कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आइसोलेसनको न्यास्रो दसैं

‘यसपालि त हामीलाई दसैं आएजस्तो पनि भएन’
हरि गौतम

रुकुम पश्चिम — कोरोना महामारीकै बीच उनी पारिवारिक जमघट गरेर दसैं मनाउने तयारीमा थिइन् । कात्तिक ४ मा कोरोना संक्रमण भएपछि उनको दसैं आइसोलेसनमा बित्यो । ‘यसपालि त हामीलाई दसैं आएजस्तो पनि भएन,’ बाँफीकोट गाउँपालिकाकी कार्यपालिका सदस्य सीता खड्काले भनिन्, ‘वर्षमा एक पटक आउने चाडमा एक्लै हुँदा न्यास्रो नहुने कुरा पनि भएन ।’

आइसोलेसनको न्यास्रो दसैं

उनीमात्र होइन, यस पटक धेरै जना संक्रमितको दसैं आइसोलेसनमा बितेको छ । संक्रमण भएपछि न उनीहरूसामु कोही टीका थाप्न आए, न त उनीहरू नै दसैंको रमाइलोमा परिवारसँग मिसिन पाए । स्यार्पु बहुमुखी क्याम्पसको आइसोलेसनमा खड्कासहित ३ जना छन् । जिल्लाभर भने दसैंको अवधिमा १५ जना आइसोलेसनमै थिए । बाँफीकोट गाउँपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र जिल्ला प्रहरी कार्यालयको आइसोलेसनमा ३/३ जना संक्रमित, त्रिवेणी गाउँपालिकामा २ जना र सानीभेरी गाउँपालिकामा एक जना संक्रमित बसिरहेका छन् । उनीहरूको पनि दसैं खड्काको जस्तै उत्साहप्रद रहेन ।

आइसोलेसनमा बस्नेहरूले दसैंको दिन पनि मोबाइल चलाएरै बिताए । सामाजिक सञ्जाल चलाएरै दिन बितेको आठबिसकोटको आइसोलेसनमा बसिरहेका एक संक्रमितले बताए । ‘गाउँमै भए पनि परिवारसँगै दसैं मान्न नपाउँदा नमज्जा लाग्यो, परिवारको खुब याद आयो,’ उनले भने, ‘रोगले चाडबाड, ठूलासाना भन्दैन भनेर चित्त बुझाइयो ।’

रुकुम पश्चिममा हालसम्म ९ हजार ४ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ५४ जना निको भएर घर फर्केका छन् । दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले पछिल्लो समय निको हुने दर बढिरहेको बताए ।

आइसोलेसनमा अक्सिजन प्लान्ट जडान

सल्यानको कपुरकोट गाउँपालिकाले किमुचौरमा स्थापना गरेको आइसोलेसनमा अक्सिजन प्लान्ट जडान गरेको छ । ५० शय्याको आइसोलेसन कक्षमा सबैलाई पुग्ने गरी १ सय ५० प्रेसर क्षमताको ५ वटा सिलिन्डरको प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । संक्रमितलाई श्वासप्रश्वासमा समस्या हुन सक्ने भएकाले सहज रूपमा उपचारका लागि अक्सिजनको व्यवस्था मिलाइएको उनले बताए ।

उक्त आइसोलेसनमा हाल दुई बालबालिकासहित १३ जना संक्रमित उपचाररत छन् । उनीहरूलाई अहिले अक्सिजनको आवश्यकता भने नरहेको सेनको भनाइ छ । उनका अनुसार गाउँपालिकाले ६० हजार रुपैयाँमा अक्सिजन प्लान्ट जडान गरेको हो । गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले आइसालेसनमा राखिएका सबैलाई सामान्य लक्षण मात्र देखिएको बताए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित चौरजहारी अस्पतालले बनाएको आइसोलेसन केन्द्र । तस्बिर : हरि/कान्तिपुर

प्रकाशित : कार्तिक १२, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?