छात्रावासमै मुक्त कम्लरीको दसैं

भवानी भट्ट

कञ्‍चनपुर — चाडपर्व आउँदा उनलाई सधैं नियास्रो लाग्छ । दसैं र तिहार आउँदा त झनै उराठ महसुस गर्छिन् । ३ वर्ष कम्लरी बसेकी १८ वर्षीया सविता राना मुक्त भएपछि छात्रावासमा बसेर अध्ययन गरिरहेकी छन् । त्यसयता छात्रावासमै साथीहरूसँग चाडपर्व मनाउने गरेको उनी बताउँछिन् । रानाले भनिन्, ‘दसैंमा आफन्तकै याद धेरै आउँछ ।’

छात्रावासमै मुक्त कम्लरीको दसैं

यस वर्ष उनले छात्रावासमै टीका लगाएर दसैं मनाइन् । अहिले यहाँ बसिरहेका मुक्तकम्लरीमध्ये सविता जेठी हुन् । उनले नै अरूलाई टीका लगाइदिइन् । फलफूल र मासु विद्यालयले उपलब्ध गराएको थियो । शिक्षकहरूले पनि उनीहरूलाई टीका लगाइदिए । ‘दसैं यही मनायौं,’ उनले भनिन् ।

सविता जन्मिने बित्तिकै बुबाले घरबाट निकालेपछि आमासंॅगै मामा घरमा बस्थिन् । त्यहींबाट ८ वर्षमा कञ्चनपुरको लालझाडी गाउँपालिकामा राना समुदायकै परिवारमा कम्लरी बसेकी हुन् । कम्लरी बसेकै बेला आमाको मृत्यु भएपछि उनी अनाथ भइन् । आमाका बारेमा राम्ररी सम्झनासम्म नभएकी उनलाई यस्तो बेला निकै पीडा हुने गर्छ । बुबाका बारेमा पनि केही थाहा छैन । ‘कहिलेकहीं जान मन लागे मामाको घरमा जान्छु,’ सविताले भनिन् । उनको मामाघर कञ्चनपुरकै बेलौरी नगरपालिका १ चान्देव हो ।

भीमदत्त नगरपालिका– १२ ऐरीस्थित पूर्ण माध्यमिक विद्यालयमा रहेका मुक्त कम्लरीहरूले छात्रावासमै जमरा राखेका थिए । उनीहरूले एकआपसमा टीका र जमरा लगाएर दसैं मनाएको छात्रावासमै बसेर कक्षा ११ मा अध्ययनरत शिवानी रानाले बताइन् । उनको घर कञ्चनपुरकै बेलाडाडी गाउँपालिका– २ चौवन्नीमा हो । उनी ६/७ महिनाको हुँदा आमाको मृत्यु भयो । बुबा कामको खोजीमा भारततिर पसे । त्यसपछि उनले कम्लरी बस्नुपर्ने अवस्था आयो । अहिले घरमा दाइभाउजू भए पनि उनलाई छात्रावासमै रमाइलो लाग्छ । ‘चाडपर्वमा आमाको याद आउँछ, त्यही भएर घर जाँदैन,’ शिवानीले भनिन्, ‘दाइभाउजूले बोलाए तिहारमा जान्छु ।’

शिवानी पनि ८ वर्षकै उमेरदेखि कम्लरी बसेकी हुन् । २०७० मा कम्लरी मुक्तिको घोषणापछि उनी छात्रावासमा आइन् । १२ कक्षामा अध्ययनरत करिना चौधरीका पनि आमाबुबा छैनन् । ७ कक्षामा अध्ययनरत उनले पनि छात्रावासमै दसैं मनाइन् । उनी कहिलेकाहीं भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित ठूलीआमाको घरमा जान्छिन् । पूर्ण माविको छात्रावासमा २० जना मुक्तकम्लरीहरू बसिरहेका छन् । तीमध्ये १३ जना दसैंमा आफन्तको घरमा गएका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?