अस्ट्रेलियामा पहिचान दिलाउँदै दसैं

नारायण खड्का

अस्ट्रेलिया — भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेका राज्य प्रमुख तथा प्रिमियर ड्यानियल एन्ड्रुजले यस वर्ष वडादसैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिए । दसैंंलाई यहाँ बस्ने सबै नेपालीको महत्त्वपूर्ण दिन र पर्वका रुपमा व्याख्या गर्दै उनले कोरोना भाइरसका कारण अप्ठ्यारो अवस्था भएपनि दसैंलाई अलग तरिकाले मनाउन आग्रह गर्दै शुभकामना सन्देश दिए ।

अस्ट्रेलियामा पहिचान दिलाउँदै दसैं

त्यस्तै अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री एलन टजले समेत सम्पूर्ण नेपालीलाई वडादसैंको शुभकामना पठाउँदै नेपालीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले दसैंजस्तो सांस्कृतिक पर्वले अस्ट्रेलिया संस्कतिीका लागि धनी भएको सन्देश दिने बताउँदै यसले बहुसांस्कृतिक देशका रुपमा पहिचान दिलाउन मद्दत पुर्‍याउने बताए । न्यु साउथ वेल्सका सिनेटर एन्ड्रु ब्रागले समेत सबै नेपालीलाई दसैंको शुभकामना दिँदै नेपाली समुदायको कला संस्कृति र योगदानको चर्चा र प्रशंसा गरे ।

करिब १ लाख २५ हजार नेपाली बसोबास गरिरहेको अनुमान गरिएको अस्ट्रेलियामा दसैंैंतिहार जस्ता पर्वले नेपालीलाई सांस्कृतिक रुपमा अलग पहिचान दिन मद्दत पुरयाएको छ । दसैंंको अवसरमा प्रिमियर, केन्द्रीय मन्त्री, सांसद लगायतले दिएको शुभकामनाले पनि नेपाली समुदायको अलग पहिचान र अस्तित्व स्थापित हुँदै गएको मान्नेको संख्या उल्लेख्य छ । यतिमात्र नभएर नेपालीको मात्र चाड भनेर मानिने दसैं अस्ट्रेलियामा रहेका विदेशीले समेत मनाउन थालेका छन् । घटस्थापनाको दिनमा जमरा राखेर सुुरु भएको दसैं अस्ट्रेलियाका ६ राज्य तथा दुई टेरिटोरी र ग्रामिण भेगमा समेत धुमधामका साथ मनाउन थालिएको छ ।

‘पछिल्लो समयमा नेपालीको जनसंख्या बढेर मात्र नभई नेपालीको आफ्नै मौलिक कला संस्कृति र परम्परा भएकाले समेत नेपालीले अलग पहिचान बनाउँदै गएका हुन् ।’ एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल भने । भिक्टोरियामा बस्दै आएका उनले कोरोना भाइरसका कारण अझै केही हदसम्म लकडाउन भएपनि नेपालीले दसैंलाई खुलेर मनाएका छन् । उनी भिक्टोरियाका प्रिमियरले शुभकामना दिनु सामान्यजस्तो लागेपनि नेपाली समुदायले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चालेको कदमको उच्च पालना गरेकाले समेत त्यसको धन्यवाद स्वरुप शुभकामना आएको दाबी गर्छन् । ‘सानो समुदाय भएपनि राज्यप्रमुख र केन्द्रीयस्तरका मन्त्रीबाट शुभकामना आउनुलाई नेपालीले अस्ट्रेलियामा अलग पहिचान र स्थान बनाएको मान्न सकिन्छ ।’

यस वर्षको दसैं अस्ट्रेलियामा अन्य वर्षभन्दा फरक समेत रह्यो । आफ्ना परिवार भेट्न अस्ट्रेलिया आएका बाआमा नेपालमा भएको लकडाउनका कारण फर्कन नपाएपछि दसैं यतै मनाउन पाए । बाआमा भएपछि साथीभाइले समेत उनीहरुको हातबाट टीका थाप्ने अवसर पाए । दक्षिण अस्ट्रेलियामा त एनआरएनले आफै जमरा राखेर सर्वसाधारणलाई वितरण समेत गरेको थियो ।

‘हामीले हरेक बर्ष सामूहिक रुपमा जमरा राखेर वितरण गर्दै आएका हौं र यस वर्ष समेत घरमा जमरा नराखेका र राख्न नजान्नेहरुलाई वितरण गरेका छौं ।’ एनआरएन दक्षिण अस्ट्रेलियाकी उपादक्ष्य सन्तोषी गौतम सुनाउँछिन् । उनी अघिल्लो वर्षको तुलनामा धेरै अभिभावक यतै रहनुभएकाले समेत दसैं रमाइलो भएको सुनाउँछिन् । उनी दसैंमा नेपालीले लगाउने परम्परागत पोसाक, अक्षता, नाचगानले समेत अस्ट्रेलियाली नागरिकलाई यस पर्व मनाउन प्रेरित गरिरहेको दाबी गर्छिन् । ‘बहुसांस्कृतिक देश भएकाले समेत दसैंतिहार जस्ता पर्वलाई अस्ट्रेलियाली जनता र नेताहरुले चासो दिन थालेका छन् र यसले हाम्रो पहिचान र पहुँच अझ बढाउँदै लगेको हो ।’ गौतम दाबी गर्छिन् ।

नेपालबाट आएका अभिभावकका लागि त यस वर्षको दसैं नेपालको भन्दा रमाइलो रह्यो । झापाबाट परिवार भेट्न आएकी रमिला थापालाई दसैं नेपालमाभन्दा अस्ट्रेलियामा राम्ररी मनाउन थालेको म्हसुस भयो । ‘अस्ट्रेलियामा त सबैले साडीचोलो, गुन्यु, दौरासुरुवाल लगाएर टीका थाप्न जाँदा रैछन् तर नेपालमा त यो चलन कम हुन थालिसक्यो ।’ उनले भनिन् । उनका अनुसार करिब २० परिवारलाई टीका लगाइदिइन् यसपालि । ‘आफ्ना नानीबाबुका साथीहरु सबै टीका थाप्न मान गर्दै आउनुहुदो रहेछ, दसैं त यहाँ पो रमाईलो लाग्यो मलाई नेपालको भन्दा ।’ उनले सुनाइन् ।

प्रकाशित : कार्तिक १२, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?