बारामा कांग्रेस नेता मण्डलसहित दुई कोरोना संक्रमितको मृत्यु

कार्तिक १६, २०७७

लक्ष्मी साह

बारा — बारामा कोरोना संक्रमित २ जनाको शनिबार मृत्यु भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य आदर्शकोतवाल गाउँपालिका–५ का स्थानीय नेता ४५ वर्षीय मदन मण्डल र निजगढ नगरपालिका–८ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

योसँगै जिल्लामा २५ जनाको कोरोनाले मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले बताए । मण्डललाई घटस्थापनादेखि रुघाखोकी र ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि कोल्हवीस्थित क्वारेन्टाइनमा बसेर जाँच गराउँदा कोरोना पुष्टि भएको थियो । 

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज नारायणी अस्पताल लग्दा त्यहाँ पनि उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं लग्ने क्रममा शनिबार राति बाटामै मृत्यु भएको मण्डलका छिमेकी महेन्द्र यादवले बताए । यसैगरी निजगढका पुरुष वीरगन्जको बाबा होटेलको आइसोलेसनमा रहँदा मृत्यु भएको हो ।

कोरोना भाइरस

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully