चितवन — कोरोना भाइरसको संक्रमण देखिएको रुपन्देही तिलोत्तमाकी एक जना ३५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालले निकालेको सूचना अनुसार तिलोत्तमा–१५ की ३५ वर्षीय महिला असोज २१ गते उपचारका लागि भर्ना भएकी थिइन् । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
ती महिलाको लुम्बिनी प्रादेशिक अस्पतालले गरेको परीक्षणमा नै असोज २० मै कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेको उनको सोमबार दिउँसो चार बजे निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी गराएका छन् ।
