‘रुघाखोकीको लक्षणलाई सामान्य रूपमा नलिऔं’

कार्तिक २८, २०७७

फातिमा बानु

काठमाडौँ — अघिल्ला वर्षहरूमा जाडो मौसम सुरु हुनासाथ मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्थे । चिकित्सकले बिरामी हेरेको अनुभवमा यो वर्ष भने समुदायमा मौसमी फ्लु फैलिएको छैन ।

लक्षण सबै साझा हुने भएकाले कोरोना संक्रमणलाई पनि फ्लु मानेर परीक्षण नगर्नु खतरनाक भएको चिकित्सक बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार यो मौसममा इन्फ्लुएन्जा जस्ता संक्रमण फैलाउने भाइरस सक्रिय हुने भए तापनि संसारभर नै यो रोगका बिरामी निकै कम देखिएका छन् । ‘अहिले मानिसहरू मास्क लगाउने, भीडभाडमा कम बस्ने र सरसफाइ गर्ने अभ्यास गरिरहेका छन् । यस्ता मापदण्ड अपनाएपछि मौसमी रुघाखोकी लाग्ने सम्भावना निकै कम हुन्छ,’ उनले भने, ‘अघिल्लो वर्षमा यतिखेर हामीले इन्फ्लुएन्जाका धेरै बिरामी हेरिसकेका थियौं ।

यो वर्ष यो रोगका बिरामी छैनन् भन्दा पनि हुन्छ, त्यसैले अहिले लक्षण देखियो भने कोरोना हो कि भनेर परीक्षण गरिहाल्नुपर्छ ।’ बिनापरीक्षण कोरोना र फ्लु छुट्याउने कुनै आधार नभएकाले रुघाखोकी मात्रै लाग्यो भने पनि आइसोलेसनमा बस्ने, लक्षण देखिएको एक साताभित्रै पीसीआर परीक्षण गराइहाल्नुपर्ने उनले बताए ।

‘समुदायमा एकाध कसैलाई मौसमी रुघाखोकी होला तर सर्न सक्ने सम्भावना भने छैन,’ डा. सुवेदीले भने, ‘स्कुलहरू बन्द भएकाले बच्चाहरूमा सर्ने कुरै भएन । भेटघाट कम छ, त्यसैले अहिले जे छ कोरोना संक्रमण नै छ, बिनापरीक्षण ढुक्क भएर बस्नु हुँदैन ।’ कोरोना संक्रमण र रुघाखोकीको भ्रम चिर्न सरकारी पक्षबाट कुनै कदम नचालिएकाले सर्वसाधारण बिनापरीक्षण बसेर संक्रमण अझै बढिरहेको उनले बताए । 

भाइरल संक्रमण नै होला भनेर सामान्य लक्षण भएका केही व्यक्तिहरूको परीक्षण गर्दा ती सबैमा कोरोना संक्रमण पुष्टि भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘वर्षौंदेखि मौसमी रुघाखोकीका बिरामी हेरेको हुँ, नौ महिनादेखि कोरोना संक्रमित जाँचिरहँदा पनि मैले यी दुई रोगबीच खासै फरक पाइनँ,’ उनले भने, ‘आँखा दुख्ने र गन्ध थाहा नपाउने केही भिन्नता देखिए पनि यसैलाई आधार मानिहाल्नु हुँदैन ।

बास्ना हराउने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने सबै लक्षण साझा हुन् ।’ फाटफुटबाहेक अहिले समुदायमा कसैलाई पनि भाइरल इन्फेक्सन नभएकाले लक्षण देखिनासाथ क्वारेन्टाइनमा बस्ने, पीसीआर परीक्षण गरिहाल्न उनले सुझाए । ‘विश्व स्वास्थ्य संगठनले केही देशमा गरेको सानो अध्ययन निष्कर्षले जाडो मौसम लागेको देशहरूमा अत्यधिक मात्रामा फ्लु घटेको छ, कोरोना मात्रै छ,’ उनले भने, ‘टेकु अस्पतालमा केही इन्फ्लुएन्जा परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो ।’

कोरोना भाइरस संक्रमणबारे नयाँनयाँ तथ्यहरू आइरहेकाले अहिले नै मौसमी फ्लु र कोरोनाबीच फरक छुट्याउन नसकिने भाइरोलोजिस्ट डा. लुना भट्ट बताउँछिन् । ‘कोरोना भयो भन्दैमा सबैलाई लक्षण देखिँदैन । लक्षण देखिए पनि सबैलाई एउटै लक्षण नदेखिन सक्छ,’ उनले भनिन्, ‘चिकित्सक या परीक्षणले मात्रै भिन्नता पुष्टि गर्ने हो । यो भाइरस सक्रिय हुने मौसम हो तैपनि फ्लु नै हो भनेर भर परेर बस्नु हुँदैन, परीक्षण नै गर्नुपर्छ ।’

कोरोना भाइरस

फातिमा

Link copied successfully