि सञ्चालनमा छन् । हामी आफ्नो संस्थाको ध्यान नगरी मूल्यमान्यताहरूलाई फलो गरेर चलाइरहेका छौं । त्यसैबाट धेरैले रोजगारी पाएका थिए । उनीहरूलाई बचाउने नै हाम्रो मुख्य उद्देश्य हो । भोलिका दिनमा सामान्य अवस्था पनि आउँछ होला । आशा भन्ने कुरा मार्नु पनि हुँदैन । पर्यटन क्षेत्र खुल्नेबित्तिकै हाम्रा होटल रेस्टुरेन्ट खुल्दै छन् । ती पनि सञ्चालन भइसक्छन् । त्यही भएर रोजगारी सिर्जना हुन्छ नै । नयाँनयाँ होटल खुलिरहेका छन् । सिमेन्टदेखि लिएर विभिन्न उद्योग पनि सञ्चालनमा छन् ।

तपाईं र वरिष्ठ उपाध्यक्षको पदमा सहमतिको सम्भावना कत्तिको छ ? आफ्ना प्रतिस्पर्धीलाई के भन्न चाहनुहुन्छ ?

सम्भावना हरेक ठाउँमा जीवित रहन्छ । सहमति र सम्भावना कुनै नराम्रो होइन । सहमतिमा म भएँ भने धेरै राम्रो हुन्छ । चुनाव भनेको प्रजातान्त्रिक अभ्यास हो । बरु चुनाव भएर कुनै व्यक्ति आउँछ भने त्यो झनै राम्रो कुरा हो । चुनाव जितेर आएको व्यक्तिले अझ राम्रो गरी काम गर्न सक्छ । निर्वाचनमा सहमति–असहमति दुवै सम्भावना हुन्छ । तर सहमतिका लागि मेरो जानकारीमा केही छैन ।

प्रकाशित : मंसिर ४, २०७७ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×