संक्रमित खुलेआम हिँडडुल

कार्तिक २७, २०७७

कान्तिपुर संवाददाता

कपिलवस्तु — कोरोना संक्रमित नगरप्रमुख गत आइतबार दिउँसो सडक अनुगमनमा निस्किए । निर्माण भएको दुई साता नपुग्दै तिलौराकोट नजिक उप्किएको कालोपत्रे सडकको अनुगमन गर्न उनी पुगेका हुन् ।

संघीय कार्ययोजना कार्यान्वयन एकाइ, भवन तथा सहरी विकास कार्यालय भैरहवाले लगाएको ठेक्काअन्तर्गत बाटो निर्माण भइरहेको छ । प्रमुखसँगको अनुगमनमा कार्यालय र निर्माण कम्पनीका तीन इन्जिनियर, प्राविधिक र सञ्चारकर्मी पनि संलग्न थिए । कमसल काम गरेका कारण ठाउँठाउँमा कालोपत्रे उप्किएकाले तत्काल मर्मत सम्भार गर्न निर्देशन दिन आफू त्यहाँ गएको नगर प्रमुखले बताए । 

गत आइतबार साँझ सबै सँगै बसेर खानपिन पनि गरे । बाटो अनुगमनमा गएको दोस्रो दिन सोमबार नगरप्रमुखको कोरोना रिपोर्ट फेरि पोजिटिभ आयो । त्यसअघि कात्तिक ५ गते पहिलो पटक कोरोना पोजिटिभ देखिएकामा तेस्रो पटक स्वाब परीक्षण गर्दा पनि पोजिटिभ रिपोर्ट आएको हो । नगरप्रमुखसँग घुलमिल भएका सञ्चारकर्मी, इन्जिनियर र प्राविधिक अहिले तनावमा छन् । उक्त स्थानीय तहका १८ जना संक्रमित भएकामा तीन जनाको तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमित प्रमुख कात्तिक तेस्रो साता बिहानसम्म सदरमुकाम तौलिहवा बजारको भिक्षुचोकमा चिया पिउन पुगिरहेका थिए । थाहा नभएकाहरू प्रमुखसँग गफिँदै बस्थे । उनी संक्रमित भएको थाहा पाएकाहरू परपर बसेर उनको गतिविधि नियालिरहेका थिए । सतर्कता नअपनाएपछि भिक्षुचोकका टोलबासीले उनको खबरदारी पनि गरे । सञ्चारकर्मीमार्फत संक्रमणमुक्त नभएसम्म बाहिर ननिस्कन खबर गरे । नैतिक दबाब दिए । त्यसपछि भिक्षुचोक आउन छाडे पनि अन्यत्र भने उनी निष्फिक्री डुलिरहेका छन् । आफैं गाडी चलाएर बजार घुमघाम गरिरहेका छन् ।

जिम्मेवार जनप्रतिनिधि नै संक्रमणका बेला खुलेआम हिँडडुल गर्ने, चोक र चौराहामा बसेर चिया पिउने काम गर्दा यहाँ त्रास बढेको छ । ‘उनी आफैं बुझ्ने मान्छे हुन्,’ एक वडाध्यक्षले भने, ‘यस्तो गर्नु गलत हो ।’ नियमनकारी निकायको नेतृत्व गर्ने नै नियम उल्लंघन गर्दा सर्वसाधारणले के गर्ने भन्ने प्रश्न उब्जिएको उनले बताए । संक्रमितका यस्ता क्रियाकलापले परिवारका सदस्यलाई मात्र नभई समाजमै संक्रमण फैलिन सक्ने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका हुन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully